साउनको पहिलो सोमबार पशुपतिमा दर्शनाथीको घुँइचो (फोटो फिचर)

२ श्रावण २०७४

banner

काठमाडौँ । साउन महिना शुरु भएसँगै देशभरका विभिन्न शक्तिपीठमा दर्शनार्थीको घुइँचो लाग्न थालेको छ । राजधानीको पशुपतिनाथमा पनि आज दर्शन गर्न आउने भक्तजनहको बिहानै देखि घुँइचो लागेको छ । साउन महिना र सोमबार भगवान् शिवको महिना र बार मानी धेरै दर्शनार्थीले पशुपतिमा दर्शन गर्ने भएकाले विशेष तयारी गरिएको छ । साउन महिनामा शिवलाई शुद्ध जल चढाए मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । साउनको सोमबार व्रत बसी शिवको आराधना गरे अटल सौभाग्य प्राप्ति हुने विश्वासले पनि पशुपतिमा महिलाको भीड लाग्ने गर्छ । 

यस वर्षको साउने सोमबारमा पशुपतिमा तीन स्थानबाट लाममा बसी दर्शन गर्ने व्यवस्था मिलाइएको कोषका निर्देशक एवम् पशुपति मन्दिर र गुठी शाखा प्रमुख भोला सिटौलाले जानकारी दिए । यस वर्ष साउन महिनामा पाँचवटा सोमबार परेकाले बढी भीड हुने अनुमान गरिएको छ । 

यसअघि व्रत नबसेकाले पाँच सोमबार परेको साउनबाटै सुरु गर्ने मान्यता रहेकाले पनि बढी भक्तजन आउने अनुमान गरिएको हो । 

पहिलो लाम मित्रपार्क–उमाकुण्ड–दक्षिणमूर्र्ति–रुद्रगाडेश्वर–वासुकी मन्दिर हुँदै उत्तरढोकाबाट छिरेर दर्शन गर्ने गरी मार्ग कायम गरिएको छ । यो मार्गबाट छिर्नेले कैलाश डाँडामुनि जुत्ता चप्पल राख्ने व्यवस्था मिलाइएको छ । दर्शन गरिसकेपछि भक्तजन छिरेकै मार्गबाट बाहिर निस्कनुपर्नेछ । 

दोस्रो लाम गौशाला–भुवनेश्वरी–शंकराचार्य मठ–पश्चिम सानो ढोकाबाट पसेर दर्शन गरी सोही मार्गबाट बाहिर निस्कनुपर्नेछ । यो मार्गबाट छिर्नेका लागि पश्चिम मूलढोकामा जुत्ता चप्पल फुकाल्ने प्रबन्ध गरिएको छ । 

तेस्रो लाम गौशाला, वनकाली वा पिंगलास्थान चक्रपथचोकबाट चार शिवालय हुँदै पञ्चदेवल पूर्व भएर दक्षिण ढोकाबाट प्रवेश गरेर दर्शन गर्ने व्यवस्था मिलाइएको निर्देशक सिटौलाले बताए । यो मार्गबाट छिर्नेका लागि दक्षिण मूलढोका बाहिर जुत्ता चप्पल राख्ने गरी व्यवस्था गरिएको छ । 
तस्बिरः आर्यन धिमाल

Leave a reply

HTML Tags are not supported

Post My Comment »