अष्ट्रेलिया पठाइदिन्छु भन्दै करोड बढी ठगी गर्ने मलेशियन नागरिक पक्राउ 

२६ भाद्र २०७४

banner

काठमाडौं। अष्ट्रेलिया पठाइदिन्छु भनी ठगी गर्ने कार्यमा संलग्न मलेशियन नागरिक ४३ वर्षीय रामादास बासकारादासलाई काठमाडौं महानगरपालिका–२६ ठमेलस्थित नर्सिङ चोकबाट महानगरीय अपराध महाशाखा टेकुको प्रहरीले भदौ २२ गते पक्राउ गरेको छ।

विभिन्न विदेशी नागरिकहरुले नेपालमा आई एफपी एजुकेशन कन्सल्टेन्सी प्रालिका सञ्चालक चुन्टी लामा लगायत ११ जना नेपाली विद्यार्थीलाई सेमिनार गरी आइएलटिएस बिना अष्ट्रेलिया अध्ययनको लागि पठाइदिन्छु भनि विभिन्न प्रलोभन देखाई पटकपटक गरी जम्मा १ करोड २५ लाख रुपैयाँ ठगी गरेको संचालक चुन्टी लगायत पीडित विद्यार्थीहरुले निवेदन दिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।     

निज रामादास, मलेसियाकै धर्मालिङ्गम र अष्ट्रेलियाका रभिन्द्र समेतका ३ जनाले चाबहिलस्थित मेडिसन होटल ट्रेनिङ सेन्टरमा कन्सलटेन्सी तथा विद्यार्थीलाई सहभागी गराएर सेमिनार गरी अष्ट्रेलियामा आफ्नै नाममा रहेको फ्युचर एकेडेमी कलेजमा अध्ययन गर्न नो आएलटिएस, नो एज बार, नो एजुकेशन ग्याप भन्दै हप्तामा १ दिन कक्षा लिँदा हुने, हप्तामा ६ दिन अन्य काम गर्दा हुने, कामको पुरै ग्यारेन्टी जस्ता कुराहरु गरी विश्वासमा लिई प्रत्येक विद्यार्थीको नेपालस्थित बैंक खाताबाट अष्ट्रेलियन नागरिक रभिन्द्रको खाता नम्बर ०१६४९९ मा रकम जम्मा गर्न लगाई अष्ट्रेलियाबाट झुठो कागजात तयार पारी ईमेलबाट सम्बन्धित विद्यार्थी तथा कन्सलटेन्सीलाई पठाएको उजुरी सम्बन्धमा अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्नमध्ये रामादासलाई भदौ २१ गते नेपाल आएको अवस्थामा प्रहरीले पक्राउ गर्न सफल भएको हो।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि महाशाखाले भदौ २३ गते महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »