हजुरआमाको पेसमेकर

१ श्रावण २०७४

banner

हुन त हाम्रो समाजमा सत्तरी वर्ष कटेपछि “डाँडामाथिको जून” भनि परिभाषित गरिन्छ ।

हाम्री हजुरआमा त झन् पचासी वर्ष पुगेकी बूढी आइमाई । उहाँ त डाँडामाथि पुगेर पनि ओर्लने क्रममा हुनुहुन्छ ।

हजुरबुवा बितेको पनि एक वर्ष नाघेर यता आयो । सायद मनमा तर्कना आएर होला र्, सपनामा हजुरबुवाले यसो भन्नुभयो’ भनि बेलाबेलामा सुनाउनुहुन्छ ।

यो सांसारिक मोह त अचम्मको चिज रहेछ । साथ छउन्जेल पीछा नै नछाड्ने । जति गहिरो चोट, त्यति गाढा दाग ।

हजुरआमाका कथाहरु (उहिलेको सत्यका घटनामा आधारित) सुन्न धेरै रमाईलो लाग्ने गर्दछ । बाबाको बाल्यावस्थाका कुराहरु सुन्न कम्ती रमाईलो हुन्थेन । यो कौतुहलता मेट्ने एकमात्र स्रोत उहाँ नै हो ।  “ तेरो बाबा पाँच वर्षाको हँदासम्म एक शब्द बोलेन । ” उहाँले यसो भन्दा मुटु झस्किन्छ ।

यदि बाबाको बोलि नफुटिदिएको भए आज कस्तो हुन्थ्यो ? अन्योलको परिस्थिति मनमा उब्जने गर्छ । “दैवको लीला अपरम्पार“ उखान हाम्रो परिवारमा चरितार्थ भए झैँ लाग्यो ।

हिजो एक्कासी फोनको घन्टी बज्यो । हजुरआमालाई बिसन्चो भएको खबर संचार भयो ।

लाग्यो हृदयमा हुरी चल्यो । हाम्रो कहिल्यै नरित्तिने कथाको मूल सुक्ने बेला आयो । “तँ ठ्याक्कै बाउजस्तो”, भनिदिने मान्छे पनि सदाको लागि टाढा हुन लागेको देख्दा मनमा चिसो पस्यो ।

 बिरामले धेरै च्याप्न थालेपछि नजिकमा रहेको महाराजगन्ज शिक्षण अस्पताल लिएर जाने निधो भयो । उपचार हुने क्रममा डाक्टरले रिपोर्ट अध्ययन गरेपछि मुटुको भल्भ बन्द भएको घोषणा गरे । अकस्मात अस्थाई पेसमेकर राख्नुपर्ने भयो ।

”मेरो मुटु केही भएको छैन । मेरो हीयो डडेको हो ।” अब डाक्टर नै ट्वाल्ल परे है ।

पूरानो नेपाली उखान नै छ नि । अस्पताल र अदालतको अनुहार नहेरेकै बेस !

त्यहाँ रहने उहाँको बाध्यता थियो, रहर हैन । हजुरआमा हिड्न सक्नु हुन्न तैपनि आफ्नै ओछ्यान प्यारो छ । परीको कथा रच्ने हजुरीको अब उनीसँगै वैकुण्ठधाम जाने अन्तिम इच्छा छ । यो कस्तो विधिको विधान? जीवनभर माया ममता पाइएको मान्छेलाई कष्ट हुँदा पनि मुटुमाथि ढुङ्गा राखेर सहन पर्ने बाध्यता ।

वात्सल्यता भन्दा ठूलो संसारमा केही हुन्न ।

भनिन्छ “ईश्वरको थुप्रै रुप हुन्छन् ।” कोही प्रतिमालाई ईश्वर मान्छन् त कोही अदृष्य शक्तिलाई ।

आजसम्म न कसैले औपचारिक रुपमा ईश्वरलाई भेटेको छ न उहाँको वासस्थान पुगेर आएको ठोकुवा गर्न सक्छ । हाम्रो निम्ति सबभन्दा ठूली ईश्वरी आमा हुन् । उहाँको कोख र काखभन्दा ठूलो अमरावती कहीँ छैन ।

 मान्छेहरु जिकिर गर्छन् “चराचर जगत्की देवी प्रकृति हुन्” तर आमाविना त प्रकृति पनि अपूर्ण हुन्छिन् ।

बाबाको मलीन अनुहार देखेर यस्तै तर्कना मनमा उब्जिए । अन्नपानीको शरीरको र भाग्यको लकिरको केही भर हुन्न रहेछ । भावीले निधारमा लेखेका अक्षर न देख्न सकिन्छ न त मेट्न ।

 संसारको जूनै ठाउँ गए पनि भाग्यले छाँयासरि पछ्याउँछ । बाबु मरे टुहुरो, आमा मरे अनाथ ।

थाहा छैन हजुरआमाको चेत फिर्छ कि फिर्दैन । पेसमेकरले काम गर्छ कि नाई ।  के आमाप्रतिको स्नेहको जित हुन्छ ? यसले एउटै कुरा सिकाउँछ । भविष्य अनिश्चित छ साथी हो ! वर्तमानमा रमाऔँ, जिन्दगीको हरेक पल खुसी साथ मनाऔँ ।


- नम्रता भट्टराई

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »