शरदकुमार गौचनको आर्यघाटमा अन्त्येष्टि 

२६ आश्विन २०७४

banner

काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

सोमबार अपराह्न नयाँ बानेश्वरस्थित घरबाट निस्कने क्रममा अज्ञात समूहको गोली लागेर निधन भएका गौचनको थकाली परम्परानुसार अन्त्येष्टि गरिएको हो। उनको पार्थिव शरीरलाई छोरा संस्कारले दागबत्ती दिएको स्व गौचनका काका ओमकारले जानकारी दिए। 

गौचनको हत्यारालाई चाँडो पत्ता लगाई कारबाही गर्नुपर्ने, उनलाई शहीद घोषणा गर्नुपर्ने र व्यवसायीको सुरक्षा दिनुपर्नेलगायत माग राखी महासंघ र परिवारले उनको शव बुझ्न नमानेकामा गृहमन्त्री जनार्दन शर्माले शहीद घोषणा र व्यवसायीलाई सुरक्षा दिइने प्रतिबद्धता व्यक्त गरेका थिए।

गौचनको शव बिहान १० देखि अपराह्न १ बजेसम्म महासंघको कार्यालय अनामनगर र अपराह्न २ देखि ४ बजेसम्म थकाली सेवा समाजको कार्यालय बालाजुमा श्रद्धाञ्जलिका लागि राखिएको थियो। उनको शवमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जलि दिनुभएको थियो। यस्तै गृहमन्त्री शर्मा, वन तथा भूसंरक्षणमन्त्री विक्रमबहादुर पाण्डे, काँग्रेस नेता प्रकाशमान सिंह, नेकपा(माओवादी केन्द्र) की नेत्री पम्फा भुसाललगायतले उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए।

महासंघदेखि थकाली सेवा समाजको कार्यालय लैजाँदा शवयात्रा निकालिएको थियो । त्यस्तै थकाली सेवा समाजको कार्यालयबाट पशुपतिसम्म लैजाँदा ५०० मोटरसाइकलको यात्रा निकालिएको थियो। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »