सत्र करोडको लगानीमा रिसोर्ट

२४ आश्विन २०७४

banner

मुस्ताङ। प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा आउने धार्मिक पर्यटकलाई लक्षित गर्दै १७ करोडको लगानीमा अत्याधुनिक रिसोर्ट बन्ने भएको छ। 

गैरआवासीय नेपाली संघ (एनआरएन)का अमेरिका क्षेत्रीय संयोजक सोनाम लामाको लगानीमा निर्माणधिन उक्त रिसोर्ट अबको एक वर्षभित्र सञ्चालनमा आउनेछ। रिसोर्टको मुख्य भवन निर्माण भइसकेको छ। रंगरोगन, कटेज, स्याउबारी, विभिन्न थरिका बिरुवाको बगैँचा र पार्किङस्थल निर्माण बाँकी छ। 

तीन वर्षअघि निर्माण थालिएको उक्त रिसोर्टको २० कोठा भएको भवन निर्माण भएको लामाले जानकारी दिए। स्थानीयवासीसँग करिब ८० रोपनी जग्गा ३० वर्षका लागि भाडामा लिएर शुरु गरेको सो रिसोर्ट दुई चरणमा बन्नेछ। पहिलोचरणको काम ८० प्रतिशत सकिएको छ, भने दोस्रोचरणको काम रिसोर्ट सञ्चालनमा आएपछि शुरु हुनेछ। 

रिसोर्टमा अत्याधुनिक सुविधाका साथमा रक क्लाइबिङको व्यवस्था हुनेछ। वरपर स्याउबारी समेत रहनेछ। पहिलोचरणमा रु १० करोड र दोस्रो चरणमा थप रु सात करोड लगानी हुनेछ। मुक्तिनाथमा आन्तरिकसँगै भारतीय र तेस्रो मुलुकका पर्यटक उल्लेख्य संख्यामा आउन थालेकाले त्यसैलाई मध्यनजर गरेर लामाले रिसोर्ट सञ्चालनमा ल्याउन लागेका हुन्।

लामाले रिसोर्टमा रोजगारका लागि स्थानीयवासीलाई नै पहिलो प्राथामिकता दिने बताए। बेनी–जोमसोम–कागबेनी र मुक्तिनाथ सडक सञ्चालनमा आएसँगै मुक्तिनाथ पुग्ने आन्तरिक र भारतीय पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ। राउण्ड अन्नपूणअन्तर्गत पर्ने मुक्तिनाथमा तेस्रो मुलुकका पर्यटकको आवागमन पनि उल्लेख्य छ। हिन्दू र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र मानिने मुक्तिनाथमा लामाले नै ३४ फिट अग्लो बुद्धको मूर्ति प्रतिस्थापन गरेका हुन्। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »