वाम गठबन्धनलाई काउण्टरः कांग्रेस, राजा र दिल्ली ‘तालमेल’

१० कार्तिक २०७४

banner

•टेकनारायण भट्टराई/मदन कोइराला–

[विश्लेषण]
काठमाडौं। ‘नेपालका वाम एक ठाम्’ भएपछि त्यसको भार भारतमाथि राम्रै परेको छ। प्रत्यक्ष हेर्दा वाम एकताले नेपाली कांग्रेस सबैभन्दा दबावमा छ। तर वाम एकताको आयतन दिल्लीसम्म विस्तारित छ।

दिल्ली र कांग्रेसको जोडमा लोकतान्त्रिक शक्तिको एकीकरण मात्रै सुरु भएको छैन, राजसंस्था पनि चलायमान बनेको छ। कांग्रेससहित लोकतान्त्रिक शक्ति, राजपा, राजसंस्था र हिन्दु जनमतलाई मिलाएर शक्ति सन्तुलन मजबुत पार्ने नयाँ कोर्ष आक्रामक गतिमा अगाडि बढेको छ। पछिल्ला दिनमा त्यसका प्रमाण र प्रतिकृयाहरु छरपष्ट देखिँदैछन्।

एमाले, माओवादी केन्द्रलगयात कम्युनिष्ट दलहरुले आगामी निर्वाचनलाई लक्षित गर्दै वाम तालमेल मात्रै गरेनन्, उनीहरुले यो पहललाई एउटै पार्टी निर्माणको तहसम्म लैजाने बताएर दिल्ली र कांग्रेसलाई थप त्रसित पारेका छन्।

मुलुकको राजनीतिमा वाम एकतापछि तीव्र ध्रुकीकरण सुरु भएको छ। पूर्वराजाको अभिव्यक्ति, सर्वोच्चको आदेश, भारतको चलखेल, विश्व हिन्दु महासंघको सक्रियता, कांग्रेसको एक समूह र पूर्वराजाको बढ्दो निकटता, नेपाली सेनालाई प्रभावित पार्ने कसरत लगायतका घटनाक्रमहरु सतहमा आएका छन्।

समयको पावन्दी र गठबन्धन प्रयास

राजपा र लोकतान्त्रिक अन्य शक्तिलाई समेटेर लोकतान्त्रिक गठबन्धन बनाउने प्रयत्न कांग्रेसले नगरेको हैन। तर चुनावको मुखमा चौतर्फी झमेलाहरु चिर्दै एकता र सहकार्यलाई निश्कर्षमा पुर्याउन हम्मे पर्यो। सिट संख्या बाँडफाँड मिलाउन कांग्रेसका लागि प्रयाप्त समय पुगेन।

पहिलो चरण चुनावमा सिन्धुपाल्चोक र गोरखामा राप्रपा (प्रजातान्त्रिकक) र नयाँ शक्तिसँग कांग्रेसको तालमेल बनेको छ। संघीय समाजवादी फोरम नेपाल र राजपासँग तालमेल गर्ने प्रकृया सिट संख्यामा मतैक्यता हुन नसकेपछि सफल भएन।

दोस्रो संविधानसभा चुनावबाट नम्बर एक पार्टीको अस्तित्वमा रहेको कांग्रेस स्थानीय तह निर्वाचनमा कमजोर बनेपछि उसमाथि स्वाभाविक दबाव थियो। त्यसमाथि सत्ता साझेदार माओवादी एकाएक वाम एकता भन्दै एमालसँग लहसिएपछि स्थानीय चुनावमा जस्तो कांग्रेससँग न त तालमेलको बलियो सारथी माओवादी बच्यो, न त अन्य दलसँग मिलेर अगाडि बढ्ने समय नै रह्यो। कांग्रेसका लागि एकाएक बज्रपात जस्तै बन्यो वाम एकता।

वाम शक्तिलाई टक्कर दिने उपक्रम

वाम शक्तिले कांग्रेसलाई राम्रै तयारीसाथ मैदानमा उत्रिन निम्तो दिएको छ। कांग्रेसका लागि शक्ति पुँजीकृत गर्न यतिबेला भारतको सहारा आवश्यक देखिन्छ। कांग्रेसलाई साथ लिएर अगाडि जाने बाहेक अर्को उपाय भारतसँग पनि बचेको छैन। राजनीतिका जानकारहरु कांग्रेस र भारतबीच यतिबेला परिस्थितिजन्य चुम्बकीय आकर्षण पैदा भएको बताउँछन्। त्यसो त भारतका लागि कांग्रेस सदावहार रोजाइकै दल हो।

स्थानीय चुनावको परिणामलाई प्रतिकुल ठहर्याएको भारतका लागि प्रतिनिधि र प्रदेशसभा चुनावको परिणाम झनै पीडादायी हुने अनुमान छ। कांग्रेसलाई पहिलो दलको विरासत गुम्ने भय मात्रै छैन, सँधै दाहिना रहँदै आएको सत्ताभोग आफ्नो पकडबाट फुत्कने छट्पटाहट पनि उत्तिकै छ। त्यसैले भारत र कांग्रेसको एकमात्र अर्जुनदृष्टि वाम इतरका शक्ति एकीकृत गरेर वाम गठबन्धनलाई काउण्टर दिनेमै टिकेको छ।

पूर्वराजा

भाइटिकाको दिन पूर्व राजा ज्ञानेन्द्रले दिएको अभिव्यक्ति अर्थपूर्ण छ। उनले निकै अगाडि बढेर देशको नेतृत्व लिन तयार रहेको अभिव्यक्ति दिएका छन्। यस अगाडि शाही ठाँटमा अभिव्यक्ति दिँदै आएका ज्ञानेन्द्रको यो नै सबैभन्दा उत्ताउलो अभिव्यक्ति हो। ज्ञानेन्द्रले पुनरागमनको आकांक्षा सोझै प्रकट गरेका छन्।

चुनाव मुखमा छ। चुनावी परिणामपछि नयाँ सत्ता समिकरण सुरु हुने संघारमा छ। यस्तो बेलामा पूर्व राजाले एकामनले विचारेर पुनरागमनको आकांक्षा प्रकट गरेका बुझ्न कठिन छ। उनको अभिव्यक्तिका पछाडि भारत र नेपाली कांग्रेसको एउटा तप्का जवर्जस्त उपस्थित छ। त्यसको प्रमाणकारुपमा कांग्रेसका प्रभावशाली दुईजना डाक्टर नेताको सक्रियताबारे यहाँ चर्चा गर्न लायक छ।

डा.शशांक कोइराला र डा.रामशरण महतको सक्रियता

शशांक र रामशरणले राजासँगको निकटता बढाउने पहल लिएका छन्। सांस्कृतिक राजा र हिन्दु राष्ट्रको एजेण्डाले पार्टीको साख बचाउन सक्ने विश्वास कांग्रेस भित्र उभारिएर आएका छ। उच्च स्रोतले दिएको जानकारीअनुसार त्यही विश्वासका दममा नेताद्वय पूर्व राजासँग सोझो समन्वयमा छन्। उनीहरुकै पहलमा पूर्व राजा ज्ञानेन्द्र र प्रधानमन्त्री शेरबहादुर देउवाबीच निकटता बढ्दै गएको स्रोत बताउँछ।

राजसंस्था र हिन्दु राज्य चाहने शक्तिसँग कांग्रेसले तालमेलको पहल बढाएको छ। स्रोतले के सम्म खुलायो भने नेपाली सेनाको नेतृत्व यो घटनाक्रमबारे जानकार मात्रै छैन निको मानेर परख गरिरहेको छ।

कांग्रेसका मौकापरस्तहरु हावी

कांग्रेस भित्र मौका कुरेर बसेका खुमबहादुर खड्का र उनको खेमा हावी बनेको छ। राजसंस्था र हिन्दुराज्यका पक्षधरहरुको सक्रियता बढेको छ।
‘वाम शक्तिले मुलुक खाने भो, हामीले रमिता हेरेर बस्ने समय छैन।’ भन्दै खड्काले भारत, राजा र हिन्दु जनमतलाई विश्वासमा लिने बेला आएको भन्दै चर्को दबाव बढाएका छन्।

राष्ट्रपतिसहितको सांस्कृतिक राजा र हिन्दुराज्यको बहस हावी भएपछि गणतन्त्र र धर्मनिरपेक्षताका पक्षधर नेताहरु कर्नरमा पर्न थालेका छन्। कृष्णप्रसाद सिटौला ती मध्येका एक हुन्। सिटौला र उनी निकटकालाई छलेर कांग्रेसका आन्तरिक छलफलहरु बाक्लिएका छन्।

प्रतिनिधिसभा चुनावमा प्रत्यक्षमा उठ्ने सिटौलाको चाहाना निमोठिएको छ। उनको निर्वाचन क्षेत्रमा कांग्रेसले राप्रपा उम्मेद्वार राजेन्द्र लिङ्देललाई समर्थन गरेको छ। पछिल्ला दिनहरुमा सिटौलाले पार्टी भित्र आफूलाई कर्नरमा पारिएको अभिव्यक्ति दिँदै आएका छन्।

दूतावासको दबाव

नेपालस्थित भारतीय दूतावासले लोकतान्त्रिक शक्तिबीचको एकता र तालमेललाई जोड दिएको छ। तिहार (उनीहरुको दिवाली) को उल्लासले यो पटक दूतावासलाई छोएन। बरु त्यही मौकामा राजपाका नेताहरुसँग दूतावासले निरन्तर समन्वय गरेर अनुकुलका नेताका पक्षमा वातावरण बनाउन र कांग्रेससँग तालमेल गर्न दबाव बढायो।

चीन र वाम बहुमतको डर

ओली सरकार पछि एमालेसँग भारत सतर्क छ। ओली सरकारले भारतलाई चुनौती दिँदै चीनसँग सम्बन्ध विस्तार गरेको भन्दै एमालेलाई भारतले रुखो नजरले हेर्छ। त्यही एमालेसँग तालमेल बनाएपछि भारतबाट पाएको अस्थायी विश्वास पनि प्रचण्डले गुमाएका छन्। आफू प्रतिकुलको र चीन अनुकुलको राजनीतिक शक्ति नेपालमा हावी भएको भारतलाई सैह्य छैन। त्यसमाथि आगामी चुनावमा वाम शक्तिले वहुमत पाउने संभावनाले भारतलाई थप पिरोलेको छ।

प्रतिकुलतामा फेरिँदै गएको नेपालको राजनीतिलाई ट्रयाकमा ल्याउने प्रयत्नमा भारत छ। स्थानीय तहको चुनावी परिणाम र वाम गठबन्धनका कारण गिरेको मनोबल उठाउने अश्त्रको खोजीमा कांग्रेस छ। पछिल्लो राजनीतिक ध्रबिकरणलाई अनुकुलमा प्रयोग गरेर पुनःस्थापित हुने पूर्व राजाको चाहना अभिव्यक्त भएको छ। बदलिएको परिस्थितिमा त्रिपक्षीय तालमेलको खाँचो रहेको भन्दै त्यसका लागि पहल अगाडि बढेको छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »