हनुमान उत्पादक राजनीति र नेतृत्वविहीन युवा आन्दोलन

२१ अषाढ २०७४

banner

केही अघि काठमाडौँ महनगरका मेयर विद्यासुन्दर शाक्यले जनप्रतिनिधिलाई मोबाईल खरिद गर्ने निर्णय गरे र लगत्तै २४ घण्टा भित्र उक्त निर्णय फिर्ता भएको घोषणा भयो । स्थानीय सरकारको बहुमतको निर्णय बिना कुनै सडक आन्दोलन वा प्रतिपक्षको दबावले फिर्ता भएको थियो । काठमाडौँ मूलधारको प्रिय सडक आन्दोलन, बन्द, हड्ताल प्रथालाई मात दिने नयाँ आन्दोलन थियो नेपाली सामाजिक सञ्जाल । हो सामाजिक सञ्जालमा देखिएको व्यापक जनदबावले नै विद्यासुन्दरलाई ‘व्याकफुट’मा जान बाध्य बनायो । 

आज नेपाली युवा जमातले जनचासोका विषय बुझ्न थालेको छ । धारणा बनाउन थालेको छ । विरोध गर्न जानेको छ र पोखिने माध्यम भएको छ सामाजिक सञ्जाल ।

विगत केही वर्षदेखि नेपाली सामाजिक सञ्जाल प्रयोग गर्ने भाईब्रेन्ट बनेको छ । यसको मूल कारण, सामाजिक सञ्जाल प्रयोग गर्ने नेपाली युवा जमात जो निकै भाईब्रेन्ट छ । आज नेपाली युवा जमातले जनचासोका विषय बुझ्न थालेको छ । धारणा बनाउन थालेको छ । विरोध गर्न जानेको छ र पोखिने माध्यम भएको छ सामाजिक सञ्जाल । सामाजिक सञ्जालबाट नै सामाजिक आन्दोलन सञ्चालन गर्ने नयाँ ट्रेन्डको सुरुवात नेपालमा पनि देखिएको छ । यसले नेपाललाई कहाँ पुर्‍याउला र नेपाली युवा आन्दोलनलाई कहाँ पुर्‍याउला त्यो भने हेर्न बाँकी छ । को हुन् त नेपाली युवा ? नेपाली युवा–विद्यार्थी भन्दा झट्ट स्मृतिमा कांग्रेस, एमाले, माओवादी केन्द्र वा अन्य राजनीतिक दलका झण्डा बोक्ने युवा जमातको सम्झना आउला । आउनु पनि स्वभाविक हो । तर राजनीतिक दलका सीमित युवाहरुले मात्रै एक करोड नेपाली युवाको प्रतिनिधित्व गर्न सक्दैनन् र गर्दैनन् ।

राजनीतिक मूलधारले शिक्षित युवा तप्कालाई स्पेस दिई, आफ्नो हनुमान उत्पादन कम्पनीलाई बन्द गरी विचार बोक्नेलाई नेता बनाउनु पछ ।

नेपाली युवा आन्दोलन काठमाडौँका बागबजार र टियुमा हुने नाराबाजी अनि हड्तालमा मात्रै रहन सक्दैन । हालको नेपाली युवा आन्दोलन विविधताले भरिएको छ । मेची महाकालीका ऊर्जाशील युवाहरु, मधेसका युवाहरु जो तिलाठीमा चट्टान बनी उभिन्छन् वा सम्पूर्ण ती युवाहरु जो विदेशमा छन्, जो आफूलाई नेपाली हुनुमा गर्व गर्छन्, ती हुन् नेपाली युवा । आज देशको अर्थतन्त्र रेमिट्यान्सका भरमा धानिएको छ । निरन्तरको संक्रमणकाल, राजनीतिक अस्थिरता, विदेशी हस्तक्षेप, नाकाबन्दी, भूकम्प र चरम भ्रष्टाचारका बाबजुद पनि नेपालले आर्थिक वृद्धिदर कायम राख्नुको एकमात्र कारण नेपाली युवा हो । सधैँ सीमामा लड्ने वा देशको सीमारक्षा गर्ने मात्रै देशको सेना हुँदैन र ती तमाम ४० लाख नेपाली युवाहरु जो खाडीमा छन्, बेलायत युरोप, अमेरिकामा देशलाई बाचाईराख्न जुधिरहेका छन्, ती पनि हुन् नेपाली सेना । तर बिडम्वना आफैँ जली नेपाल उज्यालो बनाउने ती विदेशिएका युवाहरु मताअधिकार प्रयोग गर्न पाउँदैनन् । सलाम छ ती युवाहरुलाई र सलाम छ यो नयाँ युवा आन्दोलनलाई । अनुहार बिनाको असंगठित आन्दोलन । 

४० लाख नेपाली युवाहरु जो खाडीमा छन्, बेलायत युरोप, अमेरिकामा देशलाई बाचाईराख्न जुधिरहेका छन्, ती पनि हुन् नेपाली सेना ।


विद्यासुन्दरको मोबाईल काण्ड, विदेशिएका युवा वर्ग र त्यो वरिपरी घुमिरहेको युवा आन्दोलनको चर्चा त भयो तर यो नयाँ आन्दोलनको नेपालमा भविष्यमा औचित्य कस्तो रहला ? अहिलेको यो नेपाली युवा आन्दोलन हिट एण्ड रन जस्तो देखिन्छ । सीमा सुवेदीको विरोध गर्दा होस् वा शेरबहादुर देउवाको दादागिरीको विरोध गर्दा हिट भयो तर यसले कतिपय अहम् मुद्दाहरुको उठानमा चुकेको छ । उदाहरणका लागि चुडामणि शर्माको २२ अर्बको भ्रष्टाचारको मुद्दाले नेपाली सामाजिक सञ्जालमा त्यति स्पेस पाएन जति पाउनु पर्ने थियो थियो । किन यस्ता अहम् विषयमा नेपाली सामाजिक सञ्जाल र त्यसको इन्जिन नेपाली युवा चुक्दछ । यसको मूल कारण यो नयाँ युवा आन्दोलनको नेतृत्व वा नेता नै नहुनु हो । कुनैपनि हालतमा देश बन्नुपर्छ भन्ने यो जमात नेतृत्वविहीन देखिन्छ जसका कारणले यसले लिनुपर्ने उचाई लिन सकिरहेको छैन । हुन त केहीले ट्विटरमा लेनिन बन्जाडेको रुपमा, कहिले गोविन्द केसीको समर्थनमा देखिने भीडका रुपमा वा कहिले काहीँ लियो–रोट्रयाक्टले गर्ने सामाजिक सुधारका प्रयासका रुपमा यो देखापर्दछ । तर यत्रो विशाल आन्दोलनको एकमुष्ट नेतृत्व देखिँदैन फेस देखिँदैन ।

नेतृत्वविहीन नयाँ नेपाली युवा आन्दोलनको मूल चरित्र के हो भने यो कुनै राजनीतिक दलको झण्डा बोक्न अस्वीकार गर्दछ र मूलधार राजनीतिप्रति आगो ओकल्दछ ।

नेता वा नेतृत्वविना यो आन्दोलन संगठित हुन पनि सकिरहेको छैन र कतिपय जनचासोका विषयमा यो विभाजित पनि देखिन्छ । त्यसैले यो नयाँ नेपाली युवा आन्दोलन अनुहारविहिन र असंगठित देखिन्छ । तर यसको सार्थकता र औचित्यका निम्ति यसले नेतृत्व पाउनु जरुरी देखिन्छ । प्रश्नसँग डराउने मूलधार आज ग्लोबलाईजेशनको जमानाको नेपाली युवा शिक्षित छ, जागरुक छ तर असंगठित छ । यो राजनीतिक मूलधार भन्दा निकै टाढा बस्न रुचाउँछ तर सँगसँगै टाढैबाट भएपनि मूलधारको समानन्तर हिँड्ने प्रयास गर्दछ । तर आजको आवश्यकता मूलधार र युवाबीचको परस्पर समानान्तर हिँडाई होइन समन्वयकारी हिँडाई हो । नेतृत्वविहीन नयाँ नेपाली युवा आन्दोलनको मूल चरित्र के हो भने यो कुनै राजनीतिक दलको झण्डा बोक्न अस्वीकार गर्दछ र मूलधार राजनीतिप्रति आगो ओकल्दछ । राजनीतिक नेताको कुकर्मको विरोध जायज हो तर मूलधार प्रतिको एकमुष्ट आक्रोश गलत हो । राजनीतिक मूलधार पनि सधैँ सचेत युवालाई आफू भन्दा टाढा राख्ने प्रयास गर्दछ । नेपाली राजनीतिक मूलधार प्रश्नदेखि निकै डराउँदछ । साझा सवालको विद्या चापागाइका शब्दभेदी प्रश्न बाँणहरुले प्रधानमन्त्री देउवाको सानो छाती छिया–छिया भए । प्रश्न सोध्न मनपराउने नेपाली युवालाई टाढा राखी मूलधार आफ्नो दलभित्र मस्त हनुमानहरुको फौज तयार गर्दछ । यो हनुमन्ते फौज केवल चाकडी गर्न जानेको छ, प्रश्न सोध्न जानेको छैन । यदि नेताहरूलाई प्रश्न सोध्न हिम्मत गरेको भए सायद परिस्थिति यो हुँदैन थियो होला । समय यो हुँदैन थियो होला । विचार बोक्ने तर झण्डा नबोक्ने ।

