डाक्टरले मस्तिष्कको अपरेशन गर्दा बिरामीले गितार बजाइरहे 

८ श्रावण २०७४

banner

Photo: www.bbc.com

बैंगलोर (बिबिसी)। भारतमा एक जना संगीतकारको अनौठो शैलीमा अपरेशन गरिएको छ । अभिषेक प्रसादको मस्तिष्कको अपरेशन भइरहँदा उनी भने मजासँग गितार बजाइरहेका थिए । उनले अपरेशनका बेला चिकित्सकहरुलाई सघाउनका लागि गितार बजाइरहेका थिए । अभिषेकलाई विगत ९ महिनादेखि गितार बजाउँदा औंलाहरु बाउडिने समस्या थियो । जसको उपचारका लागि चिकित्सकले उनको शल्यक्रिया गरिरहँदा उनले गितार बजाइरहे ।

अभिषेकले आफ्नो गितार बजाउने सोखलाई व्यवसायिक रुप दिन सबै काम छोडेर यसैमा तल्लिन भएको २० महिना पछि उनमा औंला बाउँडिने समस्या देखिएको थियो । उनको कान्छी र माझि औंलामा यो समस्या देखिएको थियो । सुरुमा आफूले धेरै नै गितार बजाएकोले यस्तो भएको अनुमान गरेका उनले कैयौं डाक्टरहरुलाई देखाएर विभिन्न औषधि सेवन गरे । तर रोग निको हुनुको साट्टा झनै बल्झिए पछि उनी महावीर जैन अस्पतालमा न्यूरोसर्जन डा. शरण श्रीनिवासन कहाँ जाँच गराउन पुगे । उनले अभिषेकलाई ‘म्यूजिसियन डिस्टोनीया’ भएको बताउँदै गितार बजाउन लगाउँदै अप्रेशन गर्ने निधो गरेका थिए ।

जसका लागि अभिषेकलाई केवल लोकल एनेस्थेसिया दिएर गितार बजाउन लगाइयो र मस्तिष्कमा १४ मिलीमीटरको एउटा प्वाल पारेर मस्तिष्कमा भित्र ८–९ सेंटीमीटर गहराई भित्र इलेक्ट्रोड छिराएर टारगेट लोकेशनको सर्किटलाई सही गरिएको थियो । शल्यक्रिया पछि उनको समस्याको समाधान भएको बताइएको छ । विश्वमा यस प्रकारका शल्यक्रिया यसअघि आठपटक गरिएको छ भने भारतमा यो नै पहिलो हो ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »