गौचनको हत्यामा संलग्न ५ जना पक्राउ, मुख्य योजनाकार अझै फरार

२८ कार्तिक २०७४

banner

काठमाडौँ। निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। 

प्रहरीले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरेर गत असोज २३ गते गौचनलाई बानेश्वर, प्रयागमार्गमा गोली हान्ने नुवाकोट, पञ्चकन्या गाउँपालिका–५ का राजिव स्याङताङसहित पाँचजनालाई पक्राउ गरी सार्वजनिक गरेको हो। 

पक्राउ पर्नेमा पर्सा, कालिकामाई गाउँपालिकाका शिवजी महतो, भारत विहार बेतिया जिल्लाका मुकेशकुमार पाण्डे, पर्सा, ठोरी गाउँपालिकाका सन्तोष गुरुङ र काठमाडौँ नागार्जुन नगरपालिकाका प्रकाश बुढाथोकी छन्। 

महानगरीय प्रहरी कार्यालयका प्रमुख आयुक्त, अतिरिक्त प्रहरी महानिरीक्षक जयबहादुर चन्दले घटनाका मुख्य योजनाकार समिरमानसिंह बस्नेत, मनोज पुनसहित बोका भन्ने गंगा लिङ्देन ९लिम्बु०, श्यामबहादुर गुम्बे, लोप्साङ, कालेदाई भन्ने अम्बरबहादुर राना, रोशन बुढाथोकी र अजय थापागरी आठजना अझै फरार रहेको जानकारी दिए।

फरार रहेका मध्ये रोशन बुढाथोकी र अजय थापा नेपाली सेनाका भगौडा सिपाही रहेको अनुसन्धानबाट खुलेको छ। त्यस्तै पक्राउ परेका प्रकाश बुढाथोकी घटनाका योजनाकार समिरमानसिंह बस्नेतका आफन्त रहेको र उनैले नेपाल बाहिर रहेका बस्नेतको निर्देशनमा नेपालभित्र काम गरेको प्रहरीले जनाएको छ। 

घटनालगत्तै प्रहरीले नायब प्रहरी महानिरीक्षक गणेश केसीको नेतृत्वमा सात सदस्यीय अनुसन्धान टोली गठन गरेको थियो। सोही टोलीले विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरेको हो। 

सो समूहले गौचनसँग रकम माग गरेको र नपाएपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको नायब महानिरीक्षक केसीले जानकारी दिए। 

उनले भने, “सबै निर्माण व्यवसायीबाट एकमुष्ठ रकम जम्मा गरेर बुझाउन पटक÷पटक व्यवसायी गौचनलाई दबाब दिइएको रहेछ, गौचनले त्यो नमानेपछि हत्या गरेको देखिन्छ ।” 

पक्राउ परेका महतोले हत्यामा प्रयोग भएको मोटरसाइकल भारतको वेतियाबाट रु १८ हजारमा ल्याई सन्तोष गुरुङलाई २४ हजारमा बेचेको र हत्याको समयमा बा.३५प.२४६१ नम्बर राखी प्रयोग गरेको, शिबजी महतोले भारतकै वेतियाबाट रु ५५ हजारमा हतियार खरिद गरी ६५ हजारमा गुरुङलाई बेचेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ। 

घटनामा दुई वटा गोली प्रहार भएको र दुवै गोली फरक÷फरक हतियारबाट प्रहार भएको प्रहरीले जनाएको छ। 

गोली प्रहारलगत्तै गौचनलाई तत्काल सिभिल अस्पताल पु–याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए। 

प्रहरीले सबै अभियुक्त पक्राउ परिनसकेको र अनुसन्धान जारी रहेकाले घटनसँग सम्बन्धित सबै विषय अझै स्पष्ट नभइसकेको जनाएको छ। 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »