मेराे जित सुनिश्चित भइसक्याेः कार्की

२८ कार्तिक २०७४

banner

झापा। नेकपा माओवादी केन्द्रका नेता एवम् झापा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाको लागि बाम गठबन्धनका उम्मेद्वार राम कार्कीले आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन्।

मंगलबार रिपोर्टर्स क्लबले झापाको चन्द्रगढीमा आयोजना गरेको चुनावी विशेष साक्षात्कारमा बोल्दै नेता कार्कीले गठबन्धनको उम्मेद्वार बन्नु नै आफ्नो जितको पहिलो आधार भएको जिकिर गरे।

उनले भने, ‘स्थानीय तहको मतपरिणाम हेर्नुहुन्छ भनेपनि अहिले हाम्रो गठबन्धनको १७ हजार मत बढी छ, त्यसैले वाम गठबन्धनको आधार नै मेरो विजय सुनिश्चित हो, चुनावमा भोट गनेर जितिने हो, म त भन्छु स्थानीय तहको परिणाम पनि बढोत्तरी हुन्छ, कम हुँदैन्।’

कार्कीले आफूलाई टुरिष्ट उम्मेद्वार भनेकोमा कुनै आपत्ति नभएको जनाउँदै भने, ‘कोही पनि मान्छेको जन्म जमिनले गराउँदैन, मान्छे आमाको गर्भबाट जन्मिन्छ। म कम्युनिष्ट आन्दोलनको यात्री हुँ। त्यसो भएको हुनाले पनि मलाई यात्री भनेका होलान् । ठिकै छ।’

कांग्रेसका उम्मेद्वार विश्वप्रकाशले त यो क्षेत्रको विकासको लागि आफूलेजति काम अरु कसैले नगरेको र जनताको घरघरमा पुगेको दाबी गर्नुभएको छ नि भनेर सोधिएको अर्को प्रश्नमा उनले भने, ‘घर घर त फेरी लाउने जोगी पुग्छन्, जग्गा दलालीहरुपनि घरघरमा पुग्छन्, तर म भन्छु यो क्षेत्र बामपन्थीहरुको गढ हो, झापा आन्दोलनको सृष्टि यही क्षेत्रबाट भएको हो, संस्कृतिहरुको भण्डार हो, धरोहर हो। एक नम्बर क्षेत्रका शहरहरु यहाँका पौरखी मान्छेहरुले बनाएका हुन्। यो ठाउँमा म जस्तो उम्मेद्वार सबैको निम्ति स्वागतयोग्य हो।’

उनले आफूलाई विजयी गराउनको लागि धेरै राम्रो माहोल बनेको बताउँदै भने, ‘यहाँ अहिले निर्मल र कन्चन व्यक्तिहरुको टिम बनेको छ, यो टिम मलाई चुनाव जिताउनको लागि बनेको हो, म निकै खुशी छु।’

उनले आफू विजयी भए यो क्षेत्रका सडकहरुलाई अफ्रिकनजस्तो ब्युटि प्रदान गर्ने समेत विश्वास दिलाए। उनले भने,‘हामी विजयी भएपछि बृद्धहरुलाई ५ हजार भक्ता पुर्याउँछौं, किसानहरुलाई पेन्सन दिँदैछौं । झापाका सडकहरुलाई अफ्रिकनजस्तो ब्युटीजस्तो म पाँच वर्षभित्र गरिदिन्छु । रेमिट्यान्सको दुरुपयोग भैरहेको छ, अब सदुपयोग हुन्छ ।’

कार्कीले आफू अन्र्तराष्ट्रिय सम्बन्ध बुझेको मान्छे भएको बताउँदै थपे,‘ओबिआरमा चाईनाले मलाई नै बोलाएको थियो, भारतपनि मैले राम्रो बुझेको छु, हामी धेरै गर्न सक्छौं।’

उनले वर्तमान सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माण्को लागि चीनीयाँ कम्पनी गेजुवासँगको सम्झौता खारेज गरिदिएकोबारे टिप्पणी गर्दै भने,‘सरकार त अहिले जंगलबाट फुत्किएको अर्ना भएको छ, अब हामी जंगलमा थुन्छौं ।’

Leave a reply

HTML Tags are not supported

Post My Comment »