श्रम ऐन कार्यान्वयन गर्न सांसदहरुको जोड 

२५ आश्विन २०७४

banner

काठमाडौं। सांसदहरुले श्रम ऐन कार्यान्वयन गर्न सरकार गम्भिर नभएकोमा आपत्ति जनाएका छन्।  व्यवस्थापिका संसद अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बुधबारको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद विनोद श्रेष्ठले सरकार आफैं श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन बाधक बनिरहेको आरोप लगाए।

उनले सरकारले श्रमिकहरुलाई न्यूनतम ज्याला नदिएकै कारण श्रम ऐन अनुसार श्रमिकहरुको पारिश्रमिक दिने काम कार्यान्वयनमा आउन नसकेको जनाए। 

सत्तारुढ नेपाली काँग्रेसका सांसद पुरु आचार्यले श्रमिकहरुको न्यूनतम ज्याला उपलब्ध गराउन सबै उद्योगी, व्यवसायीहरुलाई सचेत गराए। उनले औद्योगिक वातावरणलाई शान्त बनाउने काममा निजी क्षेत्रका व्यवसायीहरुको भूमिका महत्वपूर्ण हुने पनि उल्लेख गरे। 

नेकपा माओवादी केन्द्रका सांसद श्याम श्रेष्ठले श्रमिकहरुलाई पर्याप्त ज्याला दिने वातावरण बनाउन सरकारसँग माग गरे। उनले श्रमिकहरुको आधारभूत समस्या समाधान नभई मुलुकमा औद्योगिक क्षेत्रको विकासका लागि आवश्यक वातावरण समेत बन्न नसक्नेमा सरकार र निजी क्षेत्र सचेत हुनुपर्नेमा पनि जोड दिए। 

सांसदहरुले औद्योगिक वातावरणमा खलल बनाउने काम श्रमिकहरुलाई न्यूनतम ज्याला नदिएकै कारण हुने गरेकोतर्फ पनि सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण गराएका थिए। 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »