भरतपुर मुद्दा फेरि सरेपछि प्रतिस्पर्धी उम्मेदवार नै दिक्क

२ श्रावण २०७४

banner

काठमाडौं। भरतपुर वडा नम्बर १९ को मतपत्र च्यातिएको मुद्दाको सुनुवाइ फेरि सरेपछि उम्मेदवार नै दिक्क भएका छन् । यहाँका प्रमुख प्रतिस्पर्धी एमालेका देवी ज्ञवाली र माओवादी केन्द्रकी रेणु दाहालले आफूहरु नै दिक्क भएको प्रतिक्रिया दिएका छन् । उनीहरुले अन्य स्थानीय तहको पदबहाली भएर कामसमेत सुचारु भइसक्दा पनि यहाँ अन्योल भएको भन्दै छिटो फैसला गर्न आग्रह गरे । भरतपुर वडा नं. १९ मा पुनः मतदान वा मतगणना के गर्ने भन्ने विषयमा निर्णयको लागि मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । मुद्दाको आज पनि सुनुवाइ हुन नसकेपछि अर्को सुनुवाई साउन ८ गते हुने भएको छ । 

आज न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले मुद्दाको सुनुवाई गरे पनि हेर्दाहेर्दैमा रहेपछि अर्को सुनुवाईका लागि साउन ८ गतेको पेशी तोकिएको हो । न्यायाधीश भण्डारी भोलिदेखि विदेश भ्रमणमा रहने भएकोले पनि पेशी लम्बिएको हो ।  असार १३ गते च्यातिएका मतपत्र भरतपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वोच्चमा पेस गरेको थियो । अदालतको असार ६ गतेको आदेश अनुसार च्यातिएका मतपत्र सर्वोच्चमा पेस भएका हुन् । 

मतपत्र च्यातिएको आज ५० दिन पुग्दासमेत कुनै समाधान नआएको जनाउँदै प्रमुख पदका उम्मेदवारले छिटो निकास दिन माग गरेका हुन् । दोस्रो चरणको निर्वाचनबाट विजयी जनप्रतिनिधिले गाउँ र नगरसभामार्फत भावी कार्यक्रम सार्वजनिक गरिसक्दा समेत भरतपुर महानगर अन्योलमा छ ।  भरतपुर महानगरको मतगणनाका क्रममा जेठ १४ गते राति मतपत्र च्यातिएपछिको विवाद अहिले सर्वाेच्च अदालतनमा पुगेको छ । उक्त मुद्दाका कारण यहाँ जितेर बसेका जनप्रतिनिधिले समेत काम गर्न पाएका छैनन् ।

नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)को संयुक्त समूहबाट महानगरपालिका प्रमुखका उम्मेदवार रेणु दाहालले चाँडै निर्णय आए मतदातालाई समेत सहज हुने बताइन् । ‘एकदम लामो समय भयो, छिटो टुंग्याउन पाए हुन्थ्यो’, दाहालले भनिन् ‘काम रोकिएको जस्तो महसुस भइरहेको छ ।’ नेकपा(एमाले)बाट महानगर प्रमुखका उम्मेदवार देवीप्रसाद ज्ञवालीले पनि निर्णय आउन ढिलाइ भएको जनाउँदै चाँडै निर्णय आए राम्रो हुने प्रतिक्रिया दिए । ‘विधि, परम्परा र अन्तर्राष्ट्रिय अनुभवका आधार सर्वाेच्चले हेर्ला’, ज्ञवालीले संक्षिप्त प्रतिक्रिया दिए ।

अहिले दुवै उम्मेदवार अदालतमा निर्णयको ‘पर्ख र हेर’ को अवस्थामा छन् । निर्वाचन आयोगले पुनः मतदान गर्न दिएको आदेश विरुद्ध  भरतपुर–१९ मा एमालेका वडा सदस्यका उम्मेदवार गुञ्जमान विक र अधिवक्ता तुलसी पाण्डेले सर्वाेच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । सो मुद्दामा अदालतले हाललाई जे जस्तो अवस्थामा छ सो अवस्थाबाट अगाडि नबढाउनू भनी आदेश दिएपछि प्रक्रिया रोकिएको छ । त्यसपछि पटक पटक पेशी तोक्दै आएको अदालतले आजका लागिसमेत पेशी राखिएकामा फेरि सरेको छ । मुद्दा हाल्ने स्वयं विकसमेत जे निर्णय आए पनि छिटो निर्णय गर्न आग्रह गर्छन् । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »