एमाले–माओवादी–नयाँ शक्तिको मेलमिलापप्रति बैद्य आक्रामक

१८ आश्विन २०७४

banner

काठमाडौं। एमाले–माओवादी–नयाँ शक्तिको मेलमिलापप्रति नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्य किरणले निकै आक्रामक प्रतिक्रिया दिएका छन् । उनले यो गठबन्धन सबै बामपन्थी विरुद्ध गरिएको दक्षिणपन्थी प्रतिक्रियावादी गठबन्धन भएको बताएका छन् । पार्टीले आज आधिकारिक रुपमा प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरिएको हो । 
‘यो गठबन्धनलाई जसरी ‘कम्युनिष्ट एकता’ वा ‘वामपन्थी एकता’ भन्ने प्रचार गरिएको छ, त्यो बिल्कुल गलत हो’ विज्ञप्तिमा भनिएको छ ‘दक्षिणपन्थी बाटो हुँदै प्रतिकृयावादी कित्तामा गैसकेका यी शक्तिहरुको एकता वास्तवमा एउटा दक्षिणपन्थी प्रतिकृयावादी गठबन्धन बनाउने प्रयास हो ।’ विज्ञप्तिमा वास्तविक रुपमा यो देश, जनता, सच्चा कम्युनिष्ट पार्टी र सच्चा वामपन्थीहरुका विरुद्धको गठबन्धन हो भनिएको छ । 
विज्ञप्तिमा अगाडि भनिएको छ – यो एकताले एमालेको कथित देशभक्तिको र माओवादी केन्द्रको माओवादी जनयुद्धको आफू कथित उत्तराधिकारी भएको भन्ने मकुण्डोलाई उतारिदिएको छ र उनीहरुको सक्कली चरित्र उदांग भएको छ । यसबाट सच्चा देशभक्त र प्रगतिशीलहरुका बीचमा व्यापक संयुक्त मोर्चा र सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुका बीचमा पार्टी एकताका पक्षमा ध्रुवीकरण पैदा हुने वातावरण सिर्जना भएको छ । यस स्थितिमा यो दक्षिणपन्थी र प्रतिकृयावादी गठबन्धनको भण्डाफोर गर्दै देशभक्त र क्रान्तिकारी शक्तिका वीचमा व्यापक संयुक्त मोर्चा र सच्चा कम्युनिष्टहरुका वीचमा पार्टी एकता हासिल गर्नका लागि हामी संबन्धित सवै पक्षसित जोडदार आह्वान गर्दछौं ।’
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »