विश्वकप छनौटको पहिलो चुनौतीमा नेपालको प्रभावशाली जीत 

२ श्रावण २०७४

banner

काठमाडौं। नेपाली युवा क्रिकेट टोलीले विश्वकप छनौटको पहिलो चुनौतीमा सफलता हात पारेको छ । सन्दिप लामिछानेको कप्तानीमा विश्वकप छनौटको प्रतिस्पर्धामा उत्रिएको नेपालले सिंगापुरलाई उसकै घरेलु मैदानमा ५ विकेटले पराजित गरेको हो । यससँगै नेपाली युवा टोलीमा उत्साह थपिएको छ । 

सिंगापुरको पदाङमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सिंगापुरले निर्धारित ५० ओभरमध्ये २९ ओभरमात्र खेल्न सक्यो । २९ ओभरमा ७३ रनमा अलआउट भएको सिंगापुरका लागि बृगु ऐयरले ३९ बलमा ४२ रनको उत्कृष्ट पारी खेले । उनले ६ चौका र एक छक्का प्रहार गरेका थिए । उनी पछि सिन अग्रवालले ११ रनबाहेक सिंगापुरका अरु कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

सिंगापुरलाई सस्तोमै समेट्न अत्यन्त किफयती बलिङ गरिरहेको नेपालले अन्तिम ओभरमा मात्र धेरै रन दिएको थियो । किशोर महतोले बलिङ गरेको २९ औं ओभरमा सिंगापुरलाई १९ रन दिइएको थियो । त्यही ओभरको अन्तिम बलमा बृगु ऐयरलाई आउट गर्दै किशोरले सिंगापुरको पारी समाप्त पारे । 

नेपालको उत्कृष्ट प्रदर्शनमा कप्तान सन्दिप लामिछाने हिरो बने । ८ ओभर बलिङ गरेका उनले एक्लै पाँच विकेट लिए । आफ्नो स्पेलमा उनले २ ओभर मेडन राख्दै २१ रनमात्र दिएका छन् । नेपालका लागि शहाब आलमले ३ र किशोर महतोले २ विकेट लिएका छन् । 

सिंगापुरले दिएको ७४ रनको झिनो लक्ष्य पछ्याएको नेपाललाई सुरुवाती विकेट पतनले केही असहज भए पनि ५ विकेटको क्षतिमा नेपालले त्यो लक्ष्य भेट्टएको छ । १७ ओभर ३ बलमा पवन सर्राफको चौकासँगै नेपालले ७७ रन बनाएको हो । नेपालका लागि प्रनित थापा मगरले २३, अनिल शाहले १९ र रोहित कुमार पौडेलले अविजित ११ रनको इनिङ खेले । 

नेपालले अर्को खेल भोलि मलेसियाविरुद्ध र बिहीबार अफगानिस्तानविरुद्ध खेल्नेछ । डबल राउण्ड रोकिन भएकोले नेपालले यी तीवटै टिमसँग दुई दुई खेल खेल्नुपर्नेछ । नेपालका त्यसपछि दोस्रो राउण्डका खेलहरु जुलाइ २१ मा सिंगापुर, जुलाइ २४ मा मलेसिया र जुलाइ २५ मा अफगानिस्तानविरुद्ध खेल्नेछ । यी चार टिममध्ये शीर्ष टोली आगामी यु–१९ विश्वकपको लागि छनौट हुनेछ । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »