...किनकि उनी ‘प्रचण्ड’ हुन्, प्रचण्डः ‘द किंगमेकर’ [ब्लग]

२८ कार्तिक २०७४

banner

♦ दामोदर नेपाल

काठमाडौँ । एउटा चर्चित नेपाली उखान छ ‘१२ वर्षमा खोलो फर्कन्छ ।’ समयले १२ वर्षको अवधिमा परिस्थिति पूरै उल्ट्याउन सक्छ भन्ने कुरालाई प्रस्ट्याउन प्रयोग गरिने यो उखान अहिले माओवादी अध्यक्ष प्रचण्डमा लागू भयो भने के होला ? झण्डै १२ वर्षदेखि नेपाली राजनीतिको केन्द्रविन्दूमा रहेका प्रचण्डको राजनैतिक करिअर अहिलेको चुनावले चौपट पार्न सक्ने संकेतहरु देखिएका छन् ।

तर्कको लागि जेसुकै भने पनि ‘हरुवा’लाई राजनीतिबाट पूरै ‘किकआउट’ गर्ने अहिलेको कानुनी व्यवस्थाका सूत्रधार स्वयं प्रचण्ड नै हुन् । 

यतिबेला प्रश्न उठ्छ नेपाली राजनीतिबाट कसरी हराउँछन् प्रचण्ड ? पछिल्लो समय विकसित राजनैतिक घटनाक्रमले देखाउँछन् प्रचण्ड नेपाली राजनीतिमा रहिरहन्छन् भन्ने कुनै ग्यारेण्टी छैन । यसअघिका दुई संविधानसभाका चुनावले देखाइसकेका छन् –केही समय राजनीतिको केन्द्रमा रहँदैमा सधैंभरी जनताले पत्याउँछन् भन्ने छैन । २०६४ को निर्वाचनमा पुराना ठूला दल एमाले र कांग्रेसका शीर्ष नेताहरुलाई हराइदिएका जनताले २०७० को निर्वाचनमा भर्खरै उदाएका माओवादी र मधेशवादी दलका शीर्ष नेताकै बेहाल गराइदिएका थिए । स्वयं प्रचण्डसमेत एक ठाउँबाट चुनाव हारे अर्को ठाउँबाट बल्लतल्ल जिते । केही राजनैतिक विश्लेषकले त प्रचण्डले स्वयं जितेको नभइ उनलाई ‘जिताइएको’ समेत दावी गर्छन् ।

यदि अहिलेको चुनावमा प्रचण्ड हारे भने उनी नेपाली राजनीतिको केन्द्रमा रहन सक्ने छैनन् । उनको १२ वर्षे हालीमुहाली एकैपटक समाप्त भएर जानेछ । यहाँनिर तर्क उठ्न सक्छ एमाले कांग्रेसका शीर्ष नेताले चुनाव हारेर पनि राजनीतिमा हालिमुहाली गरेकै थिए भने प्रचण्ड कसरी अस्ताउँछन् ? यसको कारण स्वयं प्रचण्ड नै हुन् । हो, २०६४ मा ठूलो दल भएको ‘दम्भ’का कारण प्रचण्डले जसरी भाषणैपिच्छे कांग्रेस र एमालेलाई ‘हरुवा’ भनेर उडाउँथे यसैका कारण उनी आफैं संकटमा छन् । तर्कको लागि जेसुकै भने पनि ‘हरुवा’लाई राजनीतिबाट पूरै ‘किकआउट’ गर्ने अहिलेको कानुनी व्यवस्थाका सूत्रधार स्वयं प्रचण्ड नै हुन् । 

आफ्नै ‘हरुवा’ रटानको चपेटामा प्रचण्ड

२०६४ मा ठूलो पार्टी भएको माओवादी दम्भपछि उसले एमाले कांग्रेसलाई हरुवाको बिल्ला लगाइदिन थाल्यो । तर त्यतिबेलाको परिस्थितिका कारण ती हरुवा नेताहरुलाई संविधानसभामा प्रवेश दिन माओवादी स्वयं बाध्य भयो । सवाल संविधान निर्माणको थियो । संविधान निर्माण प्रक्रियामा ठूला पार्टीका शीर्ष नेता नै बाहिरिने भएपछि ती ‘ठूला’ नेताहरुलाई संविधानसभाको सदस्य मनोनित गरेर संविधान निर्माण प्रक्रियामा सहभागी गराइयो । संविधानसभा आफैंमा व्यवस्थापिका संसद समेत थियो । जसका कारण संविधान निर्माणका लागि भनेर भित्र्याइएका ती नेता व्यवस्थापिका संसदको सदस्य बने । परिस्थिति यस्तो सम्म आयो कि चुनाव हारेका नेताले चुनाव जितेकाहरुको नेतृत्व गर्दै प्रधानमन्त्री भएर सरकार चलाए ।

संविधानमै चुनाव हारेका व्यक्तिबाहेक अन्य व्यक्तिहरु मन्त्री बन्न पाउने बाटो खुल्ला गरिएको छ । चुनाव हारेका मात्र मन्त्री बन्न पाउँदैनन् ।

माओवादीको ‘हरुवा रटान’को बीचमा चुनाव हारेकाले सरकारको नेतृत्व गरेपछि यसको तीब्र विरोध भयो । जनस्तरबाटै अत्याधिक विरोध भएपछि दवाव थेग्न नसकी नयाँ संविधानमा चुनाव हारेकाहरु मन्त्री बन्न नपाउने व्यवस्था गरियो । अहिलेको संविधानअनुसार संघीय संसदका सदस्य नभएका अन्य व्यक्तिलाई मन्त्री बन्ने बाटो खुल्ला छ तर अहिलेको चुनावमा हारेका नेताहरु भने मन्त्री बन्न पाउने छैनन् । अर्थात संविधानमै चुनाव हारेका व्यक्तिबाहेक अन्य व्यक्तिहरु मन्त्री बन्न पाउने बाटो खुल्ला गरिएको छ । चुनाव हारेका मात्र मन्त्री बन्न पाउँदैनन् । यो व्यवस्थाले अहिले आएर ठूला नेताहरुलाई नै संकटमा पारेको छ । 

कानुनी व्यवस्थाअनुसार अहिले नेताहरुलाई राजनीतिको मूलधारमा आफ्नो पहुँच कायम राख्न चुनाव जित्नैपर्ने दवाव छ । चुनाव नजिती प्रतिनिधिसभा छिर्न पाइन्न । हुन त समानुपातिकको बाटो छिरे हुने हो । तर, ठूलो पार्टीको नेतृत्व गर्ने व्यक्तिलाई यसरी चोरबाटो छिर्दा ‘लोकलाज’को डर मान्नुपर्ने अवस्था छ । लोकलाज बचाउनकै लागि प्रत्यक्ष चुनाव लड्नुपर्ने अवस्था छ । प्रत्यक्षमा यसअघि एक ठाउँबाट हारे पनि अर्को ठाउँबाट जित्ने आशमा ठूला नेता दुई ठाउँबाट चुनाव लड्थे । तर, कानुनले त्यो बाटो पनि बन्द गरिदिएको छ । कानुनले सबैतिर चोरबाटो बन्द गरिदिँदा अहिले शीर्ष नेतालाई आफू उठेको एकमात्र ठाउँबाट प्रत्यक्ष चुनाव जित्नै पर्ने दबाब छ । यही दबाबमा छन् माओवादी अध्यक्ष प्रचण्ड । यदि अहिलेको चुनाव नजित्ने हो भने उनी राजनीतिको मूलधारबाटै किकआउट हुने खतरामा छन् ।

एमालेको बुइ चढ्न बाम एकीकरणको पासा

चुनाब हारेपछि के हुन्छ भन्ने तथ्य प्रचण्डले राम्रैसँग बुझेका छन् । उनले १२ वर्ष राजनीतिको केन्द्रमा रहेर बिताएका छन् र उनलाई थाहा छ चुनाव हारेमा आफ्नो हाल के हुन्छ । अहिले चुनाव लड्नका लागि उनले चितवनको क्षेत्र नं. ३ रोजे जहाँ उनको प्रतिस्पर्धामा राप्रपाका बिक्रम पाण्डे छन् । जसले जेसुकै भने पनि बिक्रम पाण्डेलाई हराउनु प्रचण्डको लागि चानचुने चुनौती होइन किनकि उनलाई कांग्रेसले समर्थन गरेको छ । पाण्डे अघिल्लो संविधानसभामा चितवनबाटै निर्वाचित सांसद हुन्, त्यो पनि कुनै ठूलो दलबाट होइन ‘सानो’ भनिएको दल राप्रपाबाट । राप्रपाले पूरै देशबाट मात्रै ३ स्थानमा जित्दा पाण्डेले चितवनमा हलो चुनाव चिन्हबाटै जितेका हुन् । सानो दलबाट पनि आफ्नो व्यक्तिगत ‘दम’मा चुनाव जित्ने क्षमता राख्ने पाण्डेलाई अहिले ठूलो दल कांग्रेसले समर्थन गर्दा उनी कतिसम्म शक्तिशाली बन्न सक्छन् भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

सानो दलबाट पनि आफ्नो व्यक्तिगत ‘दम’मा चुनाव जित्ने क्षमता राख्ने पाण्डेलाई अहिले ठूलो दल कांग्रेसले समर्थन गर्दा उनी कतिसम्म शक्तिशाली बन्न सक्छन् भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

प्रचण्डलाई यस्तो हुन सक्छ भन्ने पहिल्यै महसुस भइसकेको थियो । २०६४ को निर्वाचनमा पहिलो भएको पार्टीको २०७० मा भएको हाल र स्थानीय निर्वाचनमा भएको बेहालपछि उनले एमालेलाई बाम एकीकरणको ललिपप दिएका हुन् । चुनावअघि नै प्रचण्डलाई प्रस्ट थाहा थियो चुनावले माओवादीको हैसियत नाममात्रको पार्टीमा सीमित गरिदिन सक्छ । यसको संकेत स्थानीय निर्वाचनले देखाइसकेको थियो । राजनीतिको केन्द्रमा रहने प्रचण्डले यो कुरा बुझेपछि बाम एकीकरणको पासा फ्याँके र एमालेसँग तालमेल गरी तत्कालको लागि आफ्नो राजनैतिक करिअर सुरक्षित गरे । अब अहिलेको चुनावमा एमालेको बुइ चढेरै भए पनि उनले ५ वर्षका लागि आफ्नो करिअर जोगाउने अन्तिम कसरतमा छन् । 

अबको प्रचण्ड योजना 

प्रचण्ड दोस्रो भएर बस्न जान्दैनन्÷सक्दैनन् । उनी जहिले पनि ‘फस्र्ट म्यान’ भएर बस्न खोज्ने महत्वाकांक्षी व्यक्ति हुन् । तत्कालीन सहमतिअनुसार बाम एकीकरण भयो भने उनी सबैभन्दा ठूलो पार्टीको अध्यक्ष बन्ने योजनामा छन् । एकीकरण हुनासाथ सिनियरमध्येका केपी ओलीलाई प्रधानमन्त्री र माधव नेपाललाई राष्ट्रपति बनाउने र आफू पार्टी अध्यक्ष बन्ने उनको योजना छ । बाम गठबन्धनले बहुमत ल्याउने र आफ्नै सरकार बन्ने भएपछि ओलीलाई प्रधानमन्त्री र नेपाललाई राष्ट्रपति बनाउन गाह्रो पनि छैन ।

उनी प्रचण्ड हुन् । प्रचण्डः द किंगमेकर । जसले १२ वर्षसम्म नेपालको राजनीतिलाई आफ्नो वरिपरि घुमायो उसलाई अबको ‘प्लान’ बनाउन पनि गाह्रो छैन ।

तर प्रचण्डको योजना त्यतिबेला तुहिन सक्छ जब उनको योजनाअनुसार पार्टी एकीकरण हुँदैन । एमाले माओवादी मिल्ने भनिए पनि प्रचण्डकै कारण यो सम्भव नहुने सम्भावना पनि छ । प्रचण्ड ‘युज एण्ड थ्रो’मा माहिर छन् । उनले भनेजस्तो भएन भने एमालेसँगको एकीकरण तुहिन सक्छ किनकि तत्कालको लागि उनले आफ्नो ‘ब्याकअप’ शक्ति संचित गरिसकेका छन् । एमालेसँगको भागबण्डापछि निर्वाचनमा माओवादीले कमसेकम तेस्रो दलको हैसियत सुरक्षित गर्न सक्ने सम्भावना बलियो छ । यति भयो भने प्रचण्डको लागि अबको ५ वर्ष राजनीतिक गोटी चाल्ने धरातल तयार हुन्छ । 

प्रचण्डको पहिलो योजना देशकै सबैभन्दा ठूलो दलको अध्यक्ष बन्ने हो । यसका लागि उनीसँग प्रतिस्पर्धामा आउनेहरुलाई थन्क्याउने ‘ब्याकअप प्लान’ उनीसँग छ । यदि यो योजना तुहियो भने पनि आफ्नै पार्टीले एक्लै बनाउन सक्ने हैसियतभन्दा बलियो हुने धरातल उनले तयार गरिसकेका छन् । यो धरातलमा टेकेर माओवादीले तेस्रो दलको हैसियत सुरक्षित गर्न सके उनलाई ५ वर्षलाई पुग्छ । त्यसपछिका दिनलाई अर्को प्लान बनाउन ५ वर्षको अवधि काफी छ । किनकि उनी प्रचण्ड हुन् । प्रचण्डः द किंगमेकर । जसले १२ वर्षसम्म नेपालको राजनीतिलाई आफ्नो वरिपरि घुमायो उसलाई अबको ‘प्लान’ बनाउन पनि गाह्रो छैन ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »