कविता - उता पर कतै

१६ अषाढ २०७४

कविता - उता पर कतै

    इन्जिनियर राकेश कार्की
    लस एन्जेलस

मेरो आँखाको सूर्य
मेरो छातीको धरती
मेरो सास फेर्ने हावा
समग्र योग हो मेरो जीवन
कमाइरहेको होला
तातो पोल्ने घाममा
रातको कठाङ्ग्रिने चिसोमा
कुनै महादेश कुनै देशमा
उता पर कतै

मानिस कस्तो दुष्ट छ
प्रकृतिले दिएको 
स्वतन्त्र खुल्ला धरतीलाई
इमिग्रेशनको ठूलो पर्खाल लगाइदिएर
पैसा उठाउँछ
भाग्यमा छाप लगाइदिन्छ
तँ जान पाउछस्
तँ जान पाउदैनस्
लोग्ने स्वास्नी छुट्टाइदिन्छ
छोराछोरी अलग गरिदिन्छ

मानिस कति पापी छ
परिवार संगै बसेको
हाँसेको खेलेको रमाएको
देख्न सक्दैन

त्यसैले कति कति यहाँ 
कुरिरहेछन् भित्ते पात्रो पल्टाउदै
महिना र गते गन्दा गन्दा
मीठो कल्पना गर्दा गर्दा
फर्किने आशमा
एकदिन
संगै हुने आशमा
तर मरीचि जस्तो
आउन पाइरहेको छैन
कमाइरहेछ
बचाइरहेछ
उता पर कतै ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »