चङ्गाको विश्व कीर्तिमान

१० आश्विन २०७४

banner

चङ्गाको विश्व कीर्तिमान
- त्रिचन्द्र प्रतीक्षा
दशैँको आगमन सँगै आकाशमा रङ्गीचङ्गी साना–ठूला चङ्गाहरु उडिरहेका देखिन्छन्। एकछिन भएपनि आकाशमा उडेको चङ्गा हेर्दा कसलाई रमाइलो नलाग्ला रु  बालक, युवा र वृद्धहरुसमेत चङ्गा उडाएर मनोरञ्जन लिने गर्दछन्। एकले अर्काको चङ्गालाई 'चेट' गर्ने होडबाजी निकै मनोरञ्जन र रोमाञ्चक हुन्छ, चङ्गा उडाउनु पनि एउटा कला मानिन्छ। नेपालमा मात्र होइन विश्वका थुप्रै देशमा चङ्गा उडाउने गरिन्छ । 
चङ्गाको शाब्दिक अर्थ खोज्न शब्दकोष पल्टाउने हो भने मनमा उड्ने रहर पलाउन थाल्छ। चङ्गाको अर्थ 'कागज–कपडाको चारकुने टुक्रामा घुमाउरो पाराले एउटा र ठाडो एउटा सिन्के काम्रो हाली बनाइएको र धागो गाँसेर हावामा उडाइने खेलौना वा खेलको साधन वा खेल ।' उल्लेख गरिएको पाइन्छ। शारीरिक तन्दुरुस्तीको निरोगी नाचलाई चङ्गाले नै प्रदर्शन गर्न सक्छ। स्वच्छ वातावरणको मीठो स्वाद चङ्गाले नै प्रदान गर्न सक्छ। स्वतन्त्र मनको वास्तविक अभिव्यक्ति चङ्गाको आकाशमै खुल्दछ। नेपालभाषा (नेवारी) मा 'भुटुमाली', हिन्दीमा 'गुड्डी पतंग' भनिने चङ्गाको अङ्ग्रेजी नामचाहिँ 'काइट' नाम गरेको चराबाट नामाकरण गरिएको मानिन्छ। 

गिनिज बुक वल्र्ड रेकर्डभित्र चङ्गा
सन् १८६८ नोभेम्बर २१ का दिन अमेरिकी नागरिक फिलिप आर. र जय पी. कुञ्ज मिलेर ६,८६० देखि ८,५३० मिटरमाथिसम्म चङ्गा उडाएका थिए। अमेरिकी हेनरी हेल्थले स्वीट्जरल्याण्डका ए.ई. सँग मिलेर सन् १८९८ फरबरी २८ मा १२,४७१ फिटमाथि चङ्गा पुर्याएर विश्व कीर्तिमान कायम गरे। विश्व कीर्तिमान राख्ने क्रममा सबैभन्दा ठूलो चङ्गा बढी समयसम्म उडाएर नेदरल्याण्डका हरमन वानडेन ब्रोएपक र जोन पाइटर क्यूएलले सन् १९७८ अगस्त ८ तारिखका दिन कीर्तिमान खडा गरे ।

उनीहरुले ८५२ वर्गफिट क्षेत्रफलको चङ्गा २२ मिनेटसम्म उडाएका थिए । सन् २००० मा अमेरिकाका रिचर्ड सिनर्जीले पुरानो हेनरी हेल्थको विश्व रेकर्डलाई तोडेको छ। रिचर्ड सिनर्जीले सन् २००० अगष्ट १२ का दिन २७० वर्ग फिटको नाइलनको बनेको आधुनिक चङ्गालाई १३ हजार ६ सय नौ फिट माथि सम्म उडाएर नयाँ विश्व कीर्तिमान कायम गरेका छन्।

यस्तै सबैभन्दा ठूलो चङ्गा १०,९६८.४ वर्गफिट क्षेत्रफलको सो चङ्गा सन् २००५ फेब्रुअरी १५ का दिन अब्दुल रहमना अल फारसी र फारिस अल फारसीले बनाएको उक्त चङ्गा कुवेत सिटी, कुवेतमा त्यहाँका जनताले उडाएका छन्। यस्तै धेरै टाढासम्म चङ्गा उडाएर विश्व कीर्तिमान कायम गर्ने व्यक्ति हुन् मोरक्कोका क्रिष्टी जोनास् हुन्, उनले जुलाई १५, २००७ मा मोरक्कको लान्जारोटे देखि टारफायासम्म करिब १४९ माइल अर्थात् २३९ कि.मी. र ७४१ मीटर चङ्गा उडाएर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखेको छन्। 

सन् १९२६ मा जापानको नारुतो शहरमा संसारकै सबैभन्दा ठूलो चङ्गा बनाइएको थियो। एक सय पैसट्ठी वर्गमिटरको उक्त चङ्गा बनाउन करिब तीन हजार एक सय ताउ कागज जोडेर बनाइएको सो चङ्गाको वजन २५ सय किलोग्राम थियो। त्यो चङ्गाको नाम ’वानवान डाको’ अर्थात् ’विशाल चङ्गा’ राखिएको थियो। उक्त चङ्गा नयाँ वर्षका लागि सयौं जापानी युवाहरु मिलेर उडाएका थिए। 
सबैभन्दा धेरै चङ्गा उडाउने व्यक्ति जापानका शादाओ हरादा हुन्। उनले एकै पटक ११ हजार २ सय ८४ चैरासी वटा चङ्गाहरु लस्करै एउटै डोरीमार्फत् उडाएर अनौठो कीर्तिमान कायम गरेका थिए। उनले यो चङ्गा सन् १९९० अक्टुबर १८ तारिखका दिन उडाएका थिए। यस रेकर्डलाई जापानले नै तोडेका छन्। सन् १९९८ सेप्टेम्बर २० का दिन जापानको इनामी स्कूलका विद्यार्थीहरुले तोयोहासी सहरमा १५ हजार ५ सय पचासी वटा चङ्गाहरु लस्करै एउटै डोरीमार्फत् उडाएर पुरानो रकर्डलाई तोडेर नयाँ रेकर्ड कायम गरे।  

सबैभन्दा गह्रौं वस्तु उचाल्ने चङ्गा अमेरिकी नागरिक जी. विलियम दिरेलले उडाएको चङ्गालाई मानिन्छ। उनको चङ्गाले सन् १९८४ को सेप्टेम्बर २३ मा ३३०.३१ किलोग्राम वजन उचालेको थियो भने सबैभन्दा लामो समयसम्म चङ्गा उडाएर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम अंकित गर्ने वासिङ्टन अमेरिकास्थित एडमन्ड्स कम्युनिस्टी कलेजको एउटा टोली हो। उक्त टोलीले सन् १९९२ अगस्त २१ देखि २९ सम्म (आठ दिनसम्म) चङ्गा उडाएको थियो। जसको कुल समय एक सय असी घण्टा सत्र मिनेट थियो।
सबैभन्दा धेरै व्यक्तिहरु मिलेर एकैपल्ट चङ्गा उडाएर रेकर्ड हालै ३१ जुलाई २००९ मा कीर्तिमान कायम गरेका छन्। संयुक्त राष्ट्र संघको आयोजनामा बेरुतको लाहिया मेडिटेरेनियन तटमा प्यालेप्टाइनका ११९ स्कूलका हजारौं बालबालिकाहरु जम्मा भएको थियो। सो तटमा ६ हजार जना बालबालिकाहरुले एकैपटक मिलेर चङ्गा उडाएर विश्व कीर्तिमान कायम गरे, त्यो भन्दा पहिले जर्मनीका नौ सय सट्साठी बालबालिकाहरुले बनाएको रेकर्डलाई समेत तोडेको थियो।

यस्तै सबैभन्दा धेरै व्यक्तिहरुले छुट्टाछुट्टै चङ्गाहरु एकैपल्ट एकै समयमा उडाएर विश्व कीर्तिमान कायम गरेका छन्। गिनिज वर्ल्ड रेकर्डका निर्णायक क्रिस्टीयन टफलको उपस्थितिमा सन् २००९ अगस्त १० का दिन जर्मनीको सेन्ट पिटर समुद्री किनारमा करिब सयौं व्यक्तिहरु चङ्गा उडाएर कीर्तिमान कायम गर्न जम्मा भएका थिए। समुद्री तटलाई २० वटा स्थानमा बाँडिएको थियो भने हरेक स्थानमा ७० जना मानिसहरु अटाउन सक्थे। हरेक स्थानमा एकजना स्वयंसेवक पनि थियो। जसले सहभागिहरुले चङ्गा उडाएको छ या छैन भनेर जाँच्ने थियो। यहि क्रममा शुरु नहुँदै चङ्गा उडाउने करिब एक सय भन्दा बढी व्यक्तिहरुलाई अयोग्य ठहरियो भने बाँकी सात सय दश जनालाई सहभागीले एकैपटक चङ्गा उडाएर आधिकारीक रुपमा रेकर्ड राख्न सफल भए। 

अमेरिकी हेनरी हेल्थले स्वीट्जरल्याण्डका ए.ई. सँग मिलेर सन् १८९८ फरवरी २८ मा १२, ४७१ फिटमाथि चङ्गा उडाएर बनाएको कीर्तिमानलाई सन् २०१४ सेप्टेम्बर २३ का दिन अष्ट्रेलियाका रोवर्ट मौरद्वारा कोवो न्यू साउथवेल्समा १६,००९ फिट उचाईंसम्म चङ्गा उडाएर पुरोनो रेकर्ड तोडेका छन्।

सवैभन्दा लामो ६ हजार लामो ड्रागन आकृतिको चङ्गा उडाएर रेकर्ड कायम गरेका छन्। एक लाख युआनको लागतमा दुई वर्ष लगाएर बनाएको उक्त चङ्गा चीनको चोङ्गकिङ्ग अन्तर्राष्ट्रिय पितृ चङ्गा महोत्सवमा ‘‘चीनको सपना’’ नाम दिइएको उक्त चङ्गालाई गिनिज बुकमा रेकर्ड राख्न सफल भएको छ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »