तीन दलको बैठकमा प्रधानमन्त्रीले भने–निर्वाचन सर्दैन ढुक्क हुनुस्

२६ आश्विन २०७४

banner

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहीबार प्रमुख तीन दलको बैठक बस्दै । तस्बिरः रासस

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति नसर्ने स्पष्ट पारेका छन्। काँग्रेस सभापति समेत रहेका भएका प्रधानमन्त्री देउवाले प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त बैठक आयोजना गरी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुनेमा शंका नगर्न आग्रह गरे। 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार अपरान्ह बसेको बैठकमा प्रधानमन्त्री देउवाले निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन सरकार प्रतिवद्ध रहेको बताएका थिए। निर्वाचनको मिति नसार्ने प्रतिवद्धता प्रधानमन्त्री देउवाले जनाएको एमाले वरिष्ठ नेता माधवकुमार नेपालले जानकारी दिए।

बैठकले राष्ट्रिय सभा निर्वाचन विधेयकमा सहमति जुटाउने जिम्मेवारी प्रमुख तीन दलका शिर्ष नेतृत्वलाई दिएको छ। राष्ट्रिय सभाको निर्वाचन एकल संक्रमणको आधारमा तय गर्नुपर्ने सरकारको प्रस्तावमा प्रमुख प्रतिपक्ष एमालेको असहमति छ।

सोही विषयमा सहमति जुटाउने जिम्मेवारी काँग्रेस सभापति देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई दिने निर्णय गरिएको काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए। राष्ट्रिय सभाको निर्वाचन सम्बन्धि विधेयक संसदमा विचाराधीन छ।

आगामी माघ ७ गते भित्र सबै तहको निर्वाचन सम्पन्न गरिसक्नु पर्ने संवैधानिक बाध्यता छ। सरकारले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक कानुन निर्माण गरेपनि राष्ट्रिय सभा निर्वाचनसम्बन्धि कानुन बनाउने विषयमा भने दलीय सहमति जुटाउन सकेको छैन्।

Leave a reply

HTML Tags are not supported

Post My Comment »