प्रश्न सोध्न मनपराउने नेपाली युवालाई टाढा राखी मूलधार आफ्नो दलभित्र मस्त हनुमानहरुको फौज तयार गर्दछ । यो हनुमन्ते फौज केवल चाकडी गर्न जानेको छ, प्रश्न सोध्न जानेको छैन ।

आज नेपाली युवा मूलधार भन्दा परका संस्थाहरुबाट नेतृत्वदायी भूमिकाहरु तिखार्दैछ । लियो, जेसिस र रोट्रायाक्टहरु जस्ता अन्तर्राष्ट्रिय संस्थाहरु युवाको आकर्षण बन्नुको कारण के हो ? यसको कारण हो ती संस्थाहरु झन्डाका आधारमा होइन विचारका आधारमा चल्दछन् । नेता होइन नीति प्रधान रहन्छन् । निश्चित विधि–विधानमा चल्ने ती संस्थाहरुमा युवाहरु नियमप्रति प्रतिबद्ध र अनुशासित देखिन्छ । सायदै यिनै कारण र सामाजिक सुधारको अंग बन्न पाउने अवसर नै हुनुपर्छ नेपाली युवाको यी संस्थाहरु प्रतिको युवा मोह । तर यी संस्थाहरुका पनि केही गलत पक्षहरु छन् यो सामाजिक सुधार र नेतृत्व विकास भन्दा पनि फेशन र ट्रेन्डका रुपमा खर्चिला माध्यमका रुपमा देखा परिरहेका छन् । तर यी सानो–सानो तहबाट हुने प्रयासहरु सकारात्मक रहेपनि यसले मूल धक्का दिन सक्दैन, परिवर्तन ल्याउन सक्दैन । अन्तत सबै समस्याको जड र निकास राजनीतिक मूलधार नै हो तर बहस भविष्यको राजनीतिक मूलधार कस्तो बनाउने भन्ने हो, सचेत बनाउने कि हनुमान बनाउने भन्ने हो । अब नेपाली युवाले पनि राजनीतिक नेतृत्वप्रतिको आफ्नो वितृष्णालाई थाती राखी मूल धारमा नै समावेश हुनु जरुरी छ । नेता भनेका पनि हाम्रै समाजका प्रतिबिम्ब हुन् र विगतमा हाम्रो समाजमा रहेका समस्याहरुले नै हाम्रा नेता यस्ता भए भन्ने स्वीकार्नु पर्दछ ।

धेरैै गल्तीहरुका बाबजुद पनि नेपालका राजनीतिक दलहरुले केही राम्रा काम गरेका छन् । समाज सुधारिएको छ, युवा प्रश्न साँध्न सक्ने भएका छन् । त्यसैले अब यो सुध्रिँदै गरेको नेपाली समाजको प्रतिबिम्ब बनी युवा अगाडि आउनु जरुरी छ । राजनीतिक मूलधारले पनि अब यो शिक्षित युवा तप्कालाई स्पेस दिई, आफ्नो हनुमान उत्पादन कम्पनीलाई बन्द गरी विचार बोक्नेलाई नेता बनाउनु पछ । अब विचार बोक्नेले राजनीतिक बागडोर सम्हाल्नु पर्छ, राजनीतिक झण्डा डोर्‍याउनु पर्छ ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »