कविता- "घर फर्कियौं"

२७ आश्विन २०७४

banner

"घर फर्कियौं"
अथाहा चाहना सपनाहरुको भिडहरुमा 
समालिदै र समाल्दै 
तातो हावा खाँदै मरुभूमिको मुटुमा तड्पेर 
गैति र बेल्चाहरुले अलकत्रा बिछ्याउदै 
अभावै अभावमा फाटेको जिन्दगीका टालाहरु 
कति दिन सिलाउने हो ।
साईला...............
म एता, मेरो उनि उता, रमाउने पलहरु खोइ कता ? 
गर्छिन फोनमा कुरा र भन्छिन 
सबै बाँझो र उराठ लाग्दो छ ।
घर छिटो फर्की आऊ !
खनजोत गर्ने म एता विउ उमार्ने उता 
भोलिको बहानामा, म यता सकिदै छु 
उनि अनेकौ चाहनाहरुमा उता रितिदै छिन 
यसरि खेतवारीलाइ बाँझै राखेर 
मरुभूमिलाई पसिनाले कहिले सम्म भिजाउने 
एक दिन त् आफ्नै माटोमा बिलाउनु छ।
साईला......................
पहिलो रातको भलाकुसारीमा उनले सोधेकी थिन् ।
"म प्यारो की देश प्यारो"
मैले देश भन्दा उनि रातो हुँदै चुपचाप घाम लागेकी थिन्
आजभोलि भित्र भित्रै महसुस हुँदैछ यदाकदा 
मेरो देशले अयोग्य ठान्दा पराइ देशले योग्य रुप दिदाँ
शुभ यात्रा र सफलताको कामना जपेकी छिन् ।
शासकहरु निदाउदै रेमिट्यान्सको सपनामा अलमलिदा 
मेरो देश बाट म हराएको छु । 
देश रितो रितो हुँदा 
उनले खोजेकी छिन् 
सोधेकी छिन् 
स्वागतमा आतुर छिन् ।
कति दिन पाल्ने हो अमुल्य पसिनाको रेमिट्यान्सले 
नबुझ्ने राष्ट्र नायकहरुलाई आफ्नो महत्व देखाउदै
नाथे आफ्नै पेट पाल्ने न हो ।
अब फर्कियौं ! एक दिन त् आफ्नै माटोमा बिलाउनु छ ।
 साईला..
-नवराज योन्जन 
भोजपुर 

Leave a reply

HTML Tags are not supported

Post My Comment »