पाँच बर्षका लागि विद्यासुन्दरले पुरेको एउटा खाल्डो

२१ भाद्र २०७४

banner

टिप्पणी-

काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई मोमाइल पटक्कै फापेको छैन। मेयर भएपछि आफूले प्रयोग गर्ने मोवाईल कार्यालयको पैसाले किन्ने निर्णयबाट उनी खेदिन थालेका हुन्। सयदिन मेयर कार्यकाल बिताएका शाक्य हिजोआज त्यही मोबाइलबाट तर्सन्छन्। चिनजानका मात्रै फोन उठाउँछन् उनी। अपरिचित नम्बरबाट उनलाई बिझाउने प्रश्न बर्सिन्छ–‘सय दिन त बित्यो, माखो मार्नु भएन नि मेयर साव?’

पत्रकारका फोन उठ्दैन

कार्यकालको सयदिन जतिजति नजिकिदै थियो, शाक्य पत्रकारसँगका भेट र फोनबाट टाढिदै गए। पत्रकारका फोन शाक्यले हतपत उठाउँदैनन्। स्मरण रहोस् विजयी भएपछिका सुरुवाति दिनमा उनले नविराइ फोन उठाउँथे। सायद उनी ‘बधाइ कल’ ‘मिस’ गर्ने पक्षमा थिएनन्। तर शाक्यका लागि सरकारी सुबिधाको फोन ‘महंगो’ पर्यो। त्यसपछि उनले विस्तारै ‘इनकमिङ कल’ घटाउन थालेका हुन्।

पत्रकारहरुको एउटा जमघटमा शाक्यले फोन उठाउन छाडेका भनेर चर्चा उठ्यो। उनको फोन नउठेर हैरान भएका थुप्रै भुक्तभोगी पत्रकार रहेछन्। कतिले त शाक्यको फोन नउठेपछि प्लान गरेको न्युज नै डम्प गर्नुपरेछ। पत्रकारका लागि विद्यासुन्दरले सुबिधामा लिएको मोवाइल नम्बरमा ‘इनकमिङ कल’ निषेध जस्तै छ।

‘कुचो स्टन्ट’

मेयर भएपछिका केही दिन उनी उत्साही थिए। उनको त्यो उत्साह शुभकामना थाप्ने, खादा, माला र अविर पहिरने जमघटहरुमा छरपष्ट देखिन्थ्यो। उनको सुरुवाती कार्याकाल बधाई र शुभकामना साट्नमै बित्यो।

विस्तारै शंका सुरु भयो–सयदिनमा शाक्यले माखो मार्ने छैनन्। उनका सयदिनमा गर्ने भनिएका योजना र कार्यक्रम चुनावमा मत फकाउने उद्देश्यले तयार पारिएको काल्पनिक दस्ताबेज थियो भन्ने पुष्टि हुँदै गयो। यदाकदा उनी कुचो चलाउन पनि निस्किए। तर उनको ‘कुचो–स्टन्ट’लाई धेरैले मजाकमा उडाए। किनकी काठमाडौं महानगर कुचो चलाएर स्मार्ट सिटी बन्नेवाला थिएन।

महानगरको रुप फेर्ने प्रतीफलको आशामा जनताले शाक्यलाई मत दिएका हुन्। विजयी भएकै दिन शाक्यले आफ्नो रुप फेरेका थिए–विलासी गाडीमा साइरन बजाउँदै स्कर्टिङमा गाडीको लस्कर लगाएर। स्मार्ट सिटीको सपना बोकेको मेयरको त्यो ‘शाही ठाँट’को झल्को दिने ‘स्मार्ट सवारी’लाई नगरवासीले खासै अन्यथा अथ्र्याएनन्। नागरिक केवल मेयरका अगाडिका कदम नियाल्न आतुर थिए। दैनिक समस्याबाट पार पाउन यी मेयरले केही गरि पो हाल्छन् कि भन्ने झिनो आशामश्रित पर्ख र हेरको मुडमा थिए।

समस्याको काँडाघारी

काठमाडौं खाल्डो अथाह समस्याको काँडाघारी नै हो। मेयरको हनिमुनकाल छिप्पिदासम्म शाक्यले मसिना काँडा पन्छाउन पनि आँटेको देखिएन। कहाँबाट काँडाघारीमा पस्ने उनले जुक्ति निकाल्नै सकेनन्। काँडाघारीमा पस्ने उनको इच्छाशक्ति पटक्कै देखिएन।

काँडाघारी छिर्ने हिम्मत जुटाउन नसकेका मेयरले सुबिधाभोगतर्फ भने गजबकै हिम्मत देखाए। समस्याको चाङलाई नजरअन्दाज गर्दै उनी अलोकप्रिय निर्णय लिन उद्दत भए। मोवाइल खरिद प्रकरणसँगै विलासी गाडी किन्ने योजनाले उनको अलोकप्रियता चुलिमै पुग्यो। सय दिन नबित्दै मतदाता थकथकाउन थाले–कस्तो मेयर छानिएछ। यता नागरिकहरु एकमहिनामै हार खाएका छन्, उता शाक्यको कार्यकाल सिंगो पाँच बर्ष बाँकी नै छ।

पुरिएको एउटै खाल्डो

दुई दशक अन्तरमा भएको स्थानीय तह निर्वाचनबाट विजयी भएर आएका जनप्रतिनिधिमाथि जनअपेक्षाको चाङ छ, जुन स्वाभाविक हो। स्थानीय तहमा जनप्रतिनिधि नहुँदा बिग्रिएका र नराम्रा सबै परिणामको दोष देखाउने त्यही एउटा अमूर्त खाल्डो थियो– जनप्रतिनिधिविहीन स्थानीय तह। 

विद्यासुन्दर शाक्यले रिक्तस्थान पुरिदिएका छन्। पाँच बर्षका लागि दोष बिसर्जन गर्ने खाल्डो पुरिएको छ। विद्यासुन्दरले पुरेको एकमात्र खाल्डो त्यही हो।

Leave a reply

HTML Tags are not supported

Post My Comment »