पहिरोले विस्थापितलाई दिउँसो गाँस र राति बासको चिन्ता

२८ श्रावण २०७४

बाजुरा । पहिरोले विस्थापित बडिमालिका नगरपालिका-९, उखाडीका नौ परिवारको बिचल्ली भएको छ। उनीहरूलाई गाँस र बासकै चिन्ताले पिरोलेको छ। बस्तीमाथि सडक निर्माण गर्न खनिएको स्थानबाट गइरहेको पहिरोले घर नै पुर्ने डर भएर उनीहरू पालमा बस्न बाध्य छन्।

हलिया बनेर छाक टार्दै आएका उनीहरू सरकारले हलिया मुक्त गरेसँगै झन् समस्यामा परेका थिए। हलिया मुक्त भएसँगै जग्गाधनीले काम नदिँदा हातमुख जोड्नै समस्या भएको जोगी लुहारको भनाइ छ। साथै पहिरोले बस्ती नै जोखिममा परेपछि उनीहरूको दैनिकी झन् कष्टकर बनेको छ।

‘हामीलाई दिउँसो खाना खोज्नै हैरान छ,’ सातजना परिवारका मुली रहेका जोगी लुहारले भने, ‘सडक काटिसकेपछि पहिरोले बास खोज्न हैरान थप्यो।’ पर्याप्त जग्गा जमिन नभएकाले उनीहरूलाई आफ्नो बारीको उत्पादनबाट तीन महिनासमेत छाक टार्न धौधौ हुने गरेको छ। कच्ची सडकबाट बगेर आएको माटोले पहिरोको रूप लिँदा उनीहरूलाई बासको पनि पीडा थपिएको हो।

खुला आकाशमा रात बिताउनुपर्ने अवस्था आएपछि दुई साताअघि उनीहरू रेडक्रसमा राहत माग्न पुगेका थिए। ‘यहाँ मरेपछि मात्र राहत माग्न आउनुहोला,’ रेडक्रसका प्रतिनिधिको भनाइ उद्धृत गर्दै स्थानीय रूपा चँदाराले भनिन्, ‘जवाफ सुनेर मन कटक्क खायो, रित्तै फर्कियौं।’

तीन वर्षअघिदेखि रजाली हुँदै जाने सडक खन्न डोजर प्रयोगपछि अघिल्लै वर्षदेखि उखाडीको यो बस्तीमा पहिरो खस्न सुरु भएको थियो। वर्षा सुरु भएपछि सो बस्तीका मुक्त हलिया परिवार वर्षामा तीन महिना घर छाड्न बाध्य हुने गरेका छन्। आजको राजधानी दैनिकले खबर छापेको छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »