विद्युत् चुहावटबाट ३१ लाख राजश्व सङ्कलन, चोरी गर्ने ४९ जना पक्राउ 

२२ भाद्र २०७४

banner

बनेपा । काभ्रेपलाञ्चोकमा विद्युत् चुहावटबाट कूल रु ३१ लाख ५७ हजार राजश्व संकलन भएको छ। 

आर्थिक वर्ष २०७३/७४ मा मण्डनदेउपुर, उग्रचण्डीनाला, नमोबुद्ध नगरपालिकालगायत ग्रामीण भेगमा भएको विद्युत् चुहावटबाट सो राजश्व संकलन भएको हो। यस अवधिमा विद्युत् चोरीको आरोपमा ४९ जना पक्राउ परेर राजश्व तिरी थुनामुक्त भएका छन्। 

“कडाइ गरेपछि विद्युत् चुहावट कम हुँदै गएको छ”, नेपाल विद्युत् प्राधिकरण, काभ्रे वितरण केन्द्रका प्रमुख रवीन्द्रकुमार यादवले भने। उनले चुहावट रोक्न सामाजिक चेतनाको विकास हुनुपर्नेमा जोड दिँदै विद्युत् लाइनको अनुमति लिएर पनि मिटर वाइपास गरेर चुहावट हुने गरेको बताए। 

जिल्लामा विद्युत् बक्यौताको कूल रकम रु २० करोड ५४ लाख २५ हजार रहेको छ। सो रकममध्ये सडक बत्तीको मात्रै रु १० करोड ९८ लाख ३७ हजार रहेको छ भने घरमा जडान भएको विद्युत्को बक्यौता रु पाँच करोड ७७ लाख रहेको छ। सडक बत्तीको बक्यौता रकम बनेपा, पनौती, धुलिखेल नगरपालिकालगायतको हो। 

वितरण केन्द्र प्रमुख यादवले सडक बत्तीको रकम उठाउन निर्वाचित जनप्रतिनिधिलाई आग्रह गरिएको जानकारी दिँदै कतिपय ग्राहकको विद्युत् लाइन काटेपछि बक्यौता उठेको बताए। उनले उक्त रकम २०४७ सालदेखिकै बक्यौता भएको र केही रकम द्वन्द्वकालको समेत रहेको बताए। उक्त बक्यौता रकम बनेपा, धुलिखेल आसपास क्षेत्रको हो। रासस 

Leave a reply

HTML Tags are not supported

Post My Comment »