जापानवाट आमालाई चिठी :बिश्वबन्धु भण्डारी

५ आश्विन २०७४

banner

पुजनिय आमा साष्टगं दण्डवत,

आराम छु आरामको कामना गर्दछु। ईन्टरनेटको आधुनिक जमनामापनि कान्छाले किन चिठी लेख्यो भनेर अचम्म पर्नुभयो होला है? रहर त मलाई पनि थियो आखाँमा आखा जुधाएर भाईवरवाट भिडीयो कल गरेर सम्वाद गर्ने । भिडीयो सम्वादले नजिक भएको महशुष त पक्कै हुन्थ्यो नै तर माफ़ गर्नुहोला यसपाली म भिडीयो कल गर्नै सकिन । तपाईसगै हजारौ पटक भिडीयो कल गरेको छु तर बोल्दै गर्दा तपाईको आखाँवाट आशु नझरेको कुनै पल थिएन । दशै तिहार आउदैछ सबैका छोराछोरी दशै मनाउन गाउँ फर्कदै गर्दा आफ्नो छोरो भने नआउने खवर पाएपछि झन् कति रुदि हौ । तिम्रा आखाँमा कहिल्यै आशु देख्न नपरोस् भनेर कामना गरिरहने छोरो म भिडीयो सम्वादमा तिम्रा आखाँवाट आशु झरेको टुलुटुलु हेरेर बस्न म कसरि सक्छु र ? त्यसैले चिठी लेख्दैछु । 

कामको थकानवाट लखतरान भएर रुममा फर्केर एक कप रामेन (चाउचाउ) खाएर सुतेका दिनहरुमा तिमीले को खाई बाबु को खाई भन्दै कान्छो भोकायोकि भन्दै जवरजस्ती खुवाउदापनि छि कति नमिठो भनेर मिल्काईदिएका पलहरु मथिगंलमा आउछन् । ट्रेनको यात्रामा भेटिएका प्रत्येक बुढि जापनिज आमाहरुको अनुहारमा तिम्रै तस्विर देखिरहेको हुन्छ । तिम्रो सहारामा जन्मिएँ हुर्किएँ बढ़े अनि पढेँ, प्रत्येक दुखमा तिमी साथमा थियौ । तिम्रो स्पर्शले मात्रै पनि मेरा सारा दुखाईहरु शान्त हुन्थे, हर क्षणहरुमा तिमी मेरो सहारा थियौ तर आज तिमीलाई मेरो सहारा चाहिएको छ । उ वेला मलाई जस्तै तिमीलाई पनि प्रत्येक दिन दुखाईहरु आए होलान् तर सहारा कस्ले दिने ? बुढेसकालमा रोगले ग्रसित भएर एैय्या एैय्या भन्दै बिछ्यौनामा पल्टिरहेकी मेरी आमालाई अस्पताल लैजान पनि नसक्ने गरिब छोरो हुनुपर्छ कि भन्ने पिरले लखेट्यो । आमाका लागि एकसरो साड़ी पनि किन्न नसक्ने नामर्द सन्तान हुनुपर्छ कि भन्ने पिरले धकेल्यो र जहाज़ चढेर बिदेसिएँ ।

अचेल जापानका प्रत्येक गल्लिहरुमा पैसा फल्ने रुख खोज्दै भौतारिरहेको छु । उ वेला स्कुलमा हुने "धन ठुलो कि बिद्या" भन्ने वादविवाद प्रतियोगितामा "धन भन्दा बिद्या ठुलो" भन्ने पक्षमा तिमीलेनै सिकाएका वाक्याशहरु प्रयोग गर्दै दमदार प्रस्तुति दिएर प्रथम भएकै हो । धेरै पुरस्कारहरुपाएपछि तिमीलाईनै दिदाँ मेलापातको ति सारा थकानहरु क्षणभरमै भुलेर मेरो त्यो खुशीमा तिमी पनि कति खुशी भएकी थियौ है ?आमा , तर अफ़शोच ! आज ज़िन्दगीभर तिमीले दुख गरेर पढाएर मैले आर्जन गरेका सारा बिद्याका सर्टिफिकेटहरु सुटकेश भित्रको एउटा फाईलमा कोचारेर त्यहि धनका लागी बिदेशिएको छु । आमा, परदेशमा भएपनि ईन्टरनेटको जमनामा हरेक दिन घरदेशमा के कस्तो भईरहेछ नियालिरहेको छु । अचेल सुन्दैछु ति पारसनाथ यादव सर जस्ले म जस्ता हजारौ युवाहरुलाई शिक्षा दिएर बिद्वान वनाए, ईमान्दार असल बन्न सधै प्रेरित गरिररहे तर आज उनै हाम्रा गुरु म त मधेसी हुँ मलाई मधेस राज्य चाहिन्छ भन्दै ज़िन्दगीभर दुख गरेर कमाएको ईमान बेचेर आफ्नै जन्मभूमि बिरगन्जतिर फर्किए रे । जात भात केहि होईन हामी सबै सम्मान हौ भनेर सानै देखि मलाई दिक्षीत गराउने र समाजमा सबैलाई समान व्यवहार गर्न सिकाउने उनै गोपालमान काका त अचेल नेवा राज्य चाहिन्छ भन्दै काठमाण्डौतिरै आन्दोलनमा छन् रे । उ वेला हामी सगँ खेलेउ पढेउँ सगँसगै मन्दिरमा घन्ट बजाएर पुजा गरियो हामी हिन्दुका प्रत्येक चार्डहरुमा कहिल्यै नछुट्टिएको मेरो प्यारो वालसखी भिम गुरुगं अचेल क्रिष्चिएन भएर मेरै गाउँका मन्दिरहरु भत्काउदै छ रे । मेरा गाउँका गरिब युवाहरुलाइ पैसाको लोभ देखाएर धर्म परिवर्तनका लागि प्रलोभनमा पार्दैछ रे नि आमा । त्यति सुन्दर गाउँ सबै धर्म, जातीका मान्छेहरु आपसमा मिलेर बसेका मेरो देश अनि गाउँमा भाडभैलो मच्चाउने को हो आमा ? अधिकारको नाममा मान्छेका मन र मन सगँ भिड़ाउने बेईमान को हो आमा ?

तिमी त गाउँभरिकै सबैभन्दा बुढि आमा पोहोर परार जस्तै यसपालीपनि गाउँभरिका बिभीन्न जाती धर्मका मान्छेहरु तिम्रो हातको टिका लगाउन आषिश थाप्न त यसपालीपनि पक्कै आउनेछन् होला । फेरि पनि पारसनाथ सर, गोपालमान काका र त्यो भिमे जस्ता अरु पनि आएछन् भने पहिले पहिले जस्तै सन्तालने डाडा काडा ढाकुन्, राम्ररी पढेर ठुलो मान्छे बनेस, आमा बुवाको सेवा गरेस् भनेर मात्रै आषिश नदिनु है? आमा, साच्चै मेरी आमा यसपाली त सन्तानले डाडा काडा ढाक्नेगरि होईन असल सन्तान जन्माउनु भनेर आषिश दिनु है ? धेरै पढेर ठुलो बनेस् होईन असल बनेस भनेर आशिर्वाद दिनु । आफ्ना आमा बुवाको मात्रै होईन सबैका आमा वुवाको सम्मान गर्न सिकेस् भनेर आशिर्वाद दिनु अनि आफ्नो अधिकार प्राप्त गर्न खोज्दै गर्दा अरुको अधिकार पनि हनन नगर्नु है भनेर आषिश दिनु है आमा ? कतै तिम्रो आशिर्वाद लागेर सवैको मन फिर्छ कि ? मन अनि मन बिच तोड़िएका बिस्वासहरु जोडिन्थेकी आमा, परिवर्तन भएछ भने फेरि मेरो होईन हाम्रो भन्ने सबैमा सोच पलाएछ भने पक्कै तिम्रो छोरो छिट्टै देश फर्कनेछु । मलाई धेरै सम्पत्ति त चाहिएकै छैन आमा मात्रै तिम्रो दमको रोगको उपचारका लागी चाहिने केहि रक़म चाहिएको छ । मलाई सधै निरोगी र स्वच्छ वनाएकी मेरी आमालाई म पनि निरोगी वनाउन सकुँ भनेर केहि पैसा बचत गर्दैछु ।

लेख्नुपर्ने गथासाहरु त धेरै थिए यो छोटों पत्रमा धेरै लेख्नै सकिन । तिम्रो आषिश लागेर सबैको मन वदलिएछ भने म छिट्टै देश फिर्नेछु र तिमीसगँ बसेर खुशी मनाउँला है आमा अहिलेलाई बिदा ।

तिम्रो कान्छो छोरो

बिश्वबन्धु भण्डारी जापानवाट

Leave a reply

HTML Tags are not supported

Post My Comment »