देउवाको पुरानो ‘घर’माथि रविन्द्र मिश्रको ‘डोजर’ र केटाकेटीको ‘राजनीति’ [ब्लग]

२१ कार्तिक २०७४

banner

  • दामोदर नेपाल

काठमाडौं। रविन्द्र मिश्रले उम्मेदवारीको लागि काठमाडौंको क्षेत्र नम्बर १ नै किन रोजे? अहिलेको सबैभन्दा पेचिलो प्रश्न यही बनेको छ। देशभरीमा प्रतिनिधिसभाका लागि १ सय ६५ निर्वाचन क्षेत्र छन्। काठमाडौंमै पनि १० निर्वाचन क्षेत्र छन्। १ सय १० जना समानुपातिक प्रतिनिधिसभा सदस्य मध्येमा पनि उनलाई ‘अप्सन’ थियो। तर, मिश्र किन यही ठाउँमा चुनाव लड्न आए? उत्तर एउटै छ ‘परिवर्तन’। तर ‘परिवर्तन’ एउटा शब्दले यहाँ दुई फरक फरक प्रसंगमा गहिरो अर्थ राख्छ। 

मिश्र किन यही ठाउँमा चुनाव लड्न आए? उत्तर एउटै छ ‘परिवर्तन’।

पहिलो हो रविन्द्र मिश्रको पार्टी परिवर्तनको चाहना राख्छ। उनीहरु परोक्ष होइन प्रत्यक्ष परिवर्तन चाहन्छन्। उनीहरुकै भाषामा भन्दा ‘डास्ट्रिक चेन्ज’। देखिने गरी, जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी परिवर्तन गर्नु उनीहरुको चाहना हो। उनीहरु भावी पुस्ताको लागि समृद्धि खोज्ने दीर्घकालीन सपना साँच्दैनन्। उनीहरु आफैं काम गरेर आफैंले परिवर्तनको स्वाद चाख्न चाहन्छन्। परिवर्तन तिनका छोराछोरी वा नातिनातिनीको लागि भन्दा पनि आफ्नै लागि चाहिएको छ। त्यसैले त रविन्द्र पटक पटक भन्ने गर्छन् ‘हाम्रै पालामा विकासको स्वाद चाख्न चाहन्छौं।’

रविन्द्र पटक पटक भन्ने गर्छन् ‘हाम्रै पालामा विकासको स्वाद चाख्न चाहन्छौं।’

दोस्रो अर्थ हो काठमाडौं १ का जनता परिवर्तनशील छन्। यहाँका मतदाताले पटक पटक नयाँ नयाँ परीक्षण गरिरहेका हुन्छन्। त्यही परीक्षणको कसीमा आफू खरो उत्रन सक्ने सम्भावना बलियो देखेका कारण रविन्द्र यहाँ उम्मेदवार बनेका हुन्। रविन्द्रले यसअघि पत्रकारिताबाट बनाएको ‘हाइट’ले यहाँका मतदातालाई विश्वासमा लिन सकिने उनको ठम्याइ छ। किनकि यहाँका मतदाता राजधानीका रैथाने होइनन्। उनीहरु पछि राजधानी भित्रिएका शिक्षित र बौद्धिक वर्गका ‘आप्रवासी’ हुन्। यी मतदातालाई आफ्नो योजनाबाट विश्वस्त पार्न सकिने रविन्द्रको ठम्याइ छ। 

माननीय रविन्द्र मिश्रको सम्भावना

रविन्द्रको उम्मेदवारीले जति चर्चा पाएको छ त्योभन्दा बढी अर्थ उनको जीतले राख्नेछ। काठमाडौं १ मा उनको जीतलाई नकार्न पनि सकिन्न। यहाँ रविन्द्रले जित्न सक्छन् भन्ने केही आधारहरु पनि छन्। तीमध्येको पहिलो र सबैभन्दा बलियो आधार हुन् यहाँका मतदाता। 

यहाँका मतदाता नयाँ नयाँ प्रयोग र परिवर्तन खोज्न सिपालु छन्। उनीहरु बौद्धिक र शिक्षित छन्। यो जमातको माझमा रविन्द्रको छवि पनि उज्वल छ। रविन्द्रले राजनीतिमा आएर बनाएको छवि भन्दा पनि त्यसअघि नै उनले बनाएको ‘हाइट’ यहाँका मतदाताको लागि अर्थपूर्ण छ। यो महत्वपूर्ण ‘ब्याकग्राउण्डले’ रविन्द्रको जीतमा बलियो आधार तयार पार्नेछ। 

काठमाडौंको मेयर पदमा रञ्जु दर्शना र किशोर थापाले पाएको मतको एउटै कारण हो पुराना दलहरुप्रतिको वितृष्णा र केही गर्छु भन्ने नयाँ पुस्ताप्रतिको आशा।

अर्को आधार हो काठमाडौंको मेयर पदमा रञ्जु दर्शना र किशोर थापाले पाएको मत। दुई नयाँ दलका यी दुई उम्मेदवारले यहाँको मेयर पदको चुनावी दौडमा पाएको हैसियत निकै अब्बल दर्जाको थियो। यी दुवैले यहाँ पराजित भए पनि राम्रो मत पाएका हुन् र यो मतको एउटै कारण हो पुराना दलहरुप्रतिको वितृष्णा र केही गर्छु भन्ने नयाँ पुस्ताप्रतिको आशा। अहिले यी दुवै पार्टीको एकीकरण भइसकेको अवस्थामा यी दुवै उम्मेदवारका साझा प्रतिनिधि हुन् रविन्द्र। 

विवेकशील साझा पार्टीका उम्मेदवारहरु राजधानीका अन्य क्षेत्रमा समेत प्रतिस्पर्धामा छन् तर सबैभन्दा बढी चर्चामा रविन्द्र नै छन्। जसको अर्थ लाग्छ मतदाताको ध्यान पनि यो पार्टीका अन्य उम्मेदवार भन्दा रविन्द्रमै बढी छ। स्थानीय चुनावमा विवेकशील र साझा पार्टीले छुट्टाछुट्टै रुपमा पाएको मत उतिबेलाकै हिसाबकिताबमा ‘मर्ज’ भएर सबै रविन्द्रलाई आयो भने यसले रविन्द्रलाई जिताउन सक्छ।

कांग्रेसको बुढो रुखमाथि डोजर

काठमाडौं १ मा रविन्द्र मिश्रले जित्दा जति तरंग आउँछ त्योभन्दा ठूलो तरंग यहाँ पुराना पार्टीले हार्दा आउनेछ। यहाँ कांग्रेसका तर्फबाट पूर्व महामन्त्री प्रकाशमान सिंह चुनावी प्रतिस्पर्धामा छन् । यहाँ प्रकाशमान कांग्रेसका उम्मेदवार मात्रै होइनन् कांग्रेसी राजनैतिक विरासतका आधारसमेत हुन्। कारण, उनी सर्वमान्य नेता गणेशमान सिंहका छोरा हुन्। उनै गणेशमान, जसले कांग्रेसलाई यो ‘हाइट’मा पु¥याउन अतुलनीय योगदान दिएका थिए। अनि उनै गणेशमान, जसलाई लाई कांग्रेसइतरका दलहरु पनि ‘सर्वमान्य नेता’ मान्छन्।

प्रकाशमान कांग्रेसका उम्मेदवार मात्रै होइनन् कांग्रेसी राजनैतिक विरासतका आधारसमेत हुन्। कारण, उनी सर्वमान्य नेता गणेशमान सिंहका छोरा हुन्।

यहाँ प्रकाशमानले हार्नु एक्लो उम्मेदवारको हार हुने छैन। यो कांग्रेसकै हार हुनेछ। पारिवारिक उत्तराधिकारीलाई राजनैतिक विरासत हस्तान्तरण गर्ने कांग्रेसी परम्पराको हार हुनेछ। अर्को शब्दमा भन्दा यहाँ कांग्रेसको बुढो रुखमाथि रविन्द्र मिश्रले ‘डोजर’ चलाउनेछन्। हो, रविन्द्रले यहाँ ‘डोजर’ नै चलाउँदैछन् किनकि उनी र उनका सहयात्रीहरु यस्तै चाहन्छन्। उनीहरु परम्परागत राजनैतिक संस्कारभित्र आटाउने खालका होइनन् उनीहरु नयाँ निर्माणका पक्षधर हुन्।

‘डोजर’वादी रविन्द्रहरु

रविन्द्र मिश्रहरु डोजरवादी नै हुन्। उनीहरु डोजर चलाउँछन् चाहे त्यो विचारमा होस् वा भौतिक पूर्वाधारमा। उनीहरु डोजर चलाउन छोड्दैनन् । अहिले उनीहरु मतदाताको विचारमा डोजर चलाउँदैछन्। मतदाताको मस्तिष्कमा भएको पुराना दलहरुको वैचारिक संरचनामाथि डोजर चलाएर नयाँ राजनैतिक अभ्यास स्थापित गराउन उनीहरु लागिपरेका छन्। 

रविन्द्र मिश्रहरु डोजरवादी नै हुन्। उनीहरु डोजर चलाउँछन् चाहे त्यो विचारमा होस् वा भौतिक पूर्वाधारमा।

उनीहरुका कुरा सुन्दा लाग्छ उनीहरु पुराना भौतिक संरचनामाथि पनि डोजर चलाउनेछन् । राजधानीका केही स्थानहरुमा भौतिक संरचनामाथि पनि डोजर चलाउनु आवश्यक छ। यहाँका साँघुरा सडक, बढ्दो जनघनत्व र ट्राफिक जामको समस्या हेर्दा यहाँ डोजर चलाउनु आवश्यक छ। यहाँ डोजर चलाउने प्रयास धेरै पटक भएका हुन् । एकपटक बाबुराम भट्टराईले आफू प्रधानमन्त्री भएका बेला केही स्थानमा डोजर चलाएका पनि हुन्। अझै यहाँ डोजर चलाउनु आवश्यक छ। कुरा सुन्दा रविन्द्र र उनका सहयात्रीले पनि भन्ने गरेकै हुन् – राजधानीका केही ठाउँमा डोजर चलाउनु आवश्यक छ। 

देउवाको घरमाथि नै डोजर

देउवाको घर निकै पुरानो भइसकेको छ। देउवाको घर अर्थात कांग्रेस। देशकै सबैभन्दा बुढो पार्टी कांग्रेसभित्र धमिरा लागेको पनि केही राजनैतिक विश्लेषकहरु तर्क गर्छन्। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा यो तर्कलाई बल पुग्ने केही घटनाक्रमहरु पनि भएका छन्। यी केही प्रतिनिधि घटनालाई हेर्दा देउवाको बुढो घर भित्रभित्रै धमिराको आक्रमणमा परेको हो कि जस्तो पनि भान हुन्छ। 

निर्वाचनको उम्मेदवारी दर्ता भइसकेपछि कांग्रेसले राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरका लागि उम्मेदवारी फिर्ता लियो। संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवका लागि पनि कांग्रेसले उम्मेदवारी दर्ता गरिसकेपछि उम्मेदवारी फिर्ता लिएरै ठाउँ छोडिदियो। तर, कांग्रेसका लागि कसले ठाउँ छोडे त ? कांग्रेसलाई भनेर ठाउँ छाडिदिने भने कोही निस्किएनन्। 

कांग्रेसलाई भनेर ठाउँ छाडिदिने भने कोही निस्किएनन्। यी दृष्टान्तले देखाउँछ कांग्रेसमाथि खतरा मडारिँदै छ ।

यी दृष्टान्तले देखाउँछ कांग्रेसमाथि खतरा मडारिँदै छ । नेपाली राजनीतिको मियो कांग्रेस विस्तारै खुम्चिख्दैछ र अन्य दलहरु फैलिँदैछन् । यसले पार्टीका नाइके देउवाको लागि शुभसंकेत गरेको छैन। उनको बुढो घर खतरामा छ । राजनैतिक विश्लेषकहरु त भन्छन् ‘कांग्रेस इतिहासकै सबैभन्दा संगीन मोडमा उभिएको छ ।’ यो अवस्थामा पनि कांग्रेसले सही बाटो पहिल्याउन सकेन भने देशकै ठूलो दल विस्तारै ओरालो लाग्ने खतरा छ ।

केटाकेटीको राजनीति

नेपाली राजनीतिमा पाको पुस्ता हावी छ । रिटायर्ड हुने बेलामा बल्ल कार्यकारी पदमा पुग्ने राजनैतिक संस्कारमा हुर्किरहेका हाम्रा लागि नयाँ पुस्ताले राज्य चलाउनु कल्पनाको विषय मात्रै भएको छ। यो समाजमा युवा अवस्थामै राज्य संचालनको नेतृत्व लिन्छु भनेर तम्सिनेहरुलाई ‘केटाकेटी’को संज्ञा दिइन्छ । यो सन्दर्भमा रविन्द्र पनि केटाकेटीमै गनिन्छन्। उनको ‘टिम’मा उनी अलि पाका हुन् अरु त झन् ठिटाठिटी नै छन्।

तर, सन्दर्भ नेपालको मात्रै लिएर हुँदैन। विश्व हल्लाउने हस्तीहरुले युवा अवस्थामै फड्को मारेको दृष्टान्त हामीसामु छ। हाम्रो देशमा पनि यस्तो हुन सक्छ भन्ने स्थानीय चुनावमा यिनै ‘केटाकेटी’ले पाएको मतले प्रस्ट्याउँछ। परम्परागत राजनैतिक संस्कारमा हुर्किएका मतदाताले ‘केटाकेटी’को नाइकेलाई पत्याउलान् त? सामाजिक संजालमा एउटा भनाइ निकै चर्चित छ ‘विकसित देशमा युवाहरु देश चलाउँछन् बुढालाई पेन्सन दिन्छन्। नेपालमा बुढाहरु देश चलाउँछन् युवालाई टेन्सन् दिन्छन् ।’ युवाहरुका अगुवाले बुढाहरुलाई पेन्सन दिएर युवाको हातमा देश सुम्पिने दिन कहिले आउला ?
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »