डा.केसीको अवस्था कमजोर बन्दै, अनसन तोड्न मन्त्री पोखरेलको आग्रह

२८ श्रावण २०७४

banner

काठमाडौँ । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले अनसनरत डा। गोविन्द केसीलाई तत्काल अनसन तोड्न आग्रह गरेका छन् । 

सरकार बाढी पहिरो पीडितको उद्धारमा केन्द्रित हुनुपर्ने अवस्था सिर्जना भएकाले अहिलेको संवेदनशीलतालाई ध्यानमा राख्दै अनसन तोड्न आग्रह गरेका छन् । 

मन्त्री पोखरेलले आज एक विज्ञप्ति जारी गरी डा केसीले माग गरेबमोजिम चिकित्सा शिक्षा विधेयक समितिबाट पारित भइसकेको र व्यवस्थापिका–संसदमा पेस हुने क्रममा रहेकाले यस प्राकृतिक विपदमा अनसन तोडी अन्य चिकित्सकलाई पनि नियमित काममा फर्कन आग्रह गरेका हुन् । 

डा केसीको अनसनलाई समर्थन गर्दै देशभरका सरकारी तथा निजी अस्पतालका चिकित्सक अन्दोलनमा रहेकाले पीडितको उपचारमा बाधा पुगेको भन्दै मन्त्रीले यस्तो आग्रह गरेका हुन् । 

यसैगरी, मन्त्री पोखरेलले मुलुकभर बाढी र पहिरोबाट पीडित बनेका व्यक्तिको उपचार र औषधिको व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिइसकिएको विज्ञप्तिमा उल्लेख छ । 

यता डा केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ । मुटुको चाल बढेको, रगतमा अक्सिजनको मात्रामा कमी भई स्वासप्रस्वासमा समस्या भइरहेको र छातिमा दुखाइ बढेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »