अनिल गुरुङद्वारा अन्तर्राष्ट्रिय फुटबल खेल जीवनबाट सन्न्यास

२८ कार्तिक २०७४

banner

काठमाडौँ। फिलिपिन्सविरुद्धको खेलसँगै ५०औँ अन्तर्राष्ट्रिय खेल पूरा गरेका ३१ वर्षीय नेपाली टोलीका स्ट्राइकर अनिल गुरुङले मंगलबार अन्तर्राष्ट्रिय फुटबल खेल जीवनबाट सन्न्यास लिएका छन्।

खेलको ८२ औँ मिनेटमा सुजल श्रेष्ठको ठाउँमा मैदान प्रवेश गरेका  उनलाई एन्फाले मंगलबार एक समारोहवीच बिदाइ गरेको छ। दशवर्षे आफ्नो खेल जीवनमा अनिलले आजको खेलसँगै ५० औँ अन्तर्राष्ट्रिय खेल पूरा गरे।

आफ्नो खेल यात्राभर उनले अहिलेसम्म १० अन्तर्राष्ट्रिय गोल गरेका छन्। सन् २००७ मा ओमनविरुद्वको अन्तर्राष्ट्रिय खेलबाट डेब्यु गरेका अनिलले सन् २००८ मा नेपालमा नै भएको पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा पहिलो गोल गरेका थिए।

त्यस्तै सन् २०१३ को साफ च्याम्पियनसिपमा उनले भारतविरुद्धको खेलमा १०औं अन्तर्राष्ट्रिय गोल गरेका थिए।

यसैबीच एएफसी एसियन कप छनोट चरणको आफ्नो पाँचौं खेलमा नेपालले फिलिपिन्सलाई गोलरहित बराबरीमा रोकेको छ।

सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल संघ) कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा नेपालले सबैभन्दा बलियो मानिएको टोली फिलिपिन्सलाई गोलरहित बराबरीमा रोकेको हो।

यसअघि, गत चैतमा भएको छनोट चरणको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग उसकै मैदानमा ४–१ गोलले पराजित भएको थियो । खेल बराबरी भएपनि नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ ।

यसअघि, चार खेल खेलेको नेपाल तीन खेलमा हार तथा एक खेलमा बराबरीको नतिजा ल्याएको थियो । समूह एफमा रहेको फिलिपिन्सको आजको खेलपछि नौ अंकका साथ शीर्ष स्थानमा रहन पुग्यो भने चार खेल खेलेको यमन ६ अंकसहित दोस्रो स्थानमा छ। रासस

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »