गणतन्त्रमा न्यायको चक्रब्यूह

९ आश्विन २०७४

banner

जेपी गुप्ता

साल त बि.स. २०५९ हो । गते याद भएन, शुक्रवारको दिन थियो । हरेक बिहीबारको दिन अपरान्ह प्रधानमन्त्री र राजाकाबीच भेट हुने नियमितता थियो। यसको भोलि पल्टको कुरा हो। प्रधानमन्त्री शेरबहादुर देउवाको बोलाहटमा हामी केही मन्त्रीहरू बालुवाटार पुगेका थियौ। खुमबहादुर खडका, चिरंजीवि वाग्ले, बिजय गच्छदार, बलबहादुर केसी र म। पूर्णबहादुर खडका पनि आइपुग्नु भएको थियो। 

हातको औंलामा लाउनु भएको औंंठी घुमाउदै देउवाजीले अघिल्लो साँझ राजासँग भएको कुराकानी सुनाउनु भयो। भ्रष्टाचार बढेर संसदीय ब्यवस्था नै कमजोर भएकोमा राजा ज्ञानेन्द्र बडो चिन्तित छन् रे ! अख्तियार कारवाही गर्न उद्यत भएको छ रे , तपाइँ ४/५ जना  मन्त्रीहरूले राजीनामा गरिदिनु पर्यो भन्ने राजाको सुझाव छ रे।  राजाले भनेको रे -पिएम, आईदर दे रिजाईन और दे सूड प्रिपेयर टू फेस प्रिजन ।'  देउवाजी मार्फत सुनेको राजाज्ञाबाट म स्तब्ध भएको थिए ।

राजाले भनेको रे -पिएम, आईदर दे रिजाईन और दे सूड प्रिपेयर टू फेस प्रिजन ।'  देउवाजी मार्फत सुनेको राजाज्ञाबाट म स्तब्ध भएको थिए ।

हामी सबै स्तब्ध भयौं । केही सातादेखि हामी राजा र देउवाका हिमचीम बिचारी रहेका थियौं। नेपाली काँग्रेसको बिभाजनमा सहभागी भएर हामीबाट ठूलो गलती भएको आभाष हामीलाई भैरहेको थियो।  राजा-देउवाकाबीच बन्न लागेको यस गठबन्धनलाई मलजल पुर्याउनु हुन्न् भनेर हामी मध्येका केही मन्त्री मित्रहरूले राजीनामा दिन मानेन्।  चिरंजीविले त देउवालाई षडयन्त्रकारी भन्दै संसदीय ब्यवस्थानै खतम बनाउने राजाको पियादा भएको आरोप लगाए।

दिन नबित्दै चिरंजीवि वाग्लेलाई अख्तियारको पत्र आयो। यसको संकेतका साथ दरबारीया पत्रिकाहरूले पहिले नै समाचार दिएको थियो। महिनाहरू नबित्दै राजाले देउवालाई असक्षम भनी पदच्यूत गरे। हामी सबै अख्तियारको फन्दामा पर्यौ। बाग्लेजी पछि म, र खुमबहादुर जी शाही फन्दामा पारियौं। केही साथीहरू यस चक्रब्यूहबाट निस्के, राजासँग कुरा मिलाए।

बिजय गच्छदार, अर्जुन नरसिंंह केसीहरू अहिले पनि सम्मानित जीवन यापन गर्दैछन्। यो बुद्धिमानी ठिक थियो। मैले त्यस अवसरको उपयोग गर्न जानिन्। एक न एक दिन शाही सत्ताको अन्त्यसँगै मेरो यस कालरात्रीको पनि अन्त्य हुन्छ भन्ठानेको थिए। तर तेसो भएन, शाही सत्ताको समाप्ति पछि स्वयं सर्वाधिकारपति गिरिजा बाबूले पनि हामी उपर भएको शाही उपक्रमलाई बिशुद्ध भ्रष्टाचारको निराकरणकै रूपमा लिनु भयो। जल प्रपातमा बग्दाको झैं गिरिजा बाबू तिर हात हल्लाई हल्लाई उद्दारका लागि चिच्याई रहे, क्रमश: क्षीण हुदै गएको मेरो र मै जस्ताको आवाज उहाँबाट श्रवण भएन ।

टेक्ने समाउने कतै ठाँउ नभएको म नराम्रो गरी फसें । मुद्दा झेले। 'अन्त भला तो सब भला' भने झैं अपमान र अवसादका केही बर्षपछि बिशेष अदालतले मलाई सफाई दियो।  हिसाब गरेर मेरो सम्पति आय भन्दा बढी नरहेको भन्यो। राजनीतिका लागि मन मरि नै सकेको थियो। तरपनि लाग्यो। अब कमसे कम इज्जतका साथ बाँच्न त पाइएँला।

मुलुककै इतिहासमा पहिलो पटक संविधान सभाको निर्वाचन हुने भयो। अनिच्छा पूर्वक उम्मेदवारी दिए। म फेरी चुनाव जिते । सप्तरी जिल्लाबाट २०५१ र २०५६ पछि लगातार तेस्रो पटक बिजयी भएको थिए । जनताले न्याय गर्नु भएको थियो । मैले त राजनीति गर्नेको लागि अदालत वा न्यायालय भन्दापनि जनताको मतदानलाई नै न्याय ठानेको थिए।

मैले न गर्नु पर्ने काम गर्न पुगे। पुष्प कमल दहाल प्रचण्डको पहिलो गणतान्त्रिक सरकारमा मन्त्री भएँ। यो अर्को ठूलो गलती मैले गरें । यसपछि मैले नाई भन्दाभन्दै प्रधानमन्त्री प्रचण्डजीले संवैधानिक परिषदको सदस्य तोकिदिनु भयो। यो परिषदले संबैधानिक पदहरूमा नियुक्तिको सिफारिश गर्दछ । पहिलो बैठकमै सर्वोच्च अदालतको प्रधान न्यायाधीशको नियुक्तिको सवाल आयो।

प्रम प्रचण्डले मलाई खिलराज रेग्मीको नाम सिफारिश गर्न भन्नु भयो। न्यायाधीशहरूको वरियता क्रममा खिलराज तेस्रो हुनुहुन्थ्यो। पहिलोमा मीनबहादुर रायमाझी र दोस्रोमा अनुपराज शर्मा हुनुहुन्थ्यो। रामचन्द्र पौडेल संसदमा विपक्षी दलको नेता भएकोले संबैधानिक परिषदको सदस्य हुनुहुन्थ्यो।  उहाँ अनुपराज शर्माको पक्षमा रहनु भएको थियो। प्रचण्डजीले मलाई खिलराज रेग्मीसँग भेट गराउनु भयो र उहाँ पछिसम्म सहयोग गर्नु हुने भएकोले प्रधानन्यायाधीशमा सिफारिश निम्ति सहयोग माग्नु भयो। म ठूलो दबाबमा परेँ।

पहिलो दिनको बैठकमा म जानाजान अनुपस्थित भए, फलत् सो बैठकबाट निर्णय हुन सकेन। प्रचण्डजीले चित्त दुस्खाउनु भयो । मैले उहाँलाई संझाउने प्रयत्न गरे । अन्तत: मेरा हठका कारण पहिलो वरियतामा रहनु भएको मीनबहादुर रायमाझिको नाम नै सिफारिश भयो। रामचन्द्र पौडेलजी त अनुप राज शर्मालाई सिफारिश गरी बीचको बाटो रोजौं भन्नु भयो।

तर, परम्परा मिचिए पछि अनुप राज किन रु खिलराज किन नाई रु यसको हेक्का पछि मात्र उहाँलाई भयो । मीनबहादुरजी कै नाम सिफारिश भयो । त्यस बखत सर्वोच्चका केही न्यायाधिशहरूले मलाई बडो प्रशंसाका साथ धन्यवाद दिनु भएको थियो। मीन बहादुरजीको भावुक धन्यवाद म आज पनि संझिरहेको छु। अनुपराजजी रिसाउनु भएन, तर खिलराज जी रिसाएको कुरा सुन्न थालियो।

