निर्वाचनको उम्मेद्वारीका लागि ढिला नगर्न नेतृत्वलाई काँग्रेसको दवाव

२४ श्रावण २०७४

banner

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका नेताहरुले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनका लागि उम्मेदवार तय गर्न ढिलाई नगर्न पार्टी नेतृत्वलाई दवाव दिन सुरु गरेका छन्। 

काँग्रेस नेताहरुले छिटो उम्मेदवार तय गरि प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको तयारीको कामलाई तीव्रता दिन प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई दवाव दिएका हुन्। मंगलबार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टी केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा नेताहरुले निर्वाचनको तयारीका लागि आवश्यक रणनीति तय गर्न पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन्। 

छिटोभन्दा छिटो उम्मेदवार चयन गरी प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको तयारीमा जुट्न पार्टी नेताहरुले नेतृत्वको ध्यानाकर्षण गराएको पार्टीका नेता डा. नारायण खड्काले जानकारी दिए।

आगामी असोज २ गते प्रदेश नम्बर २ अन्तरगत ८ वटा जिल्लाको १ सय २७ वटा स्थानमा स्थानीय तहको निर्वाचन हुँदैछ। नेपाली काँग्रेसका नेताहरुले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनका लागि उम्मेदवार चयनको काममा ढिलाई नगर्न पार्टी नेतृत्वलाई दवाव दिँदै आएका छन्। काँग्रेसले पहिलो र दोस्रो तहको स्थानीय निर्वाचनमा उम्मेदवार चयनमा ढिलाई हुँदा पनि हार व्यहोर्नु परेको निष्कर्ष निकालेको थियो । 

काँग्रेस सभापति एवम् प्रधानन्त्री शेरबहादुर देउवाले पार्टी भित्रकै अन्तरघातका कारण पनि पहिलो र दोस्रो तहको स्थानीय तह निर्वाचनमा पहिलो शक्ति बन्न नसकेको निचोड निकाल्दै तेस्रो चरणको निर्वाचन अन्तरघात गर्नेलाई कडा कार्वाही गर्ने चेतावनी दिइसकेका छन्।

काँग्रेसले प्रदेश नम्बर २ को निर्वाचनमा सत्ता साझेदार नेकपा माओवादी केन्द्रसँग तालमेल गरेर अघि बढने तयारी पनि गरिरहेको छ। प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा बढिभन्दा बढि स्थानमा जित हासिल गरी पहिलो शक्ति बन्ने काँग्रेसको रणनीति छ । बैठकमा प्रधानमन्त्री एवम् पार्टी सभापति देउवाले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन एउटै मितिमा गर्दा के हुन्छ भनि पार्टी नेताहरुको राय समेत मागेका छन्। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »