कविता - झरी कि परी

२६ श्रावण २०७४

प्रकृतिमा रमाउँदा
दुख बिर्सदा
यहि बखत प्रकृतिले
मौसम गडबड गराउन खोज्यो ।

आकाश धुम्मिएर,
बादल मडारिएर,
त्यो परको क्षितिजदेखि
दर्किन सुरु भयो
झमझम पानी
त्यही परेको पानीले
मेरो आँखै अघि उभिएकी
नानीको जवानी भिजायो ।
उस्को बैँस छल्किए
म चाहिँ उनैमा पल्किएँ ।

म मज्जा लिरहेथेँ
तर थाहा थिएन
म के मा मज्जा सोहोरिरहेथेँ !
झरी कि परी ?
उनी झरेकि परी थिइन्
या झरीकि परी ?
जे होस् आफ्नै
आँखा वरिपरि थिइन् ।
खै के ले मनमा प्रेम भराउन खोज्यो ?
झुम झरीमै भनी अराउन खोज्यो ।
त्यही बखत प्रकृतिले
मौसम गडबड गराउन खोज्यो ।

बलेसिको बाछिटाले
मलाई के भिजायो ?
जति तिम्रो रमिताले
मनै छपक्क भिजायो ।
मेरो भिजेको मन
गलेको गल्यै भयो
तिम्लाई देखेर,
कपालको थोपा थोपाले
भिजाएको वदन देखेर
म ठडिएरै ढलेको ढल्यै भएँ ।
म पुरै भएँ खाली
जब उस्ले मुस्कान फाली !

झरी परिरह्यो
ऊ रूझिरही
झन् कामुक बनिरही
उस्को आँखाले
मेरो तस्बिर होइन
पुरै ध्यान खिचिरही ।
खै त्यसै मनको डेरा सराउन खोज्यो
मायाको पो होकी?बीउ छराउन खोज्यो प्रकृतिमा रमाउँदा
दुख बिर्सदा
त्यही बखत प्रकृतिले
मौसम गडबड गराउन खोज्यो।

Leave a reply

HTML Tags are not supported

Post My Comment »