एनआरएनए अध्यक्षमा जमुना गुरुङको उम्मेद्वारी घोषणा

२६ आश्विन २०७४

banner

काठमाडाैं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा आईसीसी सदस्य जमुना गुरुङले उम्मेदवारी दिने घोषणा गरेकी छन्। बिहीबार दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गुरुङले औपचारिकरुपमा उम्मेदवारी घोषणा गरेकी हुन्।

उनी वर्तमान अध्यक्ष शेष घलेकी पत्नी हुन्। गुरुङले अध्यक्षमा उम्मेदवारी दिने अन्तिम समयमा तय गरेकी हुन्। एनआरएनए अध्यक्षमा यसअघि नै वर्तमान उपाध्यक्ष भवन भट्ट र सल्लाहकार टीबी कार्कीले उम्मेदवारी घोषणा गरेका छन्। गुरुङको उम्मेदवारी घोषणाले भट्टलाई सर्वसम्मत बनाउने तयारीमा धक्का लागेको छ।गुरुङले गैर आवासीय नेपालीको माग र अपेक्षा पूरा गर्न आफूले अध्यक्षमा उम्मेद्वारी दिएको जनाइन्। गैर आवासीय नेपाली संघका मुख्य सरोकारवालाहरुको विश्वास र अपेक्षालाई निरन्तरता दिने उनले उल्लेख गरिन्।

उम्मेद्वारीको घोषणा गर्दै गुरुङले महिला सशक्तिकरण र सहभागितालाई संस्थाको मेरुदण्डका रुपमा स्थापित गर्ने, गैरआवासीय नेपाल संघलाई समय सापेक्ष परिवर्तन र विकास गर्दै सामुहिक नेतृत्वको अवधारणा अन्र्तगत चुस्त र सक्षम नेतृत्व प्रदान गर्ने दाबी गरिन्।

उनलले गैरआवासीय नेपाली संघलाई आर्थिक, सामाजिक, सांस्कृतिक र कुटनीतिक स्तरमा अझ पारदर्शीरुपमा विकास गर्ने, एनआरएनएले निर्माण गरिरहेको ठूला परियोजनालाई समयसिमाभित्र सम्पन्न गराउने, संस्थाको मार्गदर्शक दृष्टिकोण ‘भिजन २०२० एण्ड बियोण्ड’ लाई सफल कार्यान्वयन गर्नेलगायतका एजेण्डा अगाडि सारेकी छन्। 

आउँदो शनिबार सुरु हुने सातौँ विश्व सम्मेलनबाट एनआरएनमा नयाँ नेतृत्व चयन हुँदैछ। उपाध्यक्षमा अमेरिकाका सोनाम लामा, खगेन्द जिसी, बेलायतका कुल आचार्य, जापानका चिरञ्जिवी थापा लगायत उम्मेद्वार छन्। महिला उपाध्यक्षमा अष्ट्रेलियाकी रञ्जु वाग्ले र रुसबाट सपिला राजभण्डारीले उम्मेद्वारी दिने भएकी छिन्।   महासचिवमा हङकङका त्रिलोक गुरुङ र रुसका बद्री केसी उम्मेद्वार छन्।

Leave a reply

HTML Tags are not supported

Post My Comment »