यसपालिको दशै 

२१ आश्विन २०७४

कतारको फ्यक्ट्रिमा
काम गर्दागर्दै 
एकछिन ब्रेकमा 
पसिना पुछ्दै   
सोच मग्न धने 
आँफैसँग सम्वादरत् छ-   

"दशै मनाउन पैसा पठाईदिएको थिएँ 
यसपालिको दशै 
पोहोरको भन्दा रमाईलो भयो होला
 
पोहोर उनलाई 
नयाँ साडी किनिदिन सकेको थिईँन
भन्दै थिई -पल्लो घरकी कान्छी 
महिनै पिछे 
नयाँ नयाँ साडी लाउँछे 
हातभरी सुनको चुरा हुन्छ"

यतिकैमा 
दुई दिन सम्म बोलेकी थिईन
कसो कसो मनाएको थिएँ  
 
छोराले 'ट्याब' किन्दिनु भन्थ्यो 
अब यसपाली फर्स्ट भईस भने किन्दिउँला भनेर 
भुल्याएको थिएँ" 

यसरी उसले धेरै कर्तव्यहरु टार्थ्यो 
धेरै रहरहरु थाँती राख्थ्यो  
कति सम्बेदनाहरुलाई गुटुमुटु पारेर 
मनको कतै कुनामा मिल्काउँथ्यो 

औंलामा गन्दै पनि थियो धने -
शायद हिसाब किताब गर्दै 
जिन्दगी र सपनाहरुको
उसले दुई जोड दुई चार भनेर 
मिलाउन सकिरहेको थिएन 
 
तै पनि आँफैलाई भन्दै थियो-       
“जे होस् यसपालिको  दशै………”
उ टाढा थियो तर  
खुशी थियो एक किसिमले
हिजो कुरा गर्दा  
उ दंग  देखिन्थी भाईबरमा
एउटा सिक्री देखिन्थ्यो गलामा झुन्डेको  
छोरा पछाडि देखिन्थ्यो 'ट्याब चलाऊदै"

Leave a reply

HTML Tags are not supported

Post My Comment »