नेपालको विश्वकप यात्राः अझै ब्याटिङकै चिन्ता (विश्लेषण)

२ श्रावण २०७४

banner

काठमाडौं। नेपालको सिनियर राष्ट्रिय टोलीको भन्दा अण्डर १९ क्रिकेट टोलीको इतिहास लोभलाग्दो छ । सिनियर टोली अहिलेसम्म एक पटक २०१४ को टी–२० विश्वकप क्रिकेट खेलेको छ । जुनियर टोली भने अहिलेसम्म आयोजना भएका ११ वटामध्ये ७ पटक अण्डर नाइन्टिन विश्वकप खेलिसकेको छ । यीमध्ये पनि तीनवटामा मात्र नेपाल छनोट हुन नसकेको हो । १९८८ मा भएको पहिलो विश्वकपमा भने नेपाल एसीसीको सदस्य नै नभएको कारण छनोट खेल्न पाउँदैनथ्यो । 

अर्कोतर्फ नेपाली जुनियर टोलीसँग अन्य कुनै पनि एसोसिएट टिमसँग नभएको रेकर्ड छ । नेपालले टेष्ट खेल्ने देशहरु न्यूजील्याण्ड र दक्षिण अफ्रिकालाई दुई÷दुईपटक पराजित गरिसकेको छ । यो सफलता पाउने नेपाल एकमात्र एसोसिएट टिम हो । यसबाहेक टेष्ट मान्यता पाएका पाकिस्तान, बंगलादेश र जिम्बाब्बेको टिमलाई पनि नेपाली जुनियर टिमले पराजित गरिसकेको छ । विश्वकपको इतिहासमा नेपाली टोली प्लेट च्याम्पियन भएर दोस्रो चरणमा समेत प्रवेश गरेको छ । २००६ को विश्वकपमा प्लेट च्याम्पियन बन्नको लागि नेपालले टेष्ट खेल्ने टिम न्यूजिल्याण्डलाई १ रनले पराजित गरेको थियो ।

सुनौलो इतिहास बोकेको नेपाली युवा टोली यतिखेर सिंगापुरमा छ । विश्वकप खेल्ने सपना लिएर गएको नेपाली युवा टोलीसँग प्रतिस्पर्धामा तीन अन्य टोली छन्– आयोजक सिंगापुर, मलेसिया र अफगानिस्तान । सिंगापुर र मलेसिया तुलनात्मक रुपमा कमजोर भए पनि अफगानिस्तान भने नेपालभन्दा निकै बलियो देखिएको छ । अघिल्लो संस्करणको छनोटमा पनि अफगानिस्तानले नेपाललाई पछि पार्दै विश्वकपमा आफ्नो स्थान बनाएको थियो । तर, पछि नेपालले ग्लोबल क्वालिफायर जित्दै विश्वकपका लागि आफ्नो स्थान सुरक्षित गर्यो । 

अहिलेको विश्वकप छनोटमा पनि नेपालको सबैभन्दा खतरनाक तगारो अफगानिस्तान नै हुनेछ । सिनियर टोलीले टेष्ट मान्यता पाइसकेको अवस्थामा जुनियर टोलीलाई कमजोर ठान्न मिल्दैन । यसमाथि सिंगापुले घरेलु मैदानको फाइदा उठाउन सक्नेछ । विश्वकपसम्मको यात्राको अहिलेसम्मको इतिहास सुनौलो भए पनि नेपाली टोलीले यतिबेला सम्हालिएर खेल्नुपर्ने आवश्यकता छ ।

पहिलो दिनको खेल नेपालको लागि सुनौलो रह्यो । नेपाली टोलीले पहिलो खेलमा सिंगापुरलाई उसको घरेलु मैदानमा ४ विकेटले हरायो । तर खेलको समीक्षा गर्दा केही कुराहरु मननीय देखिएका छन् । खेलमा नेपालको ‘बलिङ एट्याक’ जति मजबुत थियो त्यत्तिको बलियो ब्याटिङमा प्रदर्शन देखिएन । ओपनर सन्दिप सुनार र आसिफ शेर क्रमशः १ र ४ रनमै पभेलियन फर्के । आशा गरिएका र सिनियर टिमबाट खेलिसकेका ब्याट्सम्यान दिपेन्द्रसिंह ऐरी पनि चलेनन् । उनले १२ बलमा मात्र २ रन बनाउँदै रोशन रंगराजनको एलबीडब्लु धरापमा परे ।

हुन त एउटै खेलबाट समग्र प्रदर्शनको मूल्यांकन गर्न सकिन्न । एउटा खेलमा ब्याटिङमा चुकेपनि नेपालले अन्ततः खेल जितेको छ । खेलको समग्र समीक्षा गर्दा नेपालको बलिङ सन्तोषजनक भएको र ब्याटिङमा सुधार गर्नुपर्ने देखिएको छ । बलिङमा कप्तान सन्दिप लामिछानेसँगै किशोर महतो, रोहित कुमार पौडेल, सहाब आलम, पवन सर्राफको प्रदर्शन उत्कृष्ट देखिएको छ । किशोर इनिङको अन्तिम ओभरमा केही चिप्लिए पनि सुरुवाती ओभरमा उत्कृष्ट नै थिए । उनले ६ मध्ये ३ ओभर मेडन नै राखेका छन् ।

अर्कोतिर मलेसियालाई ५३ रनमै अलआउट गरेको अफगानिस्तान कुनै पनि हालतमा कमजोर छैन । आफ्नो शक्ति उसले पनि पहिलो खेलमै प्रदर्शन गरिसकेको छ । पहिलो ओभरको तेस्रो र चौथो बलमै लगातार दुई विकेट गुमाएर पनि अफगानिस्तानको ब्याटिङमा कुनै प्रभाव परेन । मात्रै दुई रन जोड्दा दुई विकेट गुमाए पनि त्यसपछिका ब्याट्सम्यानले सयभन्दा माथिको स्ट्राइक रेटमा ब्याटिङ गर्दै लक्ष्य पूरा गरे । यसले के देखाउँछ भने मलेसियालाई ५३ रनमै समेट्न सक्ने अफगानिस्तानको बलिङ त बलियो छ नै सुरुमै २ विकेट गुमाउँदा पनि नडगमगाउने उसको ब्याटिङ लाइनअप पनि बलियो छ । कप्तान सन्दिप लामिछाने र प्रशिक्षक विनोद दासले ध्यान दिएर पन्छाउनुपर्ने मुख्य चुनौती पनि यही हो ।

अहिले सिंगापुरमा रहेको नेपाली टोलीमा कप्तान सन्दिप लामिछानेसँगै दिपेन्द्र सिंह ऐरी, मोहम्मद आसिफ शेख, सन्दीप सुनार, प्रकाश केसी, अनिल कुमार शाह, पवन सराफ, रोहित कुमार पौडेल, ललित नारायण राजवंशी, प्रनित थापा मगर, आदिल खान, किशोर महतो, रिजन ढकाल, शहाब आलम र रिजर्व प्लेयरहरु सन्दीप जोरा, विक्रम कुमार भुसाल, रसिद खान र सुशान्त सिंह थापा छन् । कप्तान सन्दीपसँगै नेपाली युवा टोलीमा रहेका दीपेन्द्र सिंह ऐरी र मोहम्म आसिफ शेखले राष्ट्रिय टिमबाट समेत खेलिसकेका छन् । 

नेपाली टिममा कप्तान सन्दीपसहितको स्पिन आक्रमण बलियो छ । सन्दीपलाई शहाब आलम, ललित राजवंशी र पवन सराफले साथ दिनेछन् । यस्तै नयाँ अनुहार किशोर महतो, रिजन ढकाल र रोहित कुमार पौडेलले मध्यम तेज बलिङको मोर्चा सम्हाल्नेछन् । पवन र रोहित नेपालका मुख्य अलराउण्डर हुन् । यता ब्याटिङमा सन्दीप सुनार, आशिफ शेखले ओपनिङ सम्हाल्नेछन् । उनीहरुलाई मिडल अर्डरमा आदिल खान, प्रनित थापा मगर, दीपेन्द्र सिंह ऐरी, अनिल कुमार शाह, प्रकाश केसीले साथ दिनेछन् ।

नेपाली टोलीले अब पहिलो राउण्डको खेल मंगलबार मलेसियासँग र बिहीबार अफगानिस्तानसँग खेल्नेछ । यस्तै सेकेण्ड राउण्ड अन्तर्गत जुलाई २१ मा सिंगापुर, जुलाई २४ मा मलेसिया र जुलाई २५ मा अफगानिस्तानसँग खेल्नेछ । नेपालले सिंगापुरमा उत्कृष्ट प्रदर्शन गर्दै युथ विश्वकपमा छनोट हुने अपेक्षा राखेको छ । तर पछिल्लो पटक टेष्ट राष्ट्रको मान्यता पाइसकेको अफगानिस्तानको युवा टोली विरुद्ध नेपालको असली परीक्षा हुनेछ । अघिल्लो संस्करणमा नेपाल एसियन जोनल छनोटमा अफगानिस्तान भन्दा पछि रहेको थियो । नेपालले ग्लोबल क्वालिफायरमा च्याम्पियन बन्दै २०१६ मा बंगलादेशमा विश्वकप खेलेको थियो ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »