घुस प्रकरणः बदमासी संस्थागत गर्दै पत्रकार महासंघ (ब्लग)

२३ श्रावण २०७४

banner

• टेकनारायण भट्टराई/दामोदर नेपाल-

काठमाडौं । ‘पत्रकारले समाचारको विषयमा पैसाको बार्गेनिङ गरेको’ घटनामा नेपाल पत्रकार महासंघले ‘दोषीलाई उन्मुक्ति दिने’ निर्णय गरेको छ । पत्रकारले घुस माग्दै गरेको स्टिङ अपरेशनसहितको समाचार डिसीनेपाल डटकममा प्रकाशित भएपछि गठित छानबिन समितिले दोषीलाई ‘मुक्ति दिनुपर्ने’ सुझावसहितको प्रतिवेदन तयार पारेको छ । महासंघको कार्यसमितिको बैठकले समितिको सुझावलाई अनुमोदन गरेको छ । स्टिङ अपरेशनसहित समाचार लेख्ने सदस्यका नाताले महासंघको प्रतिबेदनमा उल्लेख भएका तथ्यहरुप्रति विमतिसहित प्रष्ट्याउन चाहन्छौं ।

समितिले महासंघलाई दिएको प्रतिवेदनमा आरोपी पत्रकार सुरज आचार्यले ‘सार्वजनिक रुपमा गल्ती स्वीकार गर्नुपर्ने’ सुझाव दिइएको छ । महासंघको बैठकले पनि यो प्रतिवेदनलाई अनुमोदन गर्दै ‘गम्भीर आरोप लागेका व्यक्तिलाई माफी मागेर उन्मुक्ति दिने’ सुझावलाई सदर गरेको छ । प्रतिवेदनले आरोपी आचार्यलाई कुनै कारवाहीको सिफरिस गरेको छैन र महासंघले पनि यही प्रतिवेदन सदर गर्दै कारबारीका सबै बाटा बन्द गरेको छ ।

छानबिनका लागि गठन गरिएको समितिले भ्रामक, अपुरो र गलत सूचना समावेश गरेर प्रतिवेदन दिएको छ । समितिले घटनाबारे अपुरो छानबिन गरेर एकतर्फी प्रतिवेदन बनाएको छ । समाचार प्रकाशित गर्ने मिडिया डिसीनेपाल डटकम र समाचार लेख्ने (हामी दुईजना) सँग महासंघले एकआखर सोधपुछ गरेन । प्रकाशित समाचारबारे महासंघको हिजो आइतबारको बैठकमा प्रतिवेदन पेश गरिएपछि आज प्रकाशित गरिएको विज्ञप्तिमा उल्लेख गरिएका बुँदाहरु नितान्त पूर्वाग्रही छन् ।

समाचार रोक्नका लागि पैसा मागेको आरोप लागेका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा इमेज च्यानलका बरिष्ठ उपसम्पादक (स्वःनिलम्बित) सुरज आचार्यले ‘नियतवश पैसा नमागेको तर परिबन्धमा परेको’ आशय प्रतिवेदनमा छ । आरोपीप्रति महासंघ जति नतमस्तक देखिन्छ, उति नै समाचार लेख्ने हामीप्रति पूर्वाग्रही बनेको हाम्रो ठहर छ ।

समितिको प्रतिवेदन यतिसम्म फितलो छ कि प्रस्ट कुराकानी सुनिने श्रब्य दृश्य सामग्री हुँदा पनि ‘आन्तरिक समस्या’, ‘दवावको स्थिति’ र ‘परिस्थितिजन्य कारण’ जस्ता वाक्यांश प्रयोग गरेर आरोपी सुरजप्रति सकेसम्म उदार बनेको छ । आन्तरिक समस्या देखाएर घुस माग्न पाइने कुतर्कमा महासंघ उत्रिएको छ ।

समाचार रोक्नका लागि पैसाको माग गर्दा दुई पक्षबीच कुराकानी भएको अडियो र भिडियो प्रस्ट बुझ्न सकिने छ । तर, महासंघको छानबिन समितिले आरोपी सुरज आचार्यसँग सोधपुछ गर्दा उनले ‘केही आन्तरिक समस्यामा परेर ग्यारेजमा गइ भेटघाट र कुराकानी गरेको, केही दवावको स्थिति र केही परिस्थितिजन्य कारण पनि रहेको तर समाचारमा आएजस्तो समाचारको बार्गेनिङ नगरेको’ बताएको प्रतिवेदनमा उल्लेख गरेर आरोपी सुरजलाई सकेसम्म राहत दिने जोखिम मोलेको छ ।

प्रतिवेदनमा स्टिङ अपरेशन गरेपछि ‘२२ दिनसम्म भिडियो वा समाचार प्रकाशन नगरेको पाइएको’ उल्लेख गरिएको छ । तर, वास्तविकतामा भिडियो खिचिएको २ दिनपछि नै प्रसारण भएको थियो । २०७४ असार २६ गते बिहान भिडियो खिचिएको थियो (युट्युवमा भिडियो खिचेको मिति उल्लेख छ) र त्यसको दुईदिन पछि २८ गते समाचारसहित भिडियो सार्वजनिक गरिएको थियो ।

२२ दिनसम्म किन प्रसारण भएन भन्ने जानकारी पाउनका लागि डिसीनेपालसँग सोध्नुपर्ने थियो, तर समितिले यस विषयमा डिसीनेपालसँग अहिलेसम्म कुनै सोधपुछ गरेको छैन । सम्बन्धित पक्षलाई सोध्दै नसोधी मनगढन्त रुपमा प्रतिवेदनमा २२ दिनसम्म प्रसारण नभएको तथ्यहीन कुरा राखिएको छ । तथ्य बंग्याएर महासंघ समाचार लेख्ने पक्षको हुर्मत काढ्ने तहमा उत्रिएको छ ।

प्रतिवेदनमै २२ दिनसम्म सुरज आचार्यसँग प्रतिक्रिया नलिइएको र ‘लिने प्रयास पनि नगरिएको’ उल्लेख गरिएको छ तर समाचार प्रकाशन हुनुपूर्व पटक पटक आचार्यलाई फोन गर्दा उनको फोन नउठेको तथ्य हामीले समाचारमै उल्लेख गरेका थियौं । स्टिङ अपरेशन गर्ने क्रममा लक्षित पात्रलाई पूर्व सूचना दिनुपर्ने तर्क यदि महासंघको हो भने विनम्र जानकारी गराउँ त्यसरी स्टिङ सफल हुने थिएन ।

प्रतिवेदनमा अडियो, भिडियो लिएको २२ दिनसम्म ‘थप खोज अनुसन्धान भएको स्थिति पनि नदेखिएको’ उल्लेख छ । तर, महासंघको जिम्मेवार समितिले खोज अनुसन्धान भएको वा नभएको विषयमा समाचार लेख्ने पक्षलाई सोधेकै छैन । आफ्नो समाचारका लागि गरेको पूर्वतयारी र खोज अनुसन्धान कुनै ‘अधिकारप्राप्त’ निकायले ‘औपचारिक’ रुपमा माग नगर्दासम्म सार्वजनिक गर्न पत्रकार बाध्य हुँदैनन् भन्ने तथ्यलाई महासंघ स्वयंले कुल्चिएको छ ।

प्रतिवेदनले आरोपी आचार्यले बताएको ‘परिस्थितिजन्य कारण’ को ‘अनुमान’ गर्न सकिने उल्लेख गरेको छ । प्राप्त तथ्यलाई पन्छाएर समितिले आफ्नो ‘अनुमान’ लाई सर्वोपरी प्रमाण ठानेको छ । त्यही ‘अनुमान’ र आचार्यको विगत ‘निष्कलंक’ रहेको (उनी निष्कलंक रहेको पुष्टि गर्ने कुनै प्रमाण समावेश छैन) आधारमा सामान्य रुपमा ‘सार्वजनिक माफी’ मगाएर छोडिदिनुपर्ने सिफारिस समितिले गरेको छ । महासंघकै नेतृत्व मध्येबाट बनेको समितिले तयार पारेको प्रतिवेदन बैठकबाट सदर हुनु आश्चर्यको कुरा भएन ।

महासंघले झुठो तथ्य दिएर २२ दिनसम्म भिडियो सार्वजनिक नगरेको भन्दै उल्टै हामीमाथि प्रहार गरेको छ । तर समाचार सार्वजनिक भएको यतिलामो समयसम्म आफ्नो मौनताको बाध्यता महासंघले खुलाएको छैन ।

एउटा पात्रलाई एउटा प्रकरणमा दोषी प्रमाणित गरेर पेसाको शुद्धीकरण हुन्छ भन्ने भ्रममा हामी छैनौं । तर दोषीलाई उन्मुक्ति दिनेगरी रचिएको प्रपञ्चले पेसालाई थप भ्रष्टीकरण गर्छ भन्नेमा शंका छैन । बारम्बार हामीले भन्दै आएका छौं यो प्रकरणमा हामीले पात्रलाई हैन प्रवृत्तिलाई प्रहार गर्न खोजेका हौं । तर महासंघले पात्र बचाउने नाउँमा प्रवृत्ति पनि बचाउने जोखिम मोलेको छ ।

स्वस्थ बहसका लागि अनुरोध

नेपाली पत्रकारितामा नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने मध्येका हामीले हाम्रै अग्रज र सहकर्मीबाट विश्वास कमाउन धेरै नै कर्म गर्न बाँकी छ । पत्रकारितामा नयाँ पुस्ताको असरदार भूमिका सधै अपुग नै रहन्छ । त्यसैले अग्रज पुस्ताले हाम्रो जाँच परख गरिरहेको हामीलाई थाहा छ ।
नयाँ पुस्ताले सधै अग्रजबाट सिक्छ र आफ्नो तह र हैसियतमा निष्ठापूर्वक कर्म गर्ने निरन्तर प्रयत्न गर्छ । हामीले निष्ठित अग्रजबाट पेसालाई श्रद्धा गर्न सिक्यौं । पेसा भित्रका विकृतिलाई इन्कार गर्यौं र यो प्रकरण बाहिरियो । ज्यादा हामीले केही गरेको हैन, पेसामा निष्ठालाई जिताउन खोजेको हो । हामी यसको जस सीमित नै सही ती निष्ठित र संघर्षशील अग्रज पुस्तालाई दिन चाहन्छौं । यतिबेला हाम्रो एउटा मात्रै अनुरोध छ– यो प्रकरणमा स्वस्थ बहस होस् ।

महासंघलाई पत्रकारका बदमासी बचाउ गर्ने आधिकारिक निकाय बन्न दिने वा प्रतिवाद गर्ने ?

यो प्रकरणबारे प्रकाशित अगाडिका समाचार सामग्री-

भिडियोमा हेर्नुस् घुस माग्दै गरेका 'सिनियर' पत्रकार (स्टिङ अपरेसन)

पत्रकार महासंघको मौनता र अध्यक्षको फेरिएको ‘कोट’

 


छानविन समितिको प्रतिवेदन पछि निर्णयसहितको पत्रकार महासंघको प्रेस विज्ञप्ती-

२०७४।०४।२३

प्रेस विज्ञप्ति

इमेज च्यानल टेलिभिजनका बरिष्ठ उपसम्पादक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एबं प्रतिष्ठान संयोजक सुरज आचार्यका सम्बन्धमा २०७४ असार २८ गते ‘डिसीनेपाल डटकम’ मा प्रकाशित समाचारको विषयमा अध्ययन गर्न महासंघ सचिवालयको मिति २०७४ असार ३० गतेको बैठकबाट महासचिव उजिर मगरको संयोजकत्वमा गठित समितिले गरेको अध्ययनको प्रतिवेदन महासंघ सचिवालयको मिति २०७४ साउन २२ गतेको बैठकमा प्रस्तुत भयो । बैठकले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्यो । 

अध्ययनको सारांश तथा निश्कर्ष
१. टेकनारायण भट्टराई र दामोदर नेपालको संयुक्त बाइलाईनमा प्रकाशित उक्त समाचारमा पत्रकार आचार्यले चाबहिल भत्केको पुलस्थित मोटर ग्यारेजका सञ्चालक गुणबहादुर दर्लामीसँग आर्थिक लेनदेनको विषयमा कुरा गरेको गोप्यरुपमा खिचिएको भनिएको भिडियो लिंक पनि समावेश गरिएको । भिडियोमा सुरज आचार्यको पुरा अनुहार र मुख चलेको नदेखिए पनि शरीरको आधाभाग देखिएको र अडियो सुनिने अवस्थामा रहेको पाइएको ।

२. अध्ययन टोली समक्ष डिसी नेपाल डटकममा समाचारसँग आएको अडियो भिजुयल र समाचारका सबै विषयमा ग्यारेज सञ्चालक दर्लामीले निज सुरज आचार्यले समाचारको विषयमा कुरा गरेको र लेनदेनको कुरा पनि भएको तर लेनदेनको कार्य भने नभएको बताएको । सुरज आचार्यले केही आन्तरिक समस्यामा परेर ग्यारेजमा गई भेटघाट र कुराकानी गरेको, केही दवावको स्थिति र केही परिस्थितिजन्य कारण पनि रहेको तर समाचारमा आएजस्तो समाचारको बार्गेनिङ भने नगरेको बताएको । 

३. ग्यारेजसम्बन्धी कुनै समाचार बनेको छ भनी सम्बन्धित सञ्चार संस्थामा बुझ्दा त्यस्तो समाचार बनेको वा कसैलाई असाइन गरेको वा एडिटोरियल मिटिङमा कहिल्यै छलफलको विषय बनेको नदेखिएकोले सुरज आचार्यबाहेक इमेज च्यानलमा यस विषयमा कसैलाई पनि कुनै जानकारी भएको वा संलग्नताको अवस्था नरहेको । 

४. डिसीनेपाल डटकमले स्टिङ अपरेशन गरेपछि २२ दिनसम्म भिडियो वा समाचार प्रकाशन प्रसारण नगरी राखेको पाइएको । यो अवधिको बीचमा डिसीनेपालको तर्फबाट सुरज आचार्यसँग कुनै प्रतिक्रिया लिएको वा लिने प्रयास भएको वा कुनै लेनदेन भएको वा थप खोज अनुसन्धान भएको स्थिति पनि नदेखिदा २२ दिनसम्मको यो पर्खाइको उचित कारण पनि खुल्न नसकेको । 

५. समाचार आए लगत्तै सुरज आचार्य स्यवंले आफू आबद्ध मिडिया र महासंघको जिम्मेवारीबाट हटेको घोषणा गरेर घटनाको छानवीनमा सहयोग गरेको । आचार्य निकट व्यक्ति, इमेज च्यानलका प्रमुख र सहकर्मीको भनाइ एबं जानेबुझेसम्म निजको विगत हेर्दा कुनै गैरकानुनी वा गैर व्यावसायिक कार्यमा संलग्न भएको अवस्था नरहेको । 

६. सुरज आचार्यको सम्बन्धमा यस प्रकरण अघि र त्यसपछिका सबै घटनाक्रम, सम्बद्ध पक्षका भनाइ, प्राप्त आधार–प्रमाण र तथ्यहरूको अध्ययन विश्लेषण गर्दा परिस्थितिजन्य कारणहरूको अनुमान गर्न सकिने अवस्था भए पनि घटना स्वयंमा भने निजको पेशागत कमजोरी देखिन्छ । समग्र प्रकरणमा कुनै आर्थिक लेनदेन भएको त देखिन्न तर पनि यसले पत्रकारिता क्षेत्रको विश्वसनीयता र पत्रकारको आचरण तथा महासंघको पदीय मर्यादाका सन्दर्भमा सार्वजनिकरूपमा गम्भीर प्रश्न उठेकोले यस प्रकरणमा निज सुरज आचार्यले आफ्नो कमी कमजोरीलाई सार्वजनिकरूपमै स्वीकार गर्न र भावी दिनमा कमी कमजोरी नहुने प्रतिबद्धता व्यक्त गर्न आवश्यक देखिन्छ ।

...................
प्रभात चलाउने
सचिव


 

Leave a reply

HTML Tags are not supported

Post My Comment »