बढीले माडीका बस्ती डुबानमा, सडक बगाउँदा यातायात अवरुद्ध

२८ श्रावण २०७४

banner

चितवन । बाढीका कारण चितवनको दक्षिणी क्षेत्रमा पर्ने माडी नगरपालिकाका विभिन्न बस्ती डुबानमा परेका छन्। 

रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले यहाँका दर्जनौँ बस्तीका सयौँ घर डुबानमा परेको जिल्ला विपद् व्यवस्थापन समिति चितवनका स्रोतव्यक्ति बलराम लुइँटेलले जानकारी दिए।

उनले यहाँका तीन/चार सयभन्दा बढी घर डुबानमा परेको जानकारी आएकाले यस सम्बन्धी विवरण संकलन भइरहेको बताए। मानवीय क्षति भने भएको छैन। माडीको वनकट्ठा, अमिलिया, सिमरा, धोवाह, रतनीका बस्ती डुबानमा परेका छन् । यहाँका ठाडा खोला र रिउ नदीमा बाढी आएको छ । 

उहाँकाअनुसार डुबानमा परेका बस्तीको बासिन्दालाई सुरक्षित स्थानमा जान भनिएको छ र अहिले जिल्ला विपद् व्यवस्थापन समिति, सुरक्षा निकायसहितको उद्धार टोली माडी पुगेको छ।  चितवनका प्रजिअ तथा विपद् व्यवस्थापन समितिका संयोजक नारायणप्रसाद भट्टले बस्ती र लगाइको बाली डुबानमा परेको जानकारी दिँदै डुबान क्षेत्रमा पुगेर विवरण संकलन गरी जोखिमा परेकाको उद्धार जारी रहेको बताए।

चितवनका प्रहरी उपरीक्षक दीपक थापाले बाढीले ३०/४० घरलाई पूर्णरुपमा क्षति पुर्याएको छ भने २०० जति घरमा आंशिक क्षति पुर्याएको जानकारी दिए।  चितई खोला, बाँदरमुढे खोला र घाँगर खोलामा आएको बाढीले यहाँका विभिन्न क्षेत्रमा सडक भत्काएको छ। जसका कारण आज बिहानैदेखि भरतपुर- माडी ठोरी यातायात अवरुद्ध भएको स्थानीय पत्रकार गोविन्द न्यौपानेले जानकारी दिए।

उनका अनुसार माडीका विभिन्न क्षेत्रका माछापोखरीमा समेत बाढीले क्षति पुर्याएको छ। माडीमा विद्युत् सेवा बन्द भएको आज २५ दिन पुगेको छ भने विद्युत् नहुँदा यहाँको फोन सेवासमेत प्रभावित भएको न्यौपानेले बताए। रासस 

Leave a reply

HTML Tags are not supported

Post My Comment »