२४० निर्वाचन क्षेत्र कायम गर्ने प्रस्तावप्रति एमालेको आपत्ति

१ श्रावण २०७४

banner

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले २ सय ४० वटा निर्वाचन क्षेत्र कायम गर्ने सत्तापक्षको प्रस्तावप्रति आपत्ति जनाएको छ। 
आइतबार बसेको पार्टी स्थायी समिति बैठकले संविधानले व्यवस्था गरे अनुसार १ सय ६५ वटा निर्वाचन क्षेत्र कायम गरेर जानुको विकल्प नरहेको प्रष्टयाएको हो।

बालकोटस्थित पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको बैठकले निर्वाचन क्षेत्र निर्धारण आयोग तत्काल गठन गर्न पनि सरकारलाई पुनः दवाव दिएको छ। २ सय ४० वटा निर्वाचन क्षेत्र कायम गर्ने प्रस्तावप्रति बैठकले आपत्ति जनाएको पार्टीका सचिव एवम प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए। उनले तत्काल निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्न पनि सरकारलाई सचेत गराइएको बताए।

एमालेले प्रदेश नम्बर २ को निर्वाचनमा पनि पहिलो शक्ति बन्नेगरी तयारीमा जुटन पनि पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएको छ। एकतावद्ध भएर प्रदेश नम्बर २ को स्थानीय निर्वाचनमा पनि पहिलो शक्ति बन्ने गरी तयारी गर्ने निर्णय लिइएको सचिव भट्टराईले बताए।


पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचनमा पहिलो शक्ति बनेको एमालेले तेस्रो चरणको निर्वचनमा पनि पहिलो शक्ति बन्ने दावी गर्दै आएको छ। बैठकले मतदाता नामावली संकलनको काममा लाग्न पार्टीका नेता कार्यकर्तालाई सचेत गराएको छ।

एमालेले पार्टीका जनवर्गीय संगठनहरुको अधिवेशन लगायतको काम सुचारु गर्न पनि प्रदेश संगठन कमिटीहरुलाई निर्देशन दिएको छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »