दोलखामा चौंरी महोत्सव हुँदै

१७ श्रावण २०७४

banner

काठमाण्डौँ। दोलखामा आगामी साउन २२ र २३ गते चौंरी महोत्सव आयोजना हुने भएको छ । 

कालिञ्चोक गाउँपालिकाले स्थानीय घ्याङडाँडामा आगामी २२ र २३ गते चौंरी महोत्सव आयोजना गर्न लागेको हो । स्थानीय स्रोत र साधनको परिचालन गरी आर्थिक समृद्धिको दिशामा अघि बढन चौंरी महोत्सव आयोजना गरिएको गाउँपालिकाकी उपप्रमुख कालिका पाठकले जानकारी दिए ।

 महोत्सवबारे जानकारी दिन मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कालिञ्चोक क्षेत्रमा आउने पर्यटकहरुको संख्या वृद्धि गर्न पनि महोत्सव उपयोगी हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले चौंरी व्यवसायको प्रवद्र्धन गरी पर्यटक भित्र्याउन सरकार प्रतिवद्ध रहेको उल्लेख गरे । उनले पर्यटन क्षेत्रको विकासबाट मुलुकलाई समृद्ध बनाउन सकिने उल्लेख गर्दै त्यसको लागि बोर्ड प्रतिवद्ध भएर लागि परेको पनि स्पष्ट पारे ।

कार्यक्रममा बोल्दै दोलखाका सांसदहरुले दोलखाको समृद्धिमा चौंरी पालन व्यवसाय उपयोगी हुने भएकाले महोत्सव आयोजना गरिएको स्पष्ट पारे । सांसदहरु पशुपति चौंलागाई, पार्वत गुरुङ र आनन्दप्रसाद पोखरेलले चौंरीपालन व्यवसायी लोपोन्मुख अवस्था रहेको उल्लेख गर्दै त्यसको संरक्षण गर्न पनि महोत्सव उपयोगी हुने पनि उल्लेख गरे । दोलखाको कालिञ्चोक, शैलुङ र चेर्दुङलाई चौंरी पालन गर्ने मुख्य क्षेत्र मानिन्छ । महोत्सवको उदघाटन नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । 

२ दिनसम्म चल्ने महोत्सवमा २१ लाख ७७ हजार खर्च लाग्ने अनुमान गरिएको छ । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र कालिञ्चोकको फेदीमा आयोजना गर्न लागिएको महोत्सवले दोलखाको पर्यटन क्षेत्रको विकासमा उल्लेख्य योगदान दिने आशा पनि गरिएको छ । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »