महिलाको हत्या गरी फरार रहेका अभियुक्त खोलामा लुकेर बसेको अवस्थामा पक्राउ

२६ भाद्र २०७४

banner

मकवानपुर । महिलालाई गोली हानी हत्या गरेर फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। 

हाँडीखोला–७ मुलखोला बस्ने ६२ वर्षीया ठुलीमाया थिङलाई २०६७ फागुन ३ गते गोली प्रहार गरी हत्या गरी फरार मकवानपुरको साविक नामटार गाबिस–६ हाल कैलाश गाउँपालिका–१० बस्ने ३६ वर्षीय कुमार भन्ने सागर पाख्रिनलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

हत्या, लागूऔषध गाँजा, हातहतियार, अखेटोपहार ओसारपसार मुद्धाका फरार पाख्रिनलाई खोजी गर्नेक्रममा काठमाडौंको चन्द्रगिरी नगरपालिका–२ झ्याप्ले खोलामा लुकिछिपी बसेको अवस्थामा महानगरीय प्रहरी परिसर काठमाडौंको सहयोगमा जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

निज पाख्रिन २०७३ बैशाख ३ गते घरमा आएको सूचनाको आधारमा खटिएको प्रहरी घरमा पुग्दा निज पाख्रिन फरार भएको तथा घर तलासी लिँदा कटुवा पेस्तोल २ थान, त्यसको गोली १ थान, भरुवा बन्दुक १ थान, बारुद २ सय ग्राम, छर्रा ६ सय ५० ग्राम, लागूऔषध गाँजा २० केजी र सालकको खपडा १ केजी बरामद भएको थियो । साथै साविक नामटार गाबिस–६ मा पर्ने खेतबारीमा निजले अबैध रुपमा ४ कठ्ठा जग्गामा लगाएको गाँजा खेती २०७२ मंसिर २१ गते खटि गएको प्रहरीले नष्ट गरेको थियो ।

पक्राउ परेका पाख्रिनका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »