बलात्कारी बाबाकी छोरीले मच्चाइन् सुनौलीमा हंगामा

२९ भाद्र २०७४

banner

भैरहवा। बलात्कारी बाबा राम रहीमकी छोरी हनीप्रीतले सुनौलीको नेपाल भारत सीमा क्षेत्रमा हंगामा मच्चाएकी छिन् । भारतमा ‘मोस्ट वान्टेड’ घोषित गरिएकी हनीप्रीतले मच्चाएको यो हल्लाखल्ला राजधानी भित्रिने सम्भावना बढेको छ । सिंगो भारत हल्लाएका बाबा राम रहीमकी विश्वासपात्र भएका कारण हनीप्रीतलाई सिंगो भारतको सुरक्षा निकायले गम्भीरताका साथ लिएको छ ।

हनीप्रीत सुनौली बोर्डरबाट नेपाल पस्न सक्ने भन्दै एसएसबी र भारतीय गुप्तचर विभागका सुरक्षाकर्मीले यहाँ हरेक महिलाको तलाशी लिन थालेका छन् । उनीहरुले मुस्लिम महिलाको बुर्कासमेत छोडेका छैनन् । हनीप्रीत बुर्का लगाएर नेपाल पस्न सक्ने भन्दै मुस्लिम महिलालाई समेत बुर्का हटाउन बाध्य पारिएको छ । इन्टेलिजेन्स ब्यूरोले हनीप्रीत नेपाल भागिसकेको वा नेपाल भाग्न सक्ने रिपोर्ट दिएपछि यहाँ सुरक्षा बढाइएको हो । 

सुनौली बोर्डरमा नेपालसँग सीमा जोडिएको महाराजगञ्ज जिल्लाका एसपी आशुतोष शुक्लाले भने ‘भारतबाट नेपाल जानेहरुको गम्भीर रुपमा तलासी लिइएको छ । एसएसबीका जवानहरु नेपाल भारत सीमाका आवतजावत नहुने क्षेत्रमा पनि सतर्क छन् ।’ सीमा क्षेत्रमा हनीप्रीतको फोटो छ्याप्छ्याप्ती टाँसिएका छन् । हनीप्रीतको खोजीका लागि नेपालका अधिकारीहरुसँग पनि सम्पर्क गरिएको भारतीय अधिकारीहरुले बताएका छन् । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »