प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको तयारी पूरा

२८ भाद्र २०७४

banner

काठमाडौं। निर्वाचन आयोगले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका हुन्। उनले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मतदाता परिचय वितरणको कार्यक्रम बिहीबार, शुक्रबार र शनिबार तय गरिएको जनाए।

आगामी सोमबार प्रदेश नम्बर २ अन्तरगतको १ सय ३६ वटा स्थानीय तह निर्वाचन हुँदैछ। सो मतदानका लागि निर्वाचन आयोगले तीन दिन मतदाता परिचय पत्र वितरणको कार्यक्रम तय गरेको हो।

प्रमुख निर्वाचन आयुक्त यादवले मतदाता परिचय पत्र वितरणमा सावधानी अपनाउन पनि सबै निर्वाचन अधिकृतहरुलाई सचेत गराए। एकै घरका दुई जना भिन्न भिन्न राजनीतिक दलका उम्मेदवार समेत रहेकाले मतदाता परिचय पत्र वितरणमा सावधानी अपनाउनु परेको पनि निर्वाचन आयोगले स्पष्ट पारेको छ।

निर्वाचन आयोगले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने विश्वास पनि व्यक्त गरेको छ। प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न उच्च सुरक्षा सतर्कता अपनाइएको जनाए। उनले ढुक्क भएर मतदानमा भाग लिन पनि सबै मतदातालाई आह्वान गरे। निर्वाचन आयोगले प्रदेश नम्बर २ का आम मतदाता उत्साही भएर निर्वाचनमा जुटेको स्पष्ट पारेको छ।  

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »