मेरो घरमा बस्ने हाम्रै पार्टीलाई भोट नदिने भन्दै घरबेटीले लिए ज्यान

५ आश्विन २०७४

banner

काठमाडौं। चुनावी हिंसामा एकजनाको मृत्यु भएको खबर आएको छ। तेस्रो चरणको चुनावमा ज्यान जानेगरि भएको यो नै पहिलो हिंसा हो।

घटना पनि अचम्मैको छ। चुनावसँग जोडिएको यो घटना रौतहटको हो।

घरबेटीले भनेको पार्टीलाई भोट नहालेको भन्दै आक्रमणमा परेका भाडामा बस्ने पुरुषलाई बचाउन पुगेका छिमेकीको दोहोरो झडपमा परेर मृत्यु भएको हो।

आपसमा झगडा गर्नेहरु घाइते छन् तर झगडा शान्त पार्न पुगेका छिमेकीको ज्यान गयो। रौतहट कटहरीया नगरपालिका वडा नम्बर ८ बलुवाचोकका ४८ बर्षीय रामपुकार राय यादवको ज्यान गएको रौतहटका एसपी यज्ञविनोद पोख्रेलले डिसी नेपाललाई जानकारी दिए।

घरबेटी नेपाली कांग्रेस समर्थित हुन्। भाडामा बस्नेले कांग्रेसलाई मत नदिएर अर्कै दललाई दिएको विवाद हिंसामा परिणत भएको थियो।

एसपी पोख्रेलका अनुसार गएको राति झगडिया घरबेटी र भाडामा बस्ने दुबैजना घरमै थिए। बेलुका पख उनीहरुबीच विवाद भयो। दुबैतर्फ केही साथिहरु पनि थपिए। रातिमा त्यहाँ खानपान पनि चल्यो।

मेरो घरमा बस्ने मैले भनेको पार्टीमा भोट नदिने भन्दै घरबेटीले झगडालाई कुटपिटतर्फ मोडिदिए। दुईपक्षबीचमा झडप भएको थाहा पाएपछि छुट्याउन त्यहाँ पुगेका छिमेकी रामपुकार दुबैतर्फको हानाहानमा बीचमा परे र उनको ज्यान गयो।

प्रहरीले नेपाली कांग्रेस समर्थित ती घरबेटीसहित झगडामा संलग्न केही व्यक्तिलाई पक्राउ गरेको छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »