ओलीको दाबीः निर्वाचन पछि बन्ने वामपन्थी सरकारमा कांग्रेस पति सहभागी हुन्छ 

२८ कार्तिक २०७४

banner

झापा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिरको निर्वाचनपछि वामपन्थीहरुको नेतृत्वमा सरकार बन्ने दाबी गर्दै उक्त सरकारमा नेपाली कांग्रेसलाई समेत सहभागी गराउने दाबी गरेका छन्। 

सोमबार रिपोर्टर्स क्लबले ओलीको गृहनगर झापामा आयोजना गरेको चुनावी विशेष साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले मंसिरपछि वाम गठबन्धनको सरकार बन्ने दाबी गर्दै यसप्रति कसैलाई शंका नगर्न समेत आग्रह गरे।

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले वाम गठबन्धनको बहुमत आउँछ त भनेर कसैले प्रश्न सोध्दा आफूलाई आश्चर्य लाग्ने समेत बताए। उनले भने, ‘किन बहमुत नआउनु? एकदम आरामदायाी बहुमत आउँछ, हाम्रो सरकार बन्छ, कति सिट जित्छ भनेर प्रश्न नगर्नुहोस्, फेरि अरुको निद्रा निद्रा हराम हुन्छ, यस्तो किन गर्नु?’ 

उनले चुनावपछि नेपाली कांग्रेस पनि सरकारमा सामेल हुन सक्नेतर्फ संकेत गरे। उनले भने, ‘म उहाँहरुलई आग्रह गर्न चाहन्छु, मिलेर गरिबी हटाउँ, हामी यस्ता कुराहरुमा सहमति गरेर अघि बढौं, अब कांग्रेस प्रतिपक्षमा बसिरहन जरुरी छैन, मेरो आग्रह छ, तपाइँहरुपनि सरकारमा आउनुहोस्, मिलेर देश विकास गरौं।’

उनले चुनावमा एमाले–माओवादी केन्द्रको गठबन्धनले आरामदायी बहुमत ल्याउने दाबी गरे। ओलीले थपे, ‘अबको निर्वाचनमा हाम्रो गठबन्धनले बहुमत मात्रै होइन, सरकार बनाउनेगरिको सम्मानजनक बहुमत ल्याउँछ।’

ओलीले राजनीतिको लागि मात्रै राजनीति नभएर आफूहरुले देश बनाउनको लागि राजनीति गरिरहेको उल्लेख गर्दै भने, ‘देशलाई अघि बढाउनको लागि, देशमा लोकतान्त्रिक प्रणाली स्थापित गर्नको लागि, आर्थिक नीतिहरु सही बनाउनको लागि, स्थायित्व र सामाजिक संस्कारहरु सही बनाउन, असल साँस्कृतिक विधिको प्रबन्ध गर्नको लागि राजनीति हो, अहिले संविधानमार्फत हामी नयाँ संघीय संरचनामा जाँदैछौं, जनताको सपनालाई साकार बनाउनेगरि अब केन्द्रमा, प्रदेशमा नयाँ सरकार बन्छ । स्थानीय सरकार बनिसकेको छ।’

आज सही नीतिका साथ देशलाई एकताको बाटोमा अघि बढाउने, नेपाललाई लोकतान्त्रिक त्योपनि फराकिलो लोकतन्त्रको बाटोमा अघि बढाउने, स्थायित्वको लागि बहुमतको सुदृढ सरकार चाहिने भएकोले उक्त उद्देश्य प्राप्तिको लागि एमाले र माओवादी केन्द्रवीच चुनावी तालमेल र एकताको प्रयास भएको ओलीको भनाइ थियो। 

उनले अबको निर्वाचनमा वामगठबन्धनको आरामदायी बहुमत आउने जिकिर गर्दै थपे, ‘सर्वसाधरण जनतालाई भन्न चाहन्छु, एमाले र माओवादीले आरामदायी बहुमत ल्याउँछ। हाम्रो बहमुत आएसँगै मुलुकमा स्थिर सकार बन्छ, बामपन्थीको सरकार बन्छ, बन्छ, यो सरकार किन धाक लगाउन हो र ? बेठिक दिशामा लैजानको लागि हो र? हामी त देश र जनताको आकांक्षा पूरा गर्नको लाग एकतावद्ध भएका हौं, र यही दिशामा अघि जान्छौं।’

कम्युनिष्ट शासन बनाउने एमाले र माओवादी केन्द्रका योजना छ अरे नि? प्रधानमन्त्री शेरबहादुर देउवाले त यही आरोप लगाउनुभएको छ भन्ने प्रश्नको जवाफमा उनले भने, ‘नेपालमा कम्युनिष्ट सरकार बन्छ, शासन आउँछ, आउनुपर्छ, नेपाललाई भ्रष्टाचारबाट मुक्त गर्नको लागि लोकतान्त्रिक प्रणाली चाहिन्छ । लोकतन्त्र भनेको कम्युनिष्ट व्यवस्था हो । कम्युनिष्टहरु लोकतन्त्रको लागि लडेका हुन्। लोकतन्त्र के हो? कम्युनिष्टहरुलाई राम्रो थाहा छ। कम्युनिष्ट सिद्धान्त कहीँ गलत प्रयोग भयो होला, त्यसको जस हामीले लिनु जरुरी छैन।’
उनले प्रधानमन्त्री देउवाले आधामात्र बुझेको पनि आरोप लगाए। उनले भने, ‘कम्युनिष्टहरुको सरकार बने लोकतन्त्र हुँदैन भन्नुभयो, तर म भन्छु उहाँकोजस्तो भ्रष्टतन्त्र हुँदैन, समृद्धि हुन्छ । हामी संविधान बनाउने, हामी जेलनेल गर्ने, हामीले संघर्ष गरेर चुनाव गराउनुपर्ने, अनि लोकतन्त्र अरुले ल्याइदिनुपर्ने, अनि मैले पो ल्याएँ भनेर दाबी गर्नु लाजमर्दो कुरा हो।’

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाप्रति निकै आक्रमक रुपमा प्रस्तुत भएका ओलीले थपे,‘देउवाजीलाई आजको दुनियाँको अध्ययन गर्ने फुर्सद छैन, आदत छैन, देउवा लगायतका नेतालाई म भन्छु लोकतन्त्रको लागि गरेको त्याग, बलिदान, संघर्षको लागि, आचरणको लागि हामीसँग तुलना हुने नेता हुने कोही छ ? म बहसको लागि आउँछु।’

अध्यक्ष ओलीले एमाले–माओवादी केन्द्रवीचको गठबन्धन बनेसँगै नेपालमा साम्यवादको हौवा अचम्म रुपमा कांग्रेसले चलाएको समेत आरोप लगाए। उनले भने, ‘डराउनुको पनि हद हुन्छ नि! कस्तो रुवाबासी! बच्चाबच्चीले खुटट बझारेर पनि रुदैनन्।’ 

उनले आफूहरुको शासनको मोडल कस्ते हुने भन्ने कुरा घोषणापत्रमा मात्रै नभएर संविधानमा समेत उल्लेख भैसकेको स्पष्ट पार्दै भने, ‘हामीले समाजवाद भनेका छौं। हामीले समाजवादतर्फ उन्मुख भयौं भनेको छौं। यो कुरा कांग्रेसहित भनेका छौं। तर त्यतिवेला उसले नबुझीकन भनेजस्तो भयो, समाजवाद भनेपछि कांग्रेस झसंग–झसंग झस्किन्छ, तर्सिन्छ । होईन कांग्रेससँग इमान छ कि छैन? हुन त कांग्रेस विपीको नीति मान्न तयार छु, भन्छ । यहाँ कांग्रेस छटपटाएको किन ?’

उनले अब मुलुकमा पूर्व–पश्चिको ६ लेनको राजमार्ग बन्ने, विद्युतीय रेलमार्ग बन्ने ठोकुवा गर्दै भने, ‘हुलाकी राजमार्ग बनाउँछौं, नीजगढ, लुम्बिनी अन्र्तर्राष्ट्रिय विमानस्थल बन्छ, बन्छ, के के गर्ने भनेर हामीले हाम्रो संयुक्त घोषणापत्रमा पनि भनिसकेका छौं, एक वर्ष, दुई वर्ष,  पाँच वर्ष, १० वर्षको योजना सारेका छौं। दिगो विकासको लक्ष्य छ, दू्रत विकास तिव्र र दिगो विकासमा जान्छौं ।’ 

उनले विकासको मोडेल आफ्नो ढाँचामा अघि बढाउने समेत विश्वास व्यक्त गरे। उनले भने, ‘दुनियाँ अन्धाकारमा थियो, यहाँ हाम्रो देशमा आयुर्वेद पत्ता लाग्यो, हामी विद्धान पुर्खाहरुका सन्तति हौं, हाम्रो देशमा खानीमय छ । पहाड, खोलानाला, जीवनमय जमिन छ, उर्वर छ। युवा जनशक्ति छ, अहिले ४० लाख युवा बाहिर छन् । यहाँ रोजगारी सिर्जना गर्ने हो भने हामी छिट्टै देश विकास गर्न सक्छौं । समान अवसर भएको समाज, विविधतामा एकता भएको समाज, एकले अर्कोलाई सम्मान गर्ने समाज, अधिकारसम्पन्न जनता, सुरक्षित र सम्मानित जनता, जलविद्यूत, यातायात, सञ्चार, पर्यटन, कृषि यहाँ धेरै संभावना छन्, हो अब प्राकृति स्रोत र साधनको आधारमा विकास हुन्छ।’

कार्यकारी प्रत्यक्ष राष्ट्रपति वा प्रधानमन्त्री तपाईहरुको एजेण्डा हो अरे नि ? भन्ने अर्को प्रश्नमा उनले जनताले कसैको हाटहुट र लाटलुटबाट होइन जनताले हाम्रो अभिमत राखे भने असंभव केही पनि नहुने स्पष्ट पारे । उनले अघि थपे,‘मजाक के मा लाग्छ भने, अब कांग्रेस रित्तो भएछ, उसँग नीति छैन, विचार छैन। उसले नचाहिने कुरा फिटेर चुनावलाई एउटा बेग्लै ढंगले प्रदुषित बनाउन खोजेको छ ।’

उनले कम्युनिष्टको सरकार आयो भने श्रीमान्श्रीमतीलाई सँगै बस्न दिँदैन भनेर धेरै अघि हल्ला फिँजाएको भएपनि कांग्रेसको बिगबिगी भएको बेला ४० लाख युवाहरु विदेशीएको आरोप लगाए । उनले थपे,‘लौ हेर्नुहोस् त कांग्रेसीहरुले कहाँ युवायुवतीलाई सँगै बस्न दियो?’
ओलीले जनताको लागि संविधान संशोधनको लागि आफूहरु जहिल्यैपनि तयार रहेको बताउँदै भने, ‘जनताले यति आवश्यक ठाने र देशको हितमा छ भने हामी संशोधन गर्न प्रक्रिया अघि बढाउँछौं । यो भनेको संशोधननीय दस्तावेज हो । तर संशोधन नेपालको अहितमा र अरु कसैको हितमा हुन सक्दैन, र गर्न पनि दिँदैनौं ।’
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »