नाकामा एमाले, सहरमा कांग्रेस, मैदानमा राजपा [स्थलगत समीक्षा]

२९ भाद्र २०७४

banner

• टेकनारायण भट्टराई/मदन कोइराला-
महोत्तरी। दुई नम्बर प्रदेश छिर्ने नाकामा चुनाव प्रचार हेर्दा मधेसमा एमालेको उपस्थितिलाई नजरअन्दाज गर्न सकिदैन। मधेस आन्दोलनयता एमालेलाई यहाँ छिर्न हम्मे पर्ने अनुमान थियो। नाका छिर्दा देखिने एमालेको प्रचार दृश्यले त्यो अनुमान खारेज गरिदिएको महसुस हुन्छ।

विपी राजमार्ग भएर महोत्तरीको बर्दिबास छिर्नेक्रममा सडक किनारा एमालेमय देखिन्छ। महोत्तरी कालापानीबाट अगाडि लाग्दा प्रदेश दुईको चुनावी रौनक बाक्लिँदै गएको महसुस हुन्छ। एमालेसहित कांग्रेस र माओवादीको प्रचार पनि आक्रामक देखिन्छ।

प्रदेश नाका र मुख्य राजमार्ग छाडेर जति भित्रिँदै गइन्छ त्यसपछि दृश्य पनि फेरिँदै जान्छ। विस्तारै मधेस केन्द्रित दलका प्रचारले मुख्य तीन दलका प्रचारलाई उछिनेको देखिन्छ। मधेस केन्द्रित दलको जस्तो कांग्रेस, माओवादीको हुँदैन। कांग्रेस माओवादीको जस्तो एमालेको हुँदैन।

महोत्तरी, धनुषा, रौतहट, बारा, सर्लाहीलगायतका जिल्ला प्रवेश नाका र राजमार्गमा प्रमुख तीन दलको चुनावी प्रचार प्रचुर देखिन्छ। जिल्लाका भित्री क्षेत्रमा मधेस केन्द्रित दल राजपा, उपेन्द्र यादव र विजय गच्छदार नेतृत्वका दुई फोरमको प्रचार उल्लेख्य छ।

महोत्तरी बर्दिबासमा भेटिएका सोम लामाले सुनाए ‘मधेस आन्दोलनले बर्दियासलाई खासै छोएन, यहाँको एमाले प्रभाव टसमस भएको छैन।’ उनले चुनावी प्रचारमा यहाँ एमाले आगडि रहेको बताए। लामासँग मिल्दो ‘कोट’ दिए ढल्केबर चोकमा रहेको स्टेशनरीका संचालक सन्तोष मेहेताले–‘महोत्तरीमा एमाले डगेको छैन।’

मेहेताले ठोकुवा गरेका छन् ‘मिथिला नगरपालिकामा कांग्रेस माओवादीबीच तालमेल छ तर हेर्नुस् यहाँ एमालेले जित्छ।’ उनले बर्दिबास नगरपालिकामा पनि एमालेको स्थिति मजबुत भएको बताए। विपी राजमार्गबाट प्रदेश दुई छिर्दा आउने पहिलो र दोस्रो नगरपालिमा एमालेको खाता उघारिने संभावना बलियो छ। लामा र मेहेताले भनेजस्तै एमालेले यहीबाट जितको खाता खोल्न सक्यो भने मान्नै पर्छ– प्रदेश नाकामा स्वागतद्वार एमालेले खडा गर्नेछ।

बाहिरी घेराउको नीतिमा एमाले

मधेसका भित्री क्षेत्रमा छिर्ने जोखिम उठाउनु भन्दा नाका, सदरमुकाम र राजमार्ग क्षेत्रलाई पकडमा लिने एमालेको नीति देखिन्छ।
‘एमालेको रणनीति भित्र भन्दा बाहिरी घेरामा प्रभाव जमाउने देखिन्छ,’ धनुषा ढल्केबरका फार्मेसी संचालक गंगाप्रसाद महतोले भने, ‘मधेस प्रवेशका नाकालाई एमालेमय बनाएपछि मनोवैज्ञानिकरुपमा मतदातामा आफ्नो प्रभाव छाड्न सकिने  रणनीतिमा एमाले देखियो।’

एमालेमात्र होइन, राजमार्ग आसपासमा प्रमुख दल नेपाली कांग्रेस र माओवादीको उपस्थिति पनि लोभलाग्दो छ। ती दल पनि चुनावी गतिविधिलाई भित्री क्षेत्रमा भन्दा प्रवेश क्षेत्रमा प्रभावकारी बनाउने होडमा छन्।

चुनावी मिति नजिकिँदै गर्दा दैनिक शीर्ष नेताहरुले चुनावी कार्यक्रमहरुमा सक्रिय छन्। नेपाली कांग्रेस र माओवादीका शीर्ष नेताको दौडाहा एमालेको भन्दा आक्रामक छ।

देउवा र प्रचण्ड हावी हुँदै ओली ब्याक

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसमा ध्यान बढाएको महिना पुग्न लाग्यो। उनी मधेसमा डेरा जमाएर बसेका छन्। बाढीग्रस्त क्षेत्रको भ्रमणदेखि नै प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको मधेस उपस्थिति बाक्लो हुँदै गएको हो। देउवा मंगलबार दलबलसहित मधेस झरेका छन्। चुनावी सभाहरुमा उनले मतदाता प्रभावित पार्न मेहनत लगाएका देखिन्छ।

नेकपा एमाले अध्यक्ष ओली यो चुनावमा ‘साइलेन्ट मोड’मा रहने रणनीतिमा छन्। मधेस आन्दोलन र संविधान संशोधनको विषयमा मधेसको प्रतिकुलमा उभिएका ओलीको बोलीले मधेसमा धेरै ‘भाइब्रेसन’ मच्चाएको थियो। त्यो ‘ओली उत्पात’लाई ब्यालेन्स गर्न यतिबेला मौनताको नीतिमा एमाले देखिन्छ।

वीरगंजका एमाले नेता एवं दुई नम्बर प्रदेश सदस्य चिरञ्जिवी आचार्यलाई हामीले सोध्यौं–अध्यक्ष ओलीको के छ भ्रमण तालिका?
उनले भने ‘हिलेसम्म भ्रमण तय भएको छैन, अन्य नेताहरु आउनु भएको छ, अध्यक्षको आउने टुंगो छैन।’
प्रचारको अन्तिम धक्का

दुई नम्बर प्रदेशमा स्थानीय तह निर्वाचन आउन अब मात्र चार दिन बाँकी छ। निर्वाचनको मिति जति नजिकिँदैछ, त्यति नै आम मतदातमा उत्सुक छन्। मतदाताका घरदैलोमा दलका नेता, प्रतिनिधिहरुको उपस्थितिको चाप बढेको छ।

सहरी क्षेत्रमा प्रमुख तीन दल बढी सक्रिय छन् भने ग्रामीण भेगमा मधेसवादी दल हावी छन्। संविधानप्रति असन्तुष्टि जनाउँदै ६ महिना लामो आन्दोलन गरेका मधेस केन्द्रित दल दुई चरणका चुनाव बहिस्कार गरेर तेस्रो चरणको यो चुनावमा मैदानमा उत्रिएपछि उनीहरुको मत नतिजा झनै प्रतिष्ठाको विषय बनेको छ।

पहिलो हुने होडमा तीन दल

दुई नम्बर प्रदेशमा तीनदलको पहिलो हुने अपेक्षा प्रचुर छ। नेपाली कांग्रेसमा पहिलो हुने आकांक्षा जति छ उत्तिकै दोस्रो आकांक्षीमा राजपा देखिन्छ। स्थानीय तह निर्वाचनका दुवै चरणमा पाएको अग्रताले एमालेको मनोबल कमजोर हुने कुरै भएन।

माओवादी र संघीय फोरमले मधेसमा सम्मानजनक उपस्थिति देखाउन पूरै ताकत लगाएका छन्। त्यसपछिको स्थानमा गच्छदार नेतृत्वको फोरम र बाँकी स्थानका लागि नयाँ शक्ति, राप्रपालगायतका दलहरुबीच होड चल्ने पूर्वानुमान छ।

राजपाको घाउ

६ वटा मधेस केन्द्रित दल एकीकरण भएर गठन भएको राष्ट्रिय जनता पार्टी (राजपा) प्रति मधेसमा सहानुभूति छ। तर राजपालाई आफ्नै जिउमा लागेको घाउले कमजोर बनाएको छ।

चुनावी टिकट वितरणमा राजपाभित्र असन्तुष्टि बढेपछि धेरै कार्यकर्ताले पार्टी परित्याग गरे। एकीकृत भएको ताकत चुनावको मुखमा भताभुंग भयो। मधेसको सशक्त शक्ति भएर उदाउने राजपाको संभावनालाई पार्टी व्यवस्थापनको चुनौती भारी परेको छ। जसको सोझो फाइदा एक नम्बरमा उपेन्द्रलाई भएको छ भने कांग्रेस, माओवादी, एमाले र गच्छदारले बाँकी लाभ क्रमशः बाँडेर लिनेछन्। 

राजपाबाट चोइटिने मत छरिएर बाँडिदा मधेसमा अपेक्षा गरिएको एकीकृत मधेसवादी मत एकपटक फेरि ‘आकासको फल’ हुने पक्का छ। मधेस केन्द्रित दलबीच चुनावी तालमेलन हुन नसक्नु त्यसमाथि राजपा भित्रै विवाद भित्रिएपछि ब्यालेटमा पनि मधेस कमजोर हुने भएको छ।

भिडियोः

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »