कागजको नाऊ

२४ भाद्र २०७४

झरी परिरहेथ्यो
म हेरिरहेथेँ झ्याल बाहिर 
बिष्मयपूर्वक 
म झरीमा मुग्ध थिएँ 
सानो छँदा जस्तै गरी  

घर अगाडिको कच्ची बाटोमा 
पानीको भेल बगिरहेथ्यो 
धमिला यादहरु 
प्रस्ट हुँदै आए 

ती दिनहरु -
खुशी खोज्न कतै जानु पर्दैनथ्यो 
कलर पेन्सिलले 
सेतो कागजमा 
उड्दै गरेको चरा बनाए पुग्थ्यो 
आल्हदित हुन केही चाहिँदैनथ्यो 
उडाउन एउटा चङ्गा र 
एक लट्टाई धागो भए पुग्थ्यो

म फेरि केटाकेटी भएँ
छोरीको कापीबाट एउटा पाना च्यातें  
एउटा नाऊ बनाएँ 
फुत्त बाटोमा निस्केँ
र त्यो पानीको भेलमा बगाई दिएँ

Leave a reply

HTML Tags are not supported

Post My Comment »