मधेसको माग सम्वोधन गर्न सरकारमा गएका हौं: राणा

२९ भाद्र २०७४

banner

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणाले मधेसका माग सम्बोधन गर्न आफ्नो पार्टी सरकारमा सामेल भएको दाबी गरेका छन्। 

बिहीबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष राणाले पार्टी फुटाएरै भएपनि मधेसका माग सम्बोधन गर्न आफ्नो पार्टी सरकारमा सामेल भएको बताएका हुन्। 

‘पार्टी एकीकरणपछि स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन भयो, जसमा राप्रपाको कमजोर स्थान रहयो, यसले हाम्रो एकीकरणलाई नेपाली जनताले रुचाएनन्, त्यसैले पार्टी अलग गरेर बृहत एकताको आह्वानमा जुटेका छौँ,’ उनले भने।

मधेस आन्दोलनले उब्जाएका माग सम्बोधन गर्न आफ्नो पार्टीले महत्वपूर्ण भूमिका खेल्ने उनले दाबी गरे। ‘मधेसका माग सम्बोधन हुनुपर्छ, मधेसका जायज मागलाई दबाउनु हुँदैन,’ उनले भने, ‘यदि मधेसका माग सम्बोधन नगर्ने हो भने मुलुकमा स्थायित्व, समृद्धि र विकास सम्भव हुँदैन।’

राणाले प्रदेश नम्बर २ को निर्वाचन सम्पन्न भएपछि मुलुकमा शान्ति, स्थायित्व र दिगो विकास हुने विश्वास दिलाए। उनले भने, ‘सरकार २ नम्बर प्रान्तको निर्वाचन गर्नको लागि जुटिरहेको छ, निर्वाचनपछि मधेशका जनताले आफ्ना जनप्रतिनिधिहरु पाउँछन् र मधेसको विकास, अधिकारहरुको सुनिश्चितताको वातावरण बन्छ।’
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »