उम्मेद्वार तय गर्न कांग्रेसको आन्तरिक छलफल तिव्र

२६ आश्विन २०७४

banner

काठमाडौं। नेपाली काँग्रेसले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार तय गर्न आन्तरिक छलफललाई तीव्रता दिएको छ। 
पार्टीको बिहीबार बसेको पार्टी संसदीय समिति बैठकले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार तय गर्ने कामलाई तीव्रता दिएको हो।

दुवै निर्वाचनको उम्मेदवार तय गर्न पार्टी भित्रको आन्तरिक छलफललाई तीव्रता दिइएको नेता अर्जुननरसिंह केसीले जानकारी दिए। बैठकमा उम्मेदवार दिने विषयमा पार्टीका प्रत्यक्षतर्फका सांसदहरुको धारणा बुझ्ने कामलाई पनि जारी राखिएको छ।

काँग्रेसले २८ गते भित्र समानुपातिकतर्फका उम्मेदवारको बन्द सूचि टुंगो लगाउने तयारी गरिरहेको नेता केसीले बताए। आगामी आइतबार दलहरुले समानुपातिक तर्फका उम्मेदवारको बन्द सूचि निर्वाचन आयोगमा पेश गर्नुपर्नेछ। 

काँग्रेसले संविधानसभा निर्वाचन र स्थानीय तह निर्वाचनको मत परिणामलाई आधार बनाएर लोकतान्त्रिक गठबन्धनमा आवद्ध दलहरुसँग निर्वाचन क्षेत्र बाँडफाँड गर्ने तयारी गरेको छ। संविधानसभा र स्थानीय तह निर्वाचनमा प्राप्त मत परिणामको आधारमा गठबन्धनमा आवद्ध दलहरुसँग निर्वाचन क्षेत्र बाँडफाँड गरेर उम्मेदवार तय गर्ने मापदण्ड तय गरिएको नेता केसीले जानकारी दिए। 

आगामी मंसीर १० र २१ गते प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन हुँदैछ। निर्वाचनका लागि काँग्रेसले चुनावी तालमेल गर्न ६ दल लोकतान्त्रिक गठबन्धन नै बनाएको छ। तर अन्य दलले आफ्नो हैसियत भन्दा धेरै सिट दाबी गरेपनि व्यवस्थान गर्न हम्मे हम्मे परेको छ।

एमाले, माओवादी केन्द्र र नयाँबीच चुनावी तालमेल गर्दै बाम एकता गर्ने घोषणा गरेपछि कांग्रेसले पनि प्रजातान्त्रिक गठबन्धन बनाउने तयारी गरेको छ। त्यसकालागि ६ दलका प्रनिधिधि सहभागी रहेको कार्यदल बनाएपनि सिटबाँडमा कुरा मिल्न नसक्दा गठन हुने भनिएको गठबन्धन अन्योलमा परेको छ।  
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »