‘गङ्गेश्वरी जागरण पुरस्कार’ दाहाल यज्ञनिधिलाई

२७ आश्विन २०७४

banner

काठमाडौं।   ‘गङ्गेश्वरी प्रतिष्ठान’द्वारा प्रतिवर्ष प्रदानगर्ने गरी स्थापनागरिएको ‘गङ्गेश्वरी जागरण पुरस्कार, २०७४’ पहिलोपटक वरिष्ठ सञ्चारकर्मी तथा साहित्यकार दाहाल यज्ञनिधिलाई प्रदान गरिने भएको छ।

रु.१०,००० राशी रहेको यो पुरस्कार समाजमा रहेका जातीय, धार्मिक, लैङ्गिकतथा कुसंस्कार–कुरीतिजन्य अन्धविश्वास र विभेदहरूका विरुद्ध अविच्छिन्न रुपमा निर्भीकतापूर्वक जागरण अभियान चलाउँदै विशिष्ट योगदान पु¥याए बापत दाहाललाई प्रदानगर्न लागिएको हो। 

यो पुरस्कार सामाजिक रुपान्तरणका लागि सांस्कृतिक जागरणका पक्षमा विशिष्ट योगदान पु¥याउने व्यक्तितथा संस्थालाई प्रदानगर्ने उद्दश्यले स्थापना गरिएको संस्थापक रामदेव पाण्डेले जानकारी दिएका छन्। 

साहित्यकार डा.रामप्रसाद ज्ञवाली संयोजक तथा साहित्यकार डा. देवी नेपाल, साहित्यकार धीरकुमार श्रेष्ठ, अधिवक्ता कमलप्रसाद पोखरेल र बाल साहित्यकार आनन्द तिवारी सदस्य रहेको प्रतिभा छनोट समितिले यस वर्षकालागि दाहाल यज्ञनिधिलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

दाहाल यज्ञनिधिले प्रजातन्त्र कालमामात्र नभई पञ्चायतकालमा सरकारी सेवामा रहेको समयमा समेत जनविरोधी सत्ता र भेदभाव मुखी तमाम कुरुपताका विरुद्ध रेडियो सञ्चार तथा साहित्यिक अभिव्यक्तिका माध्यमबाट साहसपूर्ण जागरणमुखी अभियान चलाएको र अहिले खस्कँदो स्वास्थ्यको स्थितिमा पनि त्यो अभियान नछाडेको हुँदा यसपटकका लागि उनलाई सर्वसम्मतिले छनोट गरिएको पुरस्कार संयोजन समितिका संयोजक डा.रामप्रसाद ज्ञवालीले बताए।

अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका, ठूलापोखरा निवासी समाजसेवी दम्पती गङ्गादेवी पाण्डे र इश्वरीप्रसाद पाण्डेको सम्झनामा स्थापित गङ्गेश्वरी प्रतिष्ठान समाज सेवाका साथै समाजमा प्रचलित कुप्रथा, कुरीति, कुसंस्कार र अन्धविश्वासका विरुद्धको अभिायानमा समर्पित संस्था हो।

समाज सेवाका क्षेत्रमा विभिन्न कार्यहरू गर्नुका साथै समाजबाट अन्धविश्वासजन्य कुप्रथा, कुसंस्कार र कुरीतिका विरुद्ध वैचारिक, व्यावहारिक एवं सिर्जनात्मक योगदान पु¥याउने व्यक्ति अथवा संस्थालाई प्रोत्साहित, सम्मानित र पुरस्कृत गर्ने उद्देश्यबोकेको यस संस्थाले ‘सामाजिक रूपान्तरणका लागि सांस्कृतिकजागरण अभियान’ धारणालाई आत्मसातगर्दै आएको छ ।

प्रतिष्ठानले गङ्गेश्वरीका नाति प्रकाश पाण्डे र नातिनी बुहारी सुमी न्यौपाने पाण्डेको प्रगतिशील विवाहको अवसरमा २०७३ असोज २७ गते यस पुरस्कारको घोषणा गरी संस्थागत रुपमा सामाजिक रूपान्तरणका लागि सांस्कृतिक जागरणको अभियानलाई अघि बढाएको हो।

प्रतिष्ठानले सिद्धान्त, आदर्श, विचार र कुरामा मात्र नभई व्यवहारतःअन्धविश्वासजन्य सामाजिक विभेद र रूढिहरूका विरुद्ध वैज्ञानिक आधारमा लागिपरेका अभियन्ता, पत्रकार, लेखक, आविष्कारक या सोसँग सम्बन्धित सामाजिक, सांस्कृतिक, साहित्यिक संस्थाहरूलाई सम्मानतथा पुरस्कृत गर्ने लक्ष्यलिएको पाइन्छ ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »