भत्काउनुस् भ्रमः ओली, प्रचण्ड र देउवामध्ये को उत्तम ?

११ कार्तिक २०७४

banner

•टिप्पणी–
काठमाडौं। चुनावी माहोल छ। दल र नेताहरु विकास बाँड्न व्यस्त छन्। घोषणा पत्रमा मेट्रो रेल, मोनो रेल, सुरुङ मार्ग, केबुलकार, स्मार्ट बस कुँदेका छन्। विकासका सपनामा मस्त देश आज बिहानै सडक दुर्घटनाको खबरले ब्युँझियो। यो लेख्दासम्म त्रिशुलीमा खसेको बसका यात्रुमध्ये १९ जनाको ज्यान गएको छ।

दुर्घटना भन्नासाथ मुग्लिन–नारायणगढ सडकले धेरैको ध्यान तान्छ। यो सडक दुर्घटनाको ‘राजा मार्ग’ नै हो। शुक्रबारको दुर्घटना गजुरीको हो। तर हाम्रा सडक र सरकारको दशा वयान गर्न मुग्लिन सडकमा पुग्नै पर्छ।

मुग्लिन सडकको कसीमा तीन प्रधानमन्त्री काल

मुग्लिन–नारायणगढ सडकलाई थप ज्यानमारा बनाउन पछिल्ला तीन प्रधानमन्त्री जिम्मेवार छन्। पछिल्ला दुई बर्षमा यो सडक सबैभन्दा ध्वस्त भएको छ। यहीबीचमा धेरै दुर्घटना र कैयौंको ज्यान गएको छ। यो दुई बर्षमा तीन प्रधानमन्त्रीले आलोपालो नेतृत्व लिएका छन्। ती हुन्– केपी शर्मा ओली, प्रचण्ड र शेरबहादुर देउवा।

तीन प्रधानमन्त्रीमध्ये एकजनाले पनि यो सडक सुधारका लागि सम्झनलायक पहल लिएनन्। भूकम्प पछिको पुनःनिर्माण, राजधानीका सडक स्तरोन्नति वा अन्य कुनै पनि विकासका काममा तीनैजनाको उल्लेखनीय भुमिका वयान गर्ने अवसर उपलब्ध छैन।

मान्छेको प्राण नली जस्तै देशको राजधानी जोड्ने मुख्य मार्ग हो यो। आफ्नो शरीरका रोग र घाउ–खटिरा निको पार्न राष्ट्रिय ढुकुटी खर्चेर विदेश धाउने नेतृत्वले देशको प्राण नलीको यो हाल हुँदा दुई बर्षको अवधिमा केही गर्न सक्दैनथे?

तीन प्रधानमन्त्रीमध्ये एकजनाले पनि यो सडक सुधारका लागि सम्झनलायक पहलसम्म लिएनन्। भूकम्प पछिको पुनःनिर्माण, राजधानीका सडक स्तरोन्नति वा अन्य कुनै पनि विकासका काममा तीनैजनाको उल्लेखनीय भुमिका वयान गर्ने अवसर उपलब्ध छैन।

नागरिकले गर्ने साधारण प्रश्न छ– ३० किलोमिटर सडकको दशा फेर्न नसक्नेले किन देश बदल्ने फुर्ती लगाउने?

नेता त्रय पार्टी प्रमुख पनि हुन्। तीन पार्टी एमाले, कांग्रेस र माओवादी केन्द्रले सडक बिगारेको र यात्रुको ज्यान लिएकोमा जिम्मेवारी लिनै पर्छ। विभागीय मन्त्री, मन्त्रालय, सडक विभाग, ठेकेदार सबै तपसिलका अंशियार हुन्। मुख्य नाइके तीन पार्टी र नेता त्रय नै हुन्।

दुई बर्ष र तीन प्रधानमन्त्री ३० किलोमिटर सडक सुधार्न प्रयाप्त हुँदैन?

बाटो विस्तार गर्ने नाममा मुग्लिन–नारायणगढ सडक सबैभन्दा ध्वस्त पारिएको पछिल्लो दुई बर्षमै हो। क्रमागत बिग्रिएको यो सडकको दोष तीनैजना कार्यकारी प्रमुखलाई जान्छ।

प्रधानमन्त्रीलाई कठघरामा उभ्याउने आधार र सवालहरु–

१. बाह्रैमास यात्रुले पाएको दुःखप्रति देशको कार्यकारी प्रमुखलाई थोरै पनि जिम्मेवारी बोध हुन्थ्यो भने सडकको हाल यस्तै हुन्थ्यो? तीनैजना प्रमुखबाट अतिरिक्त चासो दिएर सडकको स्तर सुधार्ने पहल भएन।

२. दुर्घटना भएपछि र सडक भत्केपछि हेलिकप्टरबाट अवलोकन गरेर मात्रै सरकार प्रमुखको जिम्मेवारी पूरा हुने हो?

३.सडक जिर्ण हुनुमा थुप्रै सहायक कारणहरु होलन् तर प्रमुख कारण सरकार प्रमुखको संवेदनहीनता नै हो। उनीहरुलाई थाहै छ सडकको हाल। तर सडकको स्तर सुधार्न पटक्कै गम्भिरता देखिएन।

४. सरकारको भाषामा सडक सुधार्ने काम भैरहेको छ। तर यथार्थमा सडक बिगार्ने र ज्यान मार्नका लागि पासो थाप्ने काम चलिरहेको छ। ठेकेदारलाई सरकारी ढुकुटी सुम्पिएर धराप तयार पार्ने काम सरकारी तहबाट भैरहेको छ। बाटो विस्तार गर्ने वहानमा भित्तो खनेर ओडार पारेर छाडिन्छ। हिउँद, बर्खा जतिबेला पनि त्यो खस्छ र सर्वसाधारण धरापको शिकार बन्छन्, ज्यान गुमाउँछन्।

५. भएको सबै पीच भत्काइएको छ। खाल्डै खाल्डाको सडकमा गुड्दा गाडीहरु नियन्त्रण गुमाएर दुर्घटनामा पर्छन्।

६. नेता र पहुँचवालाहरु यो बाटो हिड्दैनन्। उनीहरु मुग्लिनको बाटोको जोखिम देखाएर हवाइ यात्रामा निस्कन्छन्। गाडीमा यो सडक पार भएर पछिल्ला प्रधानमन्त्रीहरु हिडेका उदाहरण छैनन्। कमै मन्त्री र उच्च तहका कर्मचारी यो बाटोमा गुड्छन्। उनीहरुको हवाइ भाडा यही बाटो उपभोग गर्ने उनै पीडित नागरिकको करबाट काटिन्छ।

७. मुग्लिन देखि नारायणगढसम्म सडक पूरै उधारेर (भत्काएर) छाडिएको छ। तत्काल बनाउन नसक्ने भए किन सबै सडक भत्काउनु? ३० किलोमिटरमध्ये सबै भत्काउनु भन्दा सुरुमा १० किलोमिटर भत्काएर त्यो दुरुस्त पारेर फेरि १० किलोमिटरमा काम गर्न सकिदैनथ्यो?

८. सरकारको पैसामा दलपिच्छेका ठेकेदारलाई भाग पुर्याएर खण्डखण्डमा सडक भत्काउने काम चलिरहेको छ। यहाँदेखि यहाँसम्म तैले लुट, अर्को यो खण्डमा उसले लुट्छ भनेर भाग लगाइएको छ।

यो लुटलाई सकारेर रमिते बनेका तीन प्रधानमन्त्रीलाई लुटमा साथ दिने मतियार भन्न पाउने कि नपाउने?

मुग्लिन सडक त एउटा दृष्टान्त मात्रै हो। अति संवेदनशील यस्ता धेरै क्षेत्रहरु छन् जहाँ चरम भ्रष्टाचार र बेथिति छ। सरकार प्रमुखहरु रमिते बनेका छन्। सरकार प्रमुखको पद निकम्मा सावित हुँदै गएको छ।

जनचाहना, तत्कालको आवश्यकता र राष्ट्रिय प्राथमिकता हेरेर तत्क्षण पहल लिने सवालमा तीनैजना प्रधानमन्त्री असफल छन्। पछिल्ला तीन प्रधानमन्त्रीले भ्रष्टाचारविरुद्ध कुनै एउटा एक्सन लिएको वा विकासको कुनै एउटा सम्झनलायक काम गरेको उदाहरण छैन। जनताको दैनिकीलाई पिरोलेका प्राथमिक समस्या पहिचान गरेर त्योसँग जुध्ने तत्परता देखाएको एउटै दृष्टान्त भेटिदैन। 

आफ्नो सरकार प्रमुखमा नागरिकले नायकत्व खोज्छ। तर नेता त्रयमा नायकत्व भेटिएन। चुनाव अगाडि आएको छ। नायक छान्ने अभिलाषा झनै जाग्रित गराउँ। नागरिकको चाहानाले नै देश डोर्याउने हो। चाहाना बुलन्द पारौं।

Leave a reply

HTML Tags are not supported

Post My Comment »