मीनबहादुरजी, अनुप राज रेग्मी र तत्पश्चात उनै खिलराज रेग्मी प्रधान न्यायाधिश हुनु भयो। रेग्मीको नजरमा मैले यस अघि प्रधानन्यायाधीश बन्नमा सहयोग नगरेको कुरा मेट्न सकेन। वास्तवमा उहाँले चाहेको बेला प्रधानन्यायाधीश बन्नु भएको भए रेग्मी नेपाल कै इतिहासमा सब भन्दा लामो समयसम्म सो पदमा रहने व्यक्ति दरिनु हुन्थ्यो । यसबाट उत्पन्न दुस्खलाई उहाँले बिर्सनु भएन।

मधेसी मोर्चा र माओवादीको सरकार गठन भयो। विशेष उद्देश्यका खातिर यो सरकार बनेको थियो। म पनि मन्त्री भएँ। मेरो दुर्भाग्य, म फेरि संबैधानिक परिषदको सदस्यमा मनोनित भए । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मलाई मनोनित गर्नु भएको थियो। प्रधानन्यायाधीश खिलराज रेग्मी पनि सदस्य हुनु हुन्थ्यो।

मेरो मुद्दा पुनरावेदनको क्रममा सर्वोच्च अदालतमा विचाराधीन थियो  न्यायाधीश तपबहादुर मगरको इजलासमा हेर्दाहेर्दैको स्तरमा थियो मेरो मुद्दा। मेरो समेतको उपस्थितिमा संवैधानिक परिषदको दुई वटा बैठक भैसकेको थियो। कुनै अन्यथा प्रश्न उठेको थिएन। मलाई सबै कुरा सहज लागेको थियो। तर, मेरो निम्ति सहज रहेन ।

बिना मौसमको बाँसुरी बजेको झै अंग्रेजी समाचार दैनिक 'दी हिमालयन टाईम्स' को मुख्य पृष्ठमा एउटा समाचार छापियो। समाचारको सार थियो -जेपी गुप्ताको भ्रष्टाचार सम्बन्धि मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ र यिनै जेपी गुप्तासंग सर्वोच्च अदालतका प्रधानन्यायाधीश संवैधानिक परिषदमा बस्नु परेको छ। यसबारे प्रधानन्यायाधीश प्रधानमन्त्रीसँग आफ्नो असंतुष्टी जनाउनु भएको छ।' मैले यस समाचारका बारेमा 'दी हिमालयन टाईम्स' मा बुझेँ, प्रघानन्यायाधीशका प्रेस सल्लाहकार थिए एक जना विमल नामका, उहाँले नै सो समाचार दिएको र छापिदिन अनुरोध गरेकोले छापिएको बताए ।

म फेरि जालझेलमा पर्न लागेको थिए। मेरो मुद्दा अदालतमा विचाराधीन रहेकै बेला यस अघि म संवैधानिक परिषदको सदस्य थिएँ। केदार गिरी प्रधानन्यायाधीश हुनुहुन्थ्यो। त्यस बखत यस्तो सवाल उठेको थिएन। उ बेला न्यायाधीश खिलराजजी ले पनि असहज मान्नु भएको थिएन। उहाँले त मलाई भेटेरै आफ्नो नामको सिफारिशका लागि अनुनय विनय गर्नु भएको थियो। यति बेला उहाँकै शहबाट यो प्रश्न उठेकोमा मलाई कुनै द्विविधा थिएन।

मैले आसन्न संकटबाट डर माने । यस बिषयमा कुनै झंझट लिन चाहिन । प्रधानन्यायाधीशको अनिच्छा हुदाँहुदै म त्यस परिषदमा बसिरहन उचित देखिन । प्रधानमन्त्री बाबुराम भट्टराईलाई भेटेर प्रधानन्यायाधीशजीको इच्छा जान्न अनुरोध गरे र भने यदि रेग्मीजी चाहनुहुन्छ भने म राजीनामा दिन्छु, कृपया सोधी दिनोस्।  दुई दिनपछि प्रमजीलाई भेटे, उहाँले रेग्मीजीको आशय भन्नु भयो। मैले संवैधानिक परिषदबाट राजीनामा दिएँ।

तपबहादुर मगर स्वच्छ छविको तथा कसैप्रति पूर्वाग्रह नराख्ने न्यायाधीश भनी चिनिनु हुन्थ्यो। उहाँकै बेञ्चमा मेरो मुद्दा चल्दै थियो। हुनुपर्ने सबै कुरो भैसकेको थियो । वादी प्रतिवादीको बहस जिकीर, प्रमाण बुझ्ने सबै भैसकेको थियो। निसु भन्छन् नि, निर्णय सुनाउने त्यति मात्र बाँकी थियो। न्यायाधीश तपबहादुरजीको अवकाश हुन धेरै बाँकी थिएन।

निर्णय सुनाउने भनी तोकिएको पेशी सोही दिनको दैनिक कज लिष्टबाट हटन थाल्यो । लगातार तीन पटक निर्णय सुनाउने पेशी स्थगित गरियो । प्रधानन्यायाधीश खिलराज रेग्मीले तपबहादुर मगरबाट फैसला सुनाउन दिनु भएन। निरीह स्वरमा फाँटबाला उप रजिष्ट्रारले मलाई भने। अन्तत: न्यायाधीश तपबहादुर मगरले फैसला सुनाउन नपाइकनै पदावधि समाप्त भै अवकाश पाउनु भयो । म पुरै न्यायिक चक्रब्यूहमा परिसकेको थिए ।

खिलराज रेग्मीजी ले मेरो मुद्दा न्यायाधीश सुशीला कार्कीको डिविजन बेञ्चमा तोक्नुभयो । सम्पूर्ण कारवाही सकिएको र निसुको तहमा रहेको मुद्दालाई अब नयाँ न्यायाधीशले कसरी अगाडि बढाउनु हुन्छ ? यस प्रश्नमा दुबै पक्षकाबीच छलफल हुन नपाउँदै न्यान्यायाधीश सुशीलाजीले शुरूदेखि नै पुन: मुद्दा हेर्ने आदेश दिनु भयो।

वास्तवमा मेरा मुद्दा सुशीलाजी ले हेर्नु उचित थिएन । मेरो र न्यायाधीश हुनु पहिले सुशीलाजीको राजनीतिक आस्थाको आधारमा, समान राजनीतिक दलमा संलग्नताको आधारमा र उहाँका पति दुर्गा सुबेदीसँगको मेरो राजनीतिक वैरभावका कारणले मैले तेसो भनेको थिए। सुशीलाजी न्यायाधीश हुनुभन्दा केही पहिले कान्तिपुर दैनिकमा एक लेख प्रकाशित गराउनु भएको थियो।

राधेश्याम अधिकारीले कयौं मानिसका सम्मुख मलाई भन्नु भयो-सुशीलाजी ले किमार्थ पनि तपाईलाई न्याय गर्नु हुन्न। तपाइँलाई हराउनका निम्ति नै यो मुद्दा सुशीलाजीलाई जिम्मा दिइएको हो।' 

भ्रष्टाचारका मुद्दा लगाइएकाहरूको बडो गैर न्यायिक आलोचना गरिएको थियो, यहाँसम्म कि यस्ता मानिसहरूको पक्षमा कुनै वकिलले बहस पैरवी समेत गर्न नहुने र छोटो प्रकृयाबाट फैसला गरी जेल पठाउनु पर्ने लेख्नु भयो। यस्तो गैर न्यायिक चरित्रको अभिव्यक्ति दिने व्यक्ति स्वयं न्यायाधीश भएर सोही मुद्दा हेर्नु पर्दा 'प्रिजीड्यूस' हुन्छ। यसर्थ, सुशीलाजी ले यो मुद्दा हेर्नु हुन्न भन्ने मेरो अनुरोध सहितको जिकीर थियो।

