घर फर्किदै गरेकी बालिकालाई ढलले निल्यो, सत्याको भने सकुशल उद्धार 

१ श्रावण २०७४

banner

काठमाडौं । ‘एकछिन खेलेर आउँछु’ भन्दै जाने छोरीलाई सदाका लागि गुमाउनुपर्ला भनेर कुन बुबाआमाले सोच्लान् ? तर, राजधानी काठमाडौंको नेपालटारमा अव्यवस्थित ढलका कारण झंकनाथ फुयाँल दम्पतीले शुक्रबार साँझ छोरीलाई सदाका लागि गुमाउनुपरेको छ। फुयाँल दम्पतीले आँखै अगाडि पुतलीझैं यताउति गरिरहेकी छोरी ११ वर्षीया विनीतालाई गुमाउनुपरेको हो। 

स्थानीय युरेका माविमा कक्षा ३ मा अध्ययनरत विनीता सानिमाका छोरो आठ वर्षीय रिदमसँग खेल्दै थिइन्। साँझको ४ बजेको थियो। उनले भनिन्, ‘आमा, हामी एकछिन खेल्छौं है ’ उनका बुबा घरनजिकै रहेको रामजानकी मिठाई पसलमा व्यस्त थिए। ‘सधैंजस्तै दिदी–भाइ खेल्न गए भनेर हामी ढुक्क थियौं तर १०-१५ मिनेटपछि रिदम आएर दिदीलाई ढलले बगायो भन्यो’, केही बेरअघि झरी परेर रोकिएको स्मरण गर्दै झंकनाथले शनिबार भने, ‘हत्तपत्त पुग्दा केही थाहै भएन, सामुन्ने देखिने चौकीमा प्रहरीलाई फोन गरें, लगत्तै आएन। बगाएको देख्नेहरूले त्यो लेदो भेलमा जाने आँटै गरेनछन्।’ आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ। 

सामाखुसीमा पनि
सामाखुसीमा शुक्रबार विद्यालयबाट फर्किएर सडकमा हिँड्दै गरेकी  बालिका सत्या सापकोटा पनि ढलमा डुबेर केही बेर गायव भइन्। उक्त घटना यति बेला सामाजिक सञ्जालमा भाइरल बनेको छ। ढलले हुत्याएर एकछिनमै बृहष्पति विद्यासदनको कक्षा ९ मा अध्ययनरत सत्या सापकोटालाई केही पर पुर्‍याए पनि पैदलयात्रुले उनलाई उद्धार गरेका थिए।

Leave a reply

HTML Tags are not supported

Post My Comment »