स्वार्थी छोरी

८ कार्तिक २०७४

banner

•शुभेक्षा उपाध्याय न्यौपाने-
[कविता]
खै यो मायाको जाल
गुनी हो कि बैगुनी
तिमीलाई राम्री बनाउन
तिमी भन्दा बढी चुमचुम  म गर्छु
अनि
तिम्रो आखिभौ उखेलेर सर्लक्क बनाउँदा
सिरिङ्ग म हुन्छु
तिमीलाई दुख्छ
तर
आँखा  म रसाउँछु

तिमीले दिएको संस्कारको
आभारी छु
कोही आगो भए पानी बनिदिनु
ढुङ्गाको भारी आफु माथि भएतापनी  
सदैब शान्त रहनु
आफ्नोको गलत शब्द्ले घोचिदिए
त्यो तितो यथार्थलाई काल्पनिक मानि
तुरुन्तै बिर्सिदिनु

तर खै
तिमीलाई कसैले औंला उठाएर आरोप लगाए
रिसको आबेगमा  अन्ध धुन्द शब्द्को गोली प्रहार गरे
तिमीले सिकाएको ज्ञान बिपरीत
म भित्रको ‘ज्ञानी म’ कतै हराइदिन्छ
शतिदेवीको मृत शरिरमा भोलेबाबा बहुलाए झै
म भित्र ज्वालामुखी उमलिरहन्छ
तर फेरि
तिम्रो मायाकै शक्ती होला
त्यती धेरै तातोको उर्जामा पनि
मेरो पाइला जहाँको त्यही रहन्छ
म आगो, आफै नै पानी भइ सेलाउछु
मलाई किची बसेको ढुङ्गालाई बिस्तारै  बगाउँछु

स्त्री जाती हुँ, गर्व गर्छु
पराइलाई आफ्नो बनाइ
निकै नै सुन्दर सन्सार सृजना गरेकोछु
मेरो परिवारको साथमा, म, त्यतिकै रमाएकोछु
तर  ‘छोरी हुँ’
यो सोचले आफ्नै अस्तित्व केलाउँछु
म हल्ली खल्लीमा मस्त हुँदा
तिमी मौनातामा अल्झिएको समझ्न्छु

कस्तो स्वार्थी बनाइदिएको  ‘छोरीलाई’?
किन यस्तो नियम सधाएको?
औंला समातेर  हिंड्न तिमीले सिकाउने
अनि दौडिन जानेपछि
यही छोरीले तिमीलाई नै छोडि  जानुपर्ने ?

मेरो जीवनको दिप प्र्ज्वल तिमीले गर्ने,
अनी लक्ष्मी पूजाको दिन, उनको स्वागतमा
तिम्रो हैन्
मैले
केवल  आफ्नो आगन उज्यालो बनाउनु पर्ने!

यो संसार सब भन्दा पहिला तिमीले चिनाउने
अनि
यो छोरीले तिम्रो भन्दा पहिला
अरुको मान सजाउनु पर्ने!
लेखाउने पढउने, मलाई सक्छ्म बनाउने
तर मेरो कमाइले  तिम्रो घर चल्न नहुने!

यिनै उत्तरबिहिन प्रश्नमा म हराउँछु
कती रात छ्पक्क नसुक्नेगरी नयन भिजाउँछु
नियमको ढाड्समा, छोरीलाई स्वार्थी बनाउने
षडयन्त्र्कारि बिद्वान प्रती मुरमुरिन्छु
थाकेको शरिर र अझै बढी थकित मस्तिष्कको लडाइमा, झ्याप्पै निदाउछु
एउटा झिनो आशामा
कुनै त एउटा ‘भोली’ यस्तो नि आउला
अनी यो छोरीको समाजलाई निस्वर्थी बनाउला!

 






 

Leave a reply

HTML Tags are not supported

Post My Comment »