मुद्दा किन न हेर्नु रु उहाँले भन्नु भयोस म 'प्रतिवादीसंग उहाँको हाडनाता छैन । फेरि जय प्रकाशले भनेर के नै हुन्छ र? यो मुद्दाको फैसला मैले नै गर्नु पर्ने हुन्छ।' मसँग कुनै उपाय थिएन। शीर निहुँराएर मैलै उहाँलाई न्यायकर्ता स्वीकार गरे। नागरिक दैनिक पत्रिकाको बार्षिकोत्सव थियो। सोल्टी होटेलको बडो ठूलो कार्यक्रममा संचारमन्त्री भएकोले पनि होला, म पनि आमन्त्रित थिए। मेरो मुद्दामा शुरू देखिनै जोडिनु भएका बरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले कयौं मानिसका सम्मुख मलाई भन्नु भयो-सुशीलाजी ले किमार्थ पनि तपाईलाई न्याय गर्नु हुन्न। तपाइँलाई हराउनका निम्ति नै यो मुद्दा सुशीलाजीलाई जिम्मा दिइएको हो।' 

तर, सुशीलाको घोर पूर्वाग्रहको घेराबाट मेरो मुद्दालाई बहिर्याउने कुनै उपाय म सँग थिएन । जे आशंका थियो, सोही भयो । मैले बिशेष अदालतबाट सफाई पाएको मुद्दालाई उहाँले उल्ट्याई दिनु भयो । कुनै पनि बहालबाला मन्त्रीलाई जेल पुर्याउने श्रेय उहाँले लिनु भयो। त्यस दिन विवेककी देवी भनी अपेक्षित सुशीलाजी प्रतिशोध की चण्डी बन्नु भयो।

भ्रष्टाचारको मुद्दामा चौघ महिना जेल बसे। मेरो अमिल्दो र विलासी जीवन शैली छ, आय भन्दा बढी अकूत सम्पति छ भनी ६८ लाख रूपियाको बिगो कायम गरिएको थियो । अदालतले खडा गरेको सम्पति मूल्यांकनको मापदण्ड अनुसार मेरो जायजेथा मध्ये ६८ लाख रू. को स्रोत मैले देखाउन सकिन।

यही रकम अकूत सम्पति भनिएको हो। बि.स. २०५९ पछि अख्तियारले म उपर १३ वटा मुद्दामा छानबिन गरेको थियो। कुनैमा मुद्दा चलेन। अनि कान्तिपुर टिभीलाई इजाजत दिएको बिषयमा मुद्दा चलाए। यसमा सफाई पाउने देखिएपछि अन्तिममा अकूत सम्पतिको मुद्दा चलाइयो । सम्पतिको स्रोत देखाउने मुद्दा अख्तियार र अदालतको ब्रम्हास्त्र हो।

अदालतले चाह्यो भने कोही पनि यसबाट जोगिन सक्दैन । यस मुद्दामा सजाय पाएपछि दुष्प्रभावमा त छँदै थिए । तर, एउटा आश थियो- कुनै दिन जनताका बीच जान पाइएला । जनताको अदालतबाट न्याय पाइएला । तर, अब त्यसो नहुने भो । हालै संसदबाट पारित कानून अनुसार म सदाका लागि कुनै पनि तहको निर्वाचन लडन अयोग्य भएको छु । राजनीतिक दल खोल्ने र दलको सदस्य हुने योग्यता पनि रहेन । राजनीति मेरो पेशा थिएन, तथापि म अब निर्वाचित निकायका मार्फत सेवा पनि गर्न नसक्ने भएको छु । यसबाट म मौन र निस्शब्द भएको छु ।  अपवाद बाहेक राजनीति कसैको प्रारब्धको रूपमा चिरन्तर रहन सक्दैन ।

जयप्रकाश गुप्ताकाे फेसबुकबाट साभार

Leave a reply

HTML Tags are not supported

Post My Comment »