निर्वाचनमा पराजयको कारण खोज्न माओवादीको विस्तारित बैठक सुरु

२ श्रावण २०७४

banner

फाइल फाेटाे

काठमाडौं। स्थानीय तह निर्वाचनमा नराम्ररी पराजित भएपछि प्रमुख सत्तासाझेदार दल माओवादी केन्द्रको निर्वाचनको समीक्षा गर्न विस्तारित वैठक सुरु भएको छ। दुवै चरणको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र तेस्रो दल भएपनि मतान्तर धेरै छ। अपेक्षाकृत सफलता हासिल गर्न नसकेपछि उसले निर्वाचनको समीक्षा र आगामी रणनीति तय गर्न  आन्तरिक छलफल सुरु गरेको हो।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबारबाट सुरु भएको पार्टी सचिवालयको विस्तारित बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा गर्दै आगामी रणनीति तय गरिने माओवादी नेताहरुले बताएका छन्।

छलफलमा आउने सुझावका आधारमा प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनको रणनीति तय हुने गरी छलफल अघि बढाइएको पार्टीकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्।

बैठकमा बोल्दै पार्टी अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तह निर्वाचनमा पार्टीले हार व्यहोर्नु परेपनि पार्टीको एजेन्डाको भने जित भएको दावी गरे। उनले स्थानीय निर्वाचनको बस्तुनिष्ठ समीक्षा गरी आगामी रणनीति तय गर्न बैठक बोलाइएको जनाए। अध्यक्ष दाहालले सरकारमा पार्टीको सहभागिताको विषयमा पनि खुलेर छलफलमा भाग लिन पार्टीका नेताहरुसँग आग्रह गरे।

बैठकमा पार्टीका जिल्ला इन्चार्जहरुले स्थानीय तह निर्वाचनको रिर्पोटिङ गर्नेछन्। रिर्पोटिङ सकिएपछि अध्यक्ष दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको पनि माओवादी केन्द्रले जनाएको छ।

नेकपा माओवादी केन्द्रले पार्टीको संगठन अस्तव्यस्त भएकाले पनि पार्टीले अपेक्षा गरे अनुसार स्थानीय तह निर्वाचनमा जीत हासिल गर्न नसकेको प्रारम्भिक टिप्पणी गर्दै आएको छ।पहिलो चरणको स्थानीय निर्वाचनमा ४६ स्थानीय तह जितको माओवादी केन्द्रले दोस्रो चरणको निर्वाचनमा ३८ तहमा मात्रै जित हात पर्न सकेको थियो।  